बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लण्डनमा बिस्का जात्राको तयारी तीव्र

सोमबार, ०२ चैत २०८२, ०६ : ०६
सोमबार, ०२ चैत २०८२

लन्डन। बेलायतमा नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आगामी अप्रिल १९ का दिन लन्डनमा तेस्रो 'बिस्का जात्रा' आयोजना हुने भएको छ। पासा पुचः गुथि यूकेले डार्टफोर्डस्थित ओपन एयर थिएटर सेन्ट्रल पार्कमा आयोजना गर्ने यो जात्राको तयारीबारे जानकारी दिन लन्डनमा पत्रकार सम्मेलन गरिएको थियो।

नेपाली दूतावास लन्डनको सहकार्य र विभिन्न स्थानीय संघसंस्थाहरूको सहयोगमा हुन लागेको यस जात्राले लन्डनलाई अन्तर्राष्ट्रिय जात्राहरूको केन्द्र बनाउने लक्ष्य राखेको छ।

जात्रामा भक्तपुरको प्रसिद्ध बिस्का जात्राकै झल्को दिने गरी भैरव र भद्रकालीको रथ जुधाउने, योसिन द्यो (लिङ्गो) ढाल्ने र मध्यपुर थिमीको सिन्दुर जात्रा प्रदर्शन गरिने सांस्कृतिक संयोजक सत्यप्रसाद प्रजापतिले बताए। जात्रामा ४ वटा शाखाका ९ वटा बाजा समूहले धिमे, ढा र बाँसुरीको धुन प्रस्तुत गर्नेछन्। सहभागीहरूले मौलिक नेवारी खाना, समय बजी र योमरीको स्वाद लिन पाउनेछन्। बालबालिकाका लागि फेस पेन्टिङ र अन्य मनोरञ्जनात्मक गतिविधिहरू पनि राखिएका छन्।

पासा पुचः गुथि यूके बीओटी अध्यक्ष सुशील प्रजापतिले जात्रामा नेपालबाट विभिन्न नगरपालिकाका मेयरहरू, सम्पदाविद् र संस्कृतिविद्हरूलाई आमन्त्रण गरिएको जानकारी दिए। नेपालका साथै युरोप र विश्वका अन्य देशबाट पनि अतिथिहरू आउने अपेक्षा गरिएको छ। लन्डनस्थित नेपाली दूतावास परिवार र करिब १२० वटा स्थानीय संघसंस्थाहरूलाई जात्राको निमन्त्रणा पठाइसकिएको छ। जात्रा सफल पार्न संस्थाले विगत ८ महिनादेखि तयारी गरिरहेको उनले बताए।

इभेन्ट को-अर्डिनेटर सुरोज मास्केका अनुसार जात्रा दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। जात्रा हेर्न २५ सयभन्दा बढी दर्शक आउने अनुमान गरिएको छ। प्रवेश शुल्क अनलाइनमा १० पाउण्ड र गेटमा १५ पाउण्ड तोकिएको छ। १२ वर्षमुनिका बालबालिकालाई भने निःशुल्क प्रवेशको व्यवस्था छ।

अन्जु सुवालका अनुसार कार्यक्रम स्थलमा ६ वटा खानाका स्टल र १६ वटा व्यापारिक तथा च्यारिटी स्टलहरू रहनेछन्। जहाँ मौलिक पोशाक, गरगहना, कोदोको रक्सी र विभिन्न सेवामूलक व्यवसाय प्रदर्शन गरिनेछ। पासा पुचः गुथि यूकेका पदाधिकारीहरूले बेलायतमै जन्मिएका दोस्रो पुस्ताका नेपाली बालबालिकाहरूलाई आफ्नो कला र संस्कृति चिनाउन यो जात्रा एउटा महत्त्वपूर्ण पाइला हुने विश्वास व्यक्त गरेका छन्। जात्रा सम्पन्न गर्न करिब २६ हजार पाउण्ड खर्च हुने आयोजकको अनुमान छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप