उपभोक्ताहरू भन्छन्, ‘आधा सिलिन्डर ग्याँस वितरण गर्दा पनि राहत महसुस गरेका छौँ’
सारांश
- नेपाल आयल निगमले आधा सिलिन्डर ग्यास वितरण सुरु गरेपछि उपभोक्ताहरूले राहत महसुस गरेका छन्।
- ग्यासको चरम अभावका कारण चुल्हो नबलेका उपभोक्ताका लागि यो व्यवस्थाले तत्कालको समस्या टार्न सहयोग गरेको छ।
- उपभोक्ताहरूले आधा सिलिन्डर ग्यासले केही दिनका लागि जोहो हुने भन्दै निगमको कार्यप्रति आभार प्रकट गरेका छन्।
काठमाडौँ । मुलुकमा पछिल्लो समय देखिएको इन्धन र ग्यासको चरम अभावका बिच नेपाल आयल निगमले आधा सिलिन्डर ग्यास वितरण सुरु गरेपछि उपभोक्ताले केही राहत महसुस गरेका छन्। मंगलबार काठमाडौँको टेकुस्थित निगमको केन्द्रीय कार्यालयमा ग्यास लिन पुगेका सर्वसाधारणले सङ्कटको घडीमा आधा सिलिन्डर भए पनि इन्धन पाउँदा खुसी व्यक्त गरेका छन्।
लामो समयदेखि ग्यास नपाएर चुल्हो नबलेका उपभोक्ताका लागि यो व्यवस्थाले तत्कालको समस्या टार्न सहयोग पुगेको छ। बजारमा ग्यासको हाहाकार भएपछि निगमले ९ सय ५५ रुपैयाँमा आधा सिलिन्डर ग्यास उपलब्ध गराउन थालेको हो।
डिपोहरूमा हप्तौँसम्म नाम लेखाउँदा पनि पालो नपाएर हैरानी खेपेका उपभोक्ताहरू टेकु पुगेर ग्यास लिइरहेका छन्। कलङ्कीबाट ग्यास लिन टेकु पुगेकी एक उपभोक्ताले १० दिनदेखि खसीबजारको डिपोमा कुर्दा पनि ग्यास नपाएको र घरमा खाना पकाउनै नसकिने अवस्था आएपछि यहाँ आएको सुनाइन्। आधा सिलिन्डरले भए पनि केही दिनका लागि जोहो हुने भन्दै उनले निगमको यो कार्यप्रति आभार प्रकट गरेकी छन्।
उपभोक्ताहरूले ग्यासको अभावमा कतिपय परिवार भोकभोकै बस्नुपर्ने स्थिति आएको गुनासो समेत गरेका छन्। टेकुमा भेटिएका अर्का उपभोक्ताले कतै पनि ग्यास नपाएपछि हारगुहार गरेर यहाँ दिइरहेको थाहा पाई आएको बताए।
‘गाह्रो भइरहेको बेला आधा भए पनि काम चलाउन पुग्छ, सबै मिलेर यो समस्याको समाधान गर्नुपर्छ,’ उनले भने। बजारमा कृत्रिम अभाव र अन्तर्राष्ट्रिय कारणले आपूर्ति असहज भएपछि सर्वसाधारण मारमा परेका हुन्।
यता, नेपाल आयल निगमले भने उपभोक्तालाई रित्तो हात फर्किन नपर्ने गरी वितरणको व्यवस्था मिलाएको दाबी गरेको छ। निगमका प्रतिनिधि विनोदकुमार वैद्यका अनुसार उपभोक्ताको माग र अभावलाई ध्यानमा राखेर वितरण कार्य भइरहेको छ।
बजारमा देखिएको ग्यासको चापलाई कम गर्न र सबैको पहुँचमा इन्धन पुर्याउन आधा सिलिन्डरको अवधारणा ल्याइएको निगमले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण