बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
इजरायली कथ्यविरुद्ध उभिएका एक्ला सांसद

‘इरानबाट इजरायलमाथि खतरा छ भन्नु झुट हो’

आइतबार, २४ फागुन २०८२, १८ : ००
आइतबार, २४ फागुन २०८२

सारांश

  • इजरायल र अमेरिकाले इरानविरुद्ध सैन्य अभियान चलाउँदै गर्दा, इजरायलमा राजनीतिक सहमति देखिएको छ।
  • ओफेर कासिफ, एक मात्र सांसद, इरानमाथिको हमला सुरक्षाभन्दा राजनीतिक फाइदाका लागि भएको बताउँछन्।
  • लेखकका अनुसार, युद्धको समय र कारण नेतन्याहु र ट्रम्पको व्यक्तिगत स्वार्थबाट प्रेरित छन्।

इजरायल र अमेरिकाले इरानविरुद्ध व्यापक सैन्य अभियान चलाउँदै गर्दा त्यसबारे जेरुसेलममा एक ढिक्का राजनीतिक सहमति भएझैँ देखिन्छ । इजरायलभरि सबै राजनीतिक धाराबाट युद्धको पक्षमा व्यापक समर्थन रहेको पाइन्छ । कुनै समय प्रधानमन्त्री बेन्यामिन नेतान्याहुका कठोर आलोचक मानिने विपक्षी दलका नेता याएर लापिडले पनि इरानमाथिको अमेरिकी आक्रमणको रक्षा गर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा अन्तर्वार्ता दिइरहेकै छन् । 

नेतान्याहुका अर्का राजनीतिक प्रतिद्वन्द्वी तथा पूर्वप्रधानमन्त्री नफ्ताली बेन्नेटले पनि जारी युद्धलाई ‘दमनको संयन्त्र’ कमजोर बनाउने प्रयासकै रूपमा व्याख्या गरिरहेका छन् । यो आक्रमणलगत्तै इरानी जनताहरूले आफ्नो भविष्य आफैँ रोज्न सक्ने उनको धारणा छ । इजरायलको संसद् अर्थात् ‘नेसेट’ १२० सदस्यको छ । त्यहाँ अत्यधिक सदस्यहरू इरान आक्रमणकै पक्षमा छन् । तर एक जना सदस्य भने यस्ता पनि छन्, जो सरकारी भाष्यलाई निरन्तर चुनौती दिइरहेका छन्– उनको नाम हो, ओफेर कासिफ । उनका अनुसार इरानमाथि भएका हमलाहरू सुरक्षा दृष्टिकोणबाट भन्दा धेरै राजनीतिक फाइदाबाट प्रेरित हुने गरेका छन् ।
उनी अरब हादिस पार्टीका एक्ला यहुदी सदस्य हुन् । उनी खुलेर युद्धको विरोध गर्छन् । इजरायलमा युद्धको विरोध गर्ने उनी एक मात्र सांसद हुन् । रुसी समाचार संस्था आरटीले उनै कासिफसँग गरेको कुराकानी हामीले नेपाली पाठकहरूका लागि उपयुक्त हुने ठानेर अनुवाद गरेका छौँ ।

प्रस्तुत छ सम्पादित अंश । 

इजरायल र अमेरिकाले जारी युद्धलाई इरानको आणविक हतियार निर्माण रोक्न तथा ब्यालिस्टिक क्षेप्यास्त्रको जोखिम रोक्नका लागि आवश्यक कदम भनेका छन् । यस्ता दाबीहरूमा कत्तिको सत्यता छ ? 

यसका लागि हामीले गत वर्षको जुन महिनामा इजरायलले इरानमा गरेको पहिलो आक्रमणपछि प्रधानमन्त्री नेतान्याहुले गरेको घोषणा सम्झनुपर्छ । उनले भनेका थिए, ‘हामीले विजय हासिल गरेका छौँ । हामीले आणविक क्षेप्यास्त्रको जोखिम रोकेका छौँ । हामीले इरानको आणविक परियोजना तथा क्षेप्यास्त्र उद्योग ध्वस्त पारेका छौँ ।’ 

त्यसो भए उनले त्यसबेला पनि ढाँटेका रहेछन् । अहिले पनि उनी आणविक हतियार तथा क्षेप्यास्त्रको जोखिम भन्दै ढाँटिरहेका छन् । इरानमा भएको आक्रमणको खास कारण अन्य नै छ । त्यहाँ अमेरिका र इजरायल सरकारको आर्थिक तथा राजनीतिक स्वार्थ छ । चुरो कारण नै त्यही हो । इरानबाट हुने भनिएको वास्तविक जोखिमसँग त्यसको कुनै सम्बन्ध छैन । 

त्यसको अर्थ म इरानको शासनप्रति कुनै सहानुभूति राख्छु भन्ने होइन । म इरानको शासनशैलीविरुद्ध छु । त्यहाँका जनताको संघर्षमा मेरो पनि समर्थन छ । तर म इरानमा भएको हमलाको पनि उत्तिकै विरुद्ध छु । यस्तो हमलाले इरानका जनताको कुनै भलो गर्दैन । यस्तो हमलाको खास जोखिमसँग कुनै सरोकार पनि छैन । यसमा विशुद्ध आर्थिक र राजनीतिक स्वार्थ छ । नेतान्याहुको व्यक्तिगत स्वार्थ छ । उनी इजरायलमा ‘अर्ली’ इलेक्सन घोषणा गर्न चाहन्छन् । साथै चुनावमा आफूलाई इरान तथा समग्र क्षेत्रको जोखिमबाट इजरायललाई बचाउने उद्धारकर्ताको रूपमा आफूलाई प्रस्तुत गर्न चाहन्छन् । त्यही बहानामा चुनाव जित्न चाहन्छन् ।

इजरायलका राजनीतिज्ञले बारम्बार दोहोर्‍याइरहने अर्को पनि दाबी छ– उनीहरू भन्छन् कि इजरायलले इस्लामिक उग्रवाद विरुद्धको लडाइँको अगुवाइ गर्छ, यो पूरा संसारको हितका लागि लडिएको युद्ध हो । यसमा तपाईंको बुझाइ के छ ?

नेतान्याहुलाई इस्लाम वा इस्लामिक उग्रवादसँग कुनै सरोकार छैन । उनलाई इरानी शासन कस्तो छ भन्नेमा पनि सरोकार छैन । इरानी जनताहरू, अझ भनौँ इजरायली जनताको हितमा कुनै काम गर्नुपर्छ भन्ने पनि उनलाई कुनै मतलब छैन । उनलाई आफ्नो व्यक्तिगत स्वार्थ साध्नु छ । आफू जेल जान नपरोस् भन्ने स्वार्थ उनीभित्र लुकेको छ । उनलाई थाहा छ राजनीतिक शक्ति गुमेलगत्तै उनी न्यायालयमा विचाराधीन मुद्दाकै कारण जेलको चिसो छिँडीमा पुग्नुपर्नेछ । 

यो सबै होहल्लाको खास कारण पनि त्यही हो । नेतान्याहु संसारलाई इस्लामिक उग्रवादबाट जोगाइरहेका छैनन् । मलाई त खासमा आजको संसारले झेलिरहेको मुख्य समस्या इस्लामिक उग्रवाद हो भन्ने पनि लाग्दैन । पक्कै पनि इस्लामको एउटा हिस्सामा उग्रता छ । तर यस्तो समस्या इस्लाममा मात्रै छैन । सबै धर्ममा रहेको उग्रता उत्तिकै समस्याग्रस्त हो । अमेरिकामा रहेका कट्टर एवं उग्र इसाई तथा इजरायलका कठोर ‘जायोनिस्ट’ यहूदीहरू पनि कम खराब पक्कै छैनन् । 

Ofer-Cassif-2

आज संसारले झेलिरहेको मुख्य खतरा भनेको पुँजीवाद हो । अहिलेका आक्रमणहरू तथा जलवायु संकटका लागि त्यही पुँजीवाद जिम्मेवार छ । सम्भवतः हामीले सामना गर्नुपरेको दीर्घकालीन जोखिममा यिनीहरू नै प्रमुख हुन् । दुर्भाग्य नै भन्नुपर्छ, नेतान्याहु, ट्रम्पलगायत केही नेताहरू त्यही समस्यालाई अझ सघन बनाउन लागेका छन् । त्यसैले मलाई लाग्छ, हाम्रो मुख्य समस्या इस्लामिक उग्रवादभन्दा पुँजीवाद हो ।

आक्रमणका लागि छनोट गरिएको समयबारे के भन्नुहुन्छ ?

आक्रमणको समय ट्रम्प र नेतान्याहुको स्वार्थ हेरेर तय भएको हो । खासगरी उनीहरूको नितान्त व्यक्तिगत स्वार्थ हेरिएको छ । अमेरिकामा ‘मिडटर्म’ चुनाव आउँदैछ । इजरायलमा पनि अक्टोबरमा हुने भनिएको चुनाव सारेर जुनमा पुर्‍याइएको छ । यी दुवै चुनावमा सत्तारूढ नेताहरू खराब प्रदर्शन गर्ने त्रासमा छन् । उनीहरू हालको आक्रमणलाई आफ्नो चुनावी नतिजा सुधार्ने उपायका रूपमा हेर्छन् । 

तपाईं युद्धविरुद्ध मुखर रूपमा प्रस्तुत हुने थोरै व्यक्तिमध्ये पर्नुहुन्छ । इजरायलमा तपाईंको अभिव्यक्तिलाई कसरी लिइन्छ ? 

युद्ध एवं कुनै प्रकारको द्वन्द्व वा संकटको घडीमा इजरायलको जनसंख्याको धेरै ठूलो हिस्सा राज्यको रवैयाप्रति सहमत हुने तथा सही थाप्ने गर्छ । यस्तो प्रवृत्ति इजरायल राज्यको स्थापनादेखि नै प्रणालीगत रूपमै स्थापित छ । इजरायलमा हामी मात्रै त्यस्तो एक्लो शक्ति हौँ जो सधैँ कुनै पनि प्रकारको आक्रमण र युद्धको विरुद्ध खरो विरोधमा उत्रिने गर्छौँ । जब हामी त्यसरी युद्धको विरोधमा हुन्छौँ त्यसबेला एक्लिएको अनुभव पक्कै हुन्छ । आफूलाई सीमान्तीकरण गरेको पनि अनुभव हुन्छ । 

आजको मितिसम्म हामीले के अनुभव गरेका छौँ भने जहिले पनि हामी युद्धका विरुद्धमा उभिँदा सुरुमा एक्लिएको वा सीमान्तीकरणमा पारिएकै हुन्छौँ । चाहे त्यो पहिलो लेबनान युद्ध होस् वा नरसंहारमा पुगेको गाजा आक्रमण नै किन नहोस् । तर विस्तारै धेरैभन्दा धेरै मानिस हाम्रा विचारमा सहमत हुन आइपुग्छन् । आम मानिस तथा केही राजनीतिज्ञ एवं राजनीतिक समूहहरू युद्ध वा आक्रमण निहित स्वार्थपूर्तिको बहाना मात्रै हुन् भन्ने बुझ्दै जान्छन् । 

सन् २०२३ को अक्टोबरमा भएको हत्याकाण्डको साढे दुई वर्षपछि अचेल आएर धेरै मानिस नेतान्याहु र उनको गठबन्धनप्रति विश्वास गर्न छाडेका छन् । त्यसरी आफ्नो बुझाइ फेर्नेहरू राजनीतिक रूपमा हामीसँग नजोडिएकाहरू पनि धेरै छन् । हामी आज पनि अल्पसंख्यक जस्तै छौँ । अझै सीमान्तीकरणमै पारिएका छौँ । तर पहिले जस्तो अप्ठ्यारो छैन । धेरै इजरायली जनताले हाम्रो युद्धविरोधी कुरा बुझ्न थालेका छन् ।

पछिल्लो समय गरिएको सर्वेक्षणले ८१ प्रतिशत इजरायली जनता युद्धको समर्थनमा रहेको देखाएको छ । तपाईंहरू अझै पनि अल्पमतमा हुनुहुन्छ । यस्तो अवस्थामा तपाईंहरूले बहसलाई प्रभावित पार्न तथा युद्धलाई रोक्नु व्यावहारिक होला र ?

हो, अहिले हामी अल्पमतमै छौँ । तर भोलिका दिनमा युद्ध रोकिएन भने, इजरायलभित्र र बाहिर युद्ध एवं विनाश चलिरह्यो भने हामी अल्पमतबाट बहुमतमा पुग्ने अवस्था आउँछ । मैले अघि पनि भनेँ, इजरायलमा युद्धविरोधी कित्ता धेरै ठूलो छ । तर आजको दिनमा त्यो आफूमा काफी छैन । अल्पमतमा छौँ । तर सधैँ यस्तो रहने छैन । 

हाम्रो अभियान व्यावहारिक रूपमै अर्थपूर्ण छ । किनभने त्यसका केही वस्तुगत आधारहरू छन् । जब आक्रमण बढ्दै जान्छ मान्छेहरूको हताहती अझै बढ्छ । त्यस्तो अवस्थामा धेरै मानिसहरू युद्धको विपक्षमा उभिन थाल्छन् । अहिले नै हामी युद्ध रोक्न सक्षम पक्कै पनि छैनौँ । तर सधैँ यस्तो हुँदैन भन्नेमा हामी ढुक्क छौँ । 

ठ्याक्कै भन्ने हो भने आजकै मितिमा युद्ध रोक्ने सामर्थ्य अमेरिकी जनतासँग छ । त्यहाँ गरिएका सर्वेक्षणहरूले युद्धको विरुद्धमा बहुमत जनता उभिएको देखाएको छ । यदि उनीहरू सडकमा आएर आफ्नो कुरा भन्न थाले भने युद्ध रोक्न सम्भव छ । झन् अमेरिकाभित्रको रिपब्लिकन पार्टी समर्थकमा त आक्रमण विरुद्ध स्पष्ट जनधारणा छ । अहिले ट्रम्प ‘मिडटर्म’ चुनावको संघारमा छन् । यदि त्यहाँका मतदाताले आफ्नो विचार अभिव्यक्त गर्ने हो भने युद्ध आफू नै रोकिन सक्छ । नेतान्याहुजस्तै ट्रम्पलाई पनि आफ्नै चिन्ता छ । त्यसैले चुनाव हारेर कमजोर हुने डरले पछि हट्न बाध्य बनाउन सकिन्छ । 

त्यसैले आजका दिनमा युद्ध रोक्ने चाबी अमेरिकी जनताकै हातमा छ । यदि उनीहरू सडकमा आएर ट्रम्प र उनको प्रशासनलाई आवश्यक दबाब दिने हो भने युद्ध रोकिन गाह्रो छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप