बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कलैया उपमहानगर

कलैया उपमहानगरको लापरबाहीः विद्युत् महसुल पनि बुझाउँदैन, दिनभर बालिरहन्छ सडकबत्ती

२ करोड रुपैयाँभन्दा बढी बक्यौता
बिहीबार, २८ फागुन २०८२, २० : ००
बिहीबार, २८ फागुन २०८२

सारांश

  • बाराको कलैया बजारमा दिनभर सडक बत्ती बलिरहँदा विद्युत चुहावट भएको छ।
  • न्यायाधीश र स्थानीय बासिन्दाले सरोकारवाला निकायको बेवास्ताप्रति गुनासो गरेका छन्।
  • उपमहानगरपालिकाले विद्युत प्राधिकरणलाई बक्यौता रकम तिरेको छैन र सेन्सर बत्ती जडान गरेको छैन।

कलैया । बाराको सदरमुकाम कलैया बजार अव्यवस्थित भिडभाड, चर्को कोलाहल, सवारी साधनको अविरल हर्न, जथाभावी पार्किङ र जताततै फोहरमैलाका कारण मात्रै चर्चामा रहँदैन, यहाँ दिनभर विद्युत् पोलहरूमा सडकबत्ती बलिरहन्छन् । 

रातमा बाल्नुपर्ने सडकबत्तीहरू २४सै घन्टा बलिरहेको देखिन्छ । ती बत्तीहरू बिग्रिएपछि मात्र आफैँ बन्द हुन्छन् । मालपोत, जिल्ला अदालत, नापी, जिल्ला समन्वयलगायत सेवाग्राहीको अत्यधिक चाप हुने सडक क्षेत्रमा दिनभर सडकबत्ती बलिरहँदा पनि सरोकारवाला निकाय बेखबर देखिन्छन् । 

बारा जिल्ला अदालतका न्यायाधीश प्रकाश अधिकारी राति बाल्नुपर्ने सडकबत्ती दिनभर बलिरहँदा सहर नै कुरुप देखिएको टिप्पणी गर्छन् । उनले ठुलो मात्रामा विद्युत् चुहावट भइरहेको र कलैया उपमहानगरले यसमा चासो नदेखाएको भन्दै सञ्चार माध्यममार्फत ध्यानाकर्षण गराइदिन अनुरोध गरे । ‘अदालतअगाडिका विद्युत् पोलमा दिउँसो सधैँ यसरी बत्ती बलिरहन्छ, निभाउने स्विच पनि छैन,’ न्यायाधीश अधिकारीले भने, ‘यसरी राति बाल्ने सडकबत्ती दिउँसो बलिरहँदा विद्युत् चुहावट मात्रै भएको छैन, सहर पनि कुरुप देखिएको छ ।’ उनले उपमहानगरलाई सेन्सर बत्ती जडान गर्न सुझाव दिएका छन् । 

पालिकाभित्रका २७ वडाका करिब आठ हजारभन्दा धेरै पोलमा वर्षदेखि यसरी नै दिनभर सडकबत्ती बलिरहेका छन् । बन्द गर्ने स्विच नै नराखी यी सडकबत्तीहरू वडा कार्यालयले सीधै जडान गरेका हुन् । उपमहानगरले वार्षिक करिब १२ लाख रुपैयाँ मूल्य बराबरको सडकबत्ती उपभोग गर्दै आएको छ । तर सो शुल्क विद्युत् प्राधिकरणलाई बुझाउने गरेको छैन । 

kalaiya-batti2

सडकबत्ती २४सै घन्टा बलिरहेको विषयमा वडा र उपमहानगरलाई जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ । कलैया उपमहानगर वडा नम्बर ४ का स्थानीयवासी सञ्जय साह कलवार सडकबत्ती जडान गर्ने क्रममा बत्ती बन्द गर्ने स्विच नराखिएको बताउँछन् । ‘हामीले स्विच राखिदिन कति पटक वडालाई भन्यौँ तर सुनुवाइ भएन,’ कलवारले भने, ‘अरु पालिकामा हामीले यस्तो कतै देखेका छैनौँ तर कलैया उपमहानगरभित्र चारैतिर यस्तै छ ।’ 

कलैया उपमहानगर वडा नम्बर ४ का वडाध्यक्ष रामेश्वरप्रसाद यादवले यसमा विद्युत् प्राधिकरणकै त्रुटि रहेको आरोप लगाए । ‘हामीकहाँ बत्ती निभाउने छुट्टै लाइनको व्यवस्था छैन । यसमा प्राधिकरणले पनि ध्यान दिनुपर्छ र कलैया उपमहानगरले पनि सहयोग गर्नुपर्छ,’ वडाध्यक्ष यादवले भने, ‘प्राधिकरणले कलैया उपमहानगरका अरू वडामा पनि यस्तै गरेको छ ।’ 

२४सै घन्टा सडकबत्ती बलिरहँदा सार्वजनिक सम्पत्तिको दुरुपयोगसँगै ठुलो मात्रामा विद्युत् चुहावट भइरहेको छ र सरकारको राजस्वमा समेत हिनामिना भएको छ । 

उपमहानगरको विद्युत् बक्यौता २ करोड

विद्युत् प्राधिकरण कलैया वितरण केन्द्रका अनुसार कलैया उपमहानगरले विद्युत् उपभोग गरेबापत करिब २ करोड रुपैयाँभन्दा बढी बक्यौता बुझाउन बाँकी छ ।  प्राधिकरण कलैया वितरण केन्द्रका सुपरभाइजर दीपेन्द्र साह सडकबत्तीको निरन्तर बिलिङ भइरहेकाले उपमहानगरलाई धेरै घाटा भइरहेको बताउँछन् । ‘सडकबत्ती २४सै घन्टा बलिरहेको छ र त्यसको बिलिङ पनि भइरहेको छ । यो हिसाबले कलैया उपमहानगरलाई ठुलो घाटा भइरहेको छ,’ प्राधिकरणका कर्मचारी साहले भने, ‘हामीलाई धेरै ठाउँबाट यो गुनासो आइसकेको छ । हामीले धेरै पटक पालिकामा जानकारी गराएका छौँ, उहाँहरू गराउँछौँ भनेर प्रतिबद्धता जनाउनुहुन्छ तर गर्नुहुन्न ।’ 

kalaiya-batti

प्राधिकरण कलैया वितरण केन्द्रले उपमहानगरका धेरै ठाउँमा सडकबत्तीहरू २४सै घन्टा बलिरहेको जनाएको छ । उपमहानगरलाई दिउँसो निभ्ने र राति मात्रै बल्ने सेन्सरबत्ती जडान गर्न भनिए पनि कुनै सुनुवाइ नभएको साहको भनाइ छ । 

उनले सडकबत्तीका लागि छुट्टै विद्युत् लाइन लिनुपर्नेमा पालिकाको लापरबाहीका कारण यस्तो अवस्था आएको बताए । ‘उहाँहरूले सडकबत्तीको महसुल बुझाउनुपर्छ तर आजसम्म बुझाउनुभएको छैन,’ प्राधिकरणका सुपरभाइजर साहले भने, ‘वार्षिक १२ देखि १५ लाख रुपैयाँ बराबरको सडकबत्ती खपत भइरहेको छ ।’ 

यता, कलैया उपमहानगरमा चार वर्ष प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत रहेर गत महिना मात्रै सरुवा भएका नाथु साहले सडकबत्ती प्रयोग गरेबापत उपमहानगरले प्राधिकरणलाई विद्युत् महसुल बुझाउन नपर्ने र त्यसैले हालसम्म नबुझाएको दाबी गरेका छन् । उनले प्राधिकरणले राखेका विद्युत् पोल स्थानीय तहको क्षेत्रभित्र पर्ने भएकाले पालिकाले महसुल बुझाउन नपर्ने तर्क अघि सारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप