शक्तिविहीन भए शक्ति !
सारांश
- जाजरकोटमा नेपाली कांग्रेसका खड्कबहादुर बुढाले नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतलाई पराजित गरे।
- बुढाले २० हजार १४२ मत ल्याउँदा बस्नेतले १७ हजार ४०७ मत प्राप्त गरे, जसले बस्नेतको लगातारको जितलाई रोकेको छ।
- बस्नेतको हारसँगै माओवादीको पकड रहेको जाजरकोटमा नेकपाको किल्ला भत्किएको छ, जहाँ १८ वर्षदेखि माओवादीको वर्चस्व थियो।
सुर्खेत । जाजरकोटमा शक्तिबहादुर बस्नेतको शक्तिमा ‘ब्रेक’ लागेको छ । लगातार तीन पटक चुनाव जितेका र पटक–पटक मन्त्री बनिसकेका बस्नेतका लागि चौथो पटकको चुनाव सहज हुन सकेन ।
शनिबार सम्पन्न अन्तिम मत परिणाम अनुसार नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार रहेका बस्नेतलाई नेपाली कांग्रेसका खड्कबहादुर बुढाले २ हजार ७३५ मतान्तरले पराजित गरेका हुन् ।
निर्वाचित बुढाले २० हजार १४२ मत ल्याउँदा बस्नेतले १७ हजार ४०७ मत ल्याए ।
यस्तै नेकपा एमालेका डम्बरबहादुर सिंहले १६ हजार ८८३ मत पाए । रास्वपाले राघव कार्कीले २ हजार ४७१ मत पाए ।
निर्वाचिन भएका कांग्रेसका बुढा ०७४ मा शिवालय गाउँपालिका अध्यक्ष पदको चुनावमा पराजित भएका थिए । यद्यपि उनी जिल्लामा युवाहरूबिच परिचित युवा नेता हुन् । विद्यार्थी राजनीतिबाट उदाएका उनी पार्टीको जिल्ला उपसभापति तथा कार्यवाहक सभापति छन् ।
बुढा पश्चिम क्षेत्रका बासिन्दा हुन् भने उनी बाहेक सबैजसो उम्मेदवार पूर्वी जाजरकोटबाट थिए ।
०५६ साल यता पश्चिम क्षेत्रबाट जाजरकोटले उम्मेदवार पाएको थिएन, जसका कारण उनले सहानुभूतिको मत पाए ।
अर्कोतर्फ जाजरकोटमा शक्ति बस्नेतमाथि आम जनसमुदायदेखि अन्य पार्टी र स्वयं तत्कालीन माओवादीभित्रै उनीमाथि प्रश्न उठ्दै आएको थियो ।
यो पटकको चुनावमा माओवादी (हाल नेकपा)भित्र बस्नेतलाई चुनाव नलड्न नेता–कार्यकर्ताहरूले भनेका थिए । उनले पनि सुरुमा नलड्ने भनेका थिए ।
तर अन्तिम समयमा प्रचण्डले बस्नेतलाई नै टिकट थमाएपछि जाजरकोट नेकपाभित्र विवाद मात्रै भएन, पूर्वमन्त्री समेत रहेका साविक माओवादीका जिल्ला इन्चार्ज गणेशप्रसाद सिंहले पार्टी नै परित्याग गरिदिए ।
सिंह यो पटक आफू चुनाव लड्न चाहेका थिए । अन्तिममा बस्नेत र प्रचण्डबाट धोका भएको भन्दै उनले पार्टी छाडे, जसको प्रत्यक्ष फाइदा कांग्रेसका बुढालाई भयो ।
बस्नेतको पराजयसँगै माओवादी आधार क्षेत्रमध्ये एक मानिएको जाजरकोटमा नेकपाको किल्ला भत्किएको छ । यहाँ १८ वर्षदेखि एकछत्र माओवादी वर्चस्व थियो ।
जाजरकोटमा २०७० सालको निर्वाचनसम्म प्रतिनिधि सभातर्फ दुई निर्वाचन क्षेत्र थिए । यहाँ २०४८—२०५६ को चुनावसम्म आउँदा एमाले—कांग्रेसबिच चुनावी प्रतिस्पर्धा हुने गर्थ्यो । माओवादी विद्रोहमा जाजरकोटले धेरै संघर्ष ग¥यो ।
युद्धको रापतापबाट आएको माओवादीले ६० को दशकपछि आफ्नो वर्चस्व स्थापित ग¥यो ।
०६४ सालमा क्षेत्र नम्बर १ बाट माओवादीका कालीबहादुर मल्ल र क्षेत्र नम्बर २ बाट भक्तबहादुर शाहले चुनाव जिते ।
०७० मा क्षेत्र नम्बर १ बाट माओवादीका शक्ति बस्नेतले चुनाव जिते । क्षेत्र नम्बर २ मा कांग्रेसबाट राजीवविक्रम शाह विजयी भए । ६० को दशकपछि कांग्रेसले जितेको यही चुनाव थियो भने एमालेले अहिलेसम्म चुनाव जित्न सकेको छैन ।
बस्नेत संसदीय चुनावमा भाग लिनुअघि नै केन्द्रमा स्वास्थ्यमन्त्री बनिसकेका थिए । सांसद नहुँदै मन्त्री बनेका उनी केपी ओलीको पहिलो प्रधानमन्त्रीकालमा गृहमन्त्री बनेका थिए ।
०७४ र २०७९ को दुवै निर्वाचन माओवादीका बस्नेतले नै जिते । बस्नेतले २०७९ मा ३४ हजार १५१ मत ल्याएर निर्वाचित हुँदा एमालेका निरज आचार्यले २५ हजार १२० मत पाएका थिए ।
०७४ मा एमालेको समर्थन र ०७९ मा कांग्रेसको समर्थन पाएका उनी दोस्रो पटक केपी ओली प्रधानमन्त्री हुँदा वन तथा वातावरणमन्त्री बने ।
०७९ मा प्रचण्ड नेतृत्वको सरकारमा ऊर्जा तथा जलस्रोतमन्त्री बनेका उनीमाथि जिल्लामा कुनै काम गर्न नसकेको आरोप लाग्दै आएको छ ।
जिल्लामा केही गर्न नसक्ने तर प्रचण्डको आशीर्वादले सधैँ सत्ताको वरिपरि रहिरहने नेता हुन् शक्ति बस्नेत । यस्तै उनकी श्रीमती सत्या पहाडी पनि शान्ति तथा पुनर्निर्माणमन्त्री बनिन् ।
तर जिल्लामा निरन्तर पार्टी कमजोर हुँदै गयो । शक्ति निरन्तर शक्तिमा रहे पनि जिल्लाको समृद्धि नभएको भन्दै पार्टीभित्र व्यापक आलोचना भयो । पार्टीभित्र मात्र होइन, बस्नेतमाथि सार्वजनिक रूपमा आम नागरिक र अन्य दलका नेता–कार्यकर्ताहरूले पनि सधैँ सत्ताकै वरिपरि हुँदासमेत बस्नेतले जाजरकोटको विकास र समृद्धिका क्षेत्रमा गुणात्मक काम गर्न नसकेको टिप्पणी गरिरहेका थिए ।
बस्नेत लामो समय ऊर्जामन्त्री रहे पनि जाजरकोटमा अहिलेसम्म २६ प्रतिशतमात्रै विद्युतीकरण हुन सकेको छ । यस्तै, २०८० कात्तिकमा जाजरकोट भूकम्पले प्रभावित भएको जिल्लालाई पुनर्निर्माणमा पहल नगरेको गुनासो पनि उनीमाथि छ ।
‘यदि उनले जाजरकोटको समृद्धिका लागि राम्रो काम गरिदिएको भए जनमत बढ्थ्यो नि,’ माओवादीकै एक नेता भन्छन्, ‘हरेक निर्वाचनमा हाम्रो जनमत घट्दै गएको तथ्याङ्कले देखाउँछ ।’
२०७९ को प्रतिनिधि सभा चुनावमा प्रत्यक्षतर्फ बस्नेतले जिते पनि समानुपातिक मत हेर्दा माओवादीको पोजिसन तेस्रो बन्यो । सबैभन्दा धेरै समानुपातिक मत २२ हजार ९३४ कांग्रेसले पाएको छ भने एमालेले १९ हजार ७४९ पाउँदा माओवादीले १४ हजार ४१२ मत पाएको छ । नभन्दै यो पटकको चुनावमा शक्ति शक्तिहिन बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण