ड्रोन आक्रमणको बदलामा अफगानिस्तानमा पाकिस्तानद्वारा हवाई हमला
सारांश
- पाकिस्तान र तालिबानबीचको सैन्य द्वन्द्व बढ्दै जाँदा, पाकिस्तानी सेनाले अफगानिस्तानको कान्दाहारमा हवाई हमला गरेको छ।
- तालिबानले पाकिस्तानमा ड्रोन आक्रमण गरेपछि, पाकिस्तानले प्रतिशोध स्वरूप हमला गरेको हो, जसमा मानवीय क्षति भएको छ।
- दुवै पक्षको भिडन्तका कारण हालसम्म ७५ जना सर्वसाधारणको मृत्यु भएको छ भने १ लाख १५ हजार मानिस विस्थापित भएका छन्।
इस्लामावाद । तालिवानले पाकिस्तानका विभिन्न सहरमा ड्रोन आक्रमण गरेपछि प्रतिशोधमा उत्रिएको पाकिस्तानी सेनाले अफगानिस्तानको कान्दाहारस्थित सैन्य अखडामा भीषण हवाई हमला गरेको छ। पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारीले तालिवानको ड्रोन हमलाले लक्ष्मण रेखा पार गरेको भन्दै कडा चेतावनी दिएलगत्तै शनिबार पाकिस्तानी लडाकु विमानहरूले कान्दाहारमा बमबारी गरेका हुन्।
पाकिस्तानको दाबी अनुसार कान्दाहारको उक्त सैन्य क्षेत्रबाटै पाकिस्तानमा ड्रोन आक्रमणहरू निर्देशित गरिएका थिए। यद्यपि, तालिवान अधिकारीहरूले भने पाकिस्तानले काम एयरको इन्धन डिपो र मानवीय सहायता सामग्री भण्डारण केन्द्रमा समेत क्षति पुर्याएको बताएका छन्।
यसअघि शुक्रबार राति तालिवानले पठाएका ड्रोनहरू पाकिस्तानी सेनाले बिचैमा खसालेको थियो। ती ड्रोनका अवशेषहरू खस्दा क्वेटा, कोहाट र रावलपिन्डीमा दुई बालबालिकासहित केही सर्वसाधारण घाइते भएका छन्। ड्रोन आक्रमणको त्रासका कारण राजधानी इस्लामावादको हवाई क्षेत्र समेत केही समयका लागि बन्द गरिएको थियो।
फेब्रुअरी २६ देखि सुरु भएको यो सैन्य भिडन्तमा परेर अहिलेसम्म ७५ जना सर्वसाधारणले ज्यान गुमाइसकेको र १९३ जना घाइते भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। मारिनेमा २४ जना बालबालिका रहेका छन्।
युद्धका कारण सीमा क्षेत्रका करिब १ लाख १५ हजार मानिस विस्थापित भएका छन्। अफगानिस्तानको रक्षा मन्त्रालयले १४ जना पाकिस्तानी सैनिक मारेको र बोर्डर पोस्ट कब्जा गरेको दाबी गरे पनि पाकिस्तानले त्यसलाई तालिवानको कल्पना भन्दै खारेज गरिदिएको छ।
पाकिस्तानले अफगानिस्तानमा रहेका टीटीपी र आईएसआईएस–के का लडाकुहरूले आफ्नो देशमा अशान्ति फैलाएको आरोप लगाउँदै आएको छ। उता तालिवानले भने पाकिस्तानी आक्रमणमा निर्दोष र गरिब जनता मारिएको भन्दै आक्रोश पोखेको छ।
अमेरिका–इजरायल र इरानबीचको युद्धले क्षेत्रीय तनाव बढिरहेका बेला पाकिस्तान र अफगानिस्तानबिचको यो भिडन्तले दक्षिण एसियालाई थप अस्थिर बनाउने जोखिम बढेको छ। चीनले दुवै देशलाई संयम अपनाउन र वार्ताबाट समस्या समाधान गर्न आग्रह गरे पनि सीमामा तनाव अझै कम भएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण