कुलमानले गरे चुनावको समीक्षा, भने– प्राप्त जनमत उज्यालो नेपालको मूल्यवान बीउ
सारांश
- उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचन २०८२ को समीक्षा गर्दै आगामी राजनीतिक कार्यदिशा तय गर्यो।
- समीक्षा बैठकमा निर्वाचनको अनुभव, संगठन विस्तार, मतदाताको मनोविज्ञान लगायतका विषयमा छलफल भयो।
- पार्टीले आगामी दिनमा संगठन सुदृढ गर्दै स्थानीय निर्वाचनको तयारी गर्ने निर्णय गरेको छ।
काठमाडौँ । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचन, २०८२ को समग्र समीक्षा तथा आगामी राजनीतिक कार्यदिशा निर्धारण गर्न दुई दिने विशेष समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।
पार्टी अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा बसेको समीक्षा बैठकमा केन्द्रीय समिति सदस्यहरू, प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरू, प्रदेश संयोजकहरू, जिल्ला संयोजकहरू तथा विभिन्न तहका जिम्मेवार नेता तथा कार्यकर्ताहरूको सहभागी रहेका थिए ।
पहिलो दिन उम्मेदवार, प्रदेश तथा जिल्ला संयोजकहरूबिच भएको गहन छलफलमा निर्वाचनका क्रममा प्राप्त अनुभव, जनसम्पर्कको स्वरूप, सङ्गठन विस्तारका सम्भावना, मतदाताको मनोविज्ञान, प्रचार प्रसारका चुनौतीहरू तथा छोटो समयमा पार्टीले निर्माण गरेको राष्ट्रिय उपस्थितिबारे विस्तृत समीक्षा गरिएको थियो ।
सहभागीहरूले अत्यन्त सीमित समय, न्यून स्रोत साधन तथा प्रारम्भिक सङ्गठनात्मक अवस्थाका बाबजुद पनि उज्यालो नेपाल पार्टीले देशव्यापी रूपमा सम्मानजनक मत प्राप्त गर्न सफल भएकोमा सन्तुष्टि व्यक्त गर्दै यसलाई भविष्यको मजबुत राजनीतिक आधारशिलाको रूपमा लिएका थिए ।
दोस्रो दिनको छलफलमा पहिलो दिनका समीक्षाहरू प्रस्तुत भएपछि आगामी दिनमा पार्टीलाई थप व्यवस्थित, वैचारिक रूपमा स्पष्ट, सङ्गठनात्मक रूपमा सुदृढ तथा जनतासँग प्रत्यक्ष जोडिएको राष्ट्रिय मूलधारको शक्तिको रूपमा विकास गर्ने साझा निष्कर्ष निकालिएको प्रवक्ता राजु थापाले बताएका छन् ।
बैठकले पार्टीको सङ्गठन निर्माण, सचिवालय, विभाग, आयोग, सल्लाहकार समिति, प्रवास समिति तथा प्रदेश, जिल्ला र स्थानीय तहसम्मका संरचनाहरूलाई व्यवस्थित, दिगो र कार्यमुखी बनाउनेमा विशेष जोड दिएको बताइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष कुलमान घिसिङले प्राप्त जनमतलाई हारको रूपमा नलिई भविष्यको उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्नुपर्ने बताएका छन् ।
उनले चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टीले देशभर उल्लेखनीय सदभाव, विश्वास तथा जनसमर्थन प्राप्त गरेको उल्लेख गर्दै अब यसै आधारमा सङ्गठन विस्तार, सदस्यता अभिवृद्धि, डिजिटल अभियान, स्थानीय जनसम्पर्क तथा आगामी प्रदेश तथा स्थानीय तह निर्वाचनको तयारीलाई तीव्रता दिने स्पष्ट पारेको जारी विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मिथ चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण