बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
विकास निर्माण

स्थानीयले धान फल्ने जग्गा निःशुल्क दिए, तर बजेट अभावले बन्न सकेन अस्पताल

बुधबार, ०४ चैत २०८२, ०६ : ४१
बुधबार, ०४ चैत २०८२

सारांश

  • बागलुङको निसीखोलामा निर्माणाधीन आधारभूत अस्पताल भवन बजेट अभावका कारण अलपत्र अवस्थामा छ।
  • निर्माण कम्पनीले भुक्तानी नपाएपछि काम रोकेको छ, जसले गर्दा स्थानीय निराश छन् र अस्पताल बन्ने प्रतीक्षामा छन्।
  • अस्पताल निर्माणका लागि संघीय सरकारले बजेट पठाएको छैन, जसका कारण काम अघि बढ्न सकेको छैन र स्थानीय सरकारले पनि लगानी गर्न सकेको छैन।

बागलुङ । निसीखोला किनारमा ठिङ्ग उभिएको भवन । लेउले ढाकिएका भित्ता । दुई तलाको पक्की भवनमा न रङरोगन गरिएको छ, न त संरक्षण नै । झाडीले ढाकिएको भुईँ तला । बस्तुभाउ यहीँ आएर ओतिन्छन् र फोहोर पनि गर्छन् । मध्यपहाडी लोकमार्गमा यात्रा गर्ने हरेक यात्रुको नजर यही भवनमा टक्क अडिन्छ । अनि यात्रुले सोच्न थाल्छन्, ‘यो के को भवन होला ? किन अलपत्र छ होला ?’ चार वर्ष अगाडिसम्म लहलह धान फल्ने खेतमा अहिले भवन ठडिएको छ ।

अलपत्र अवस्थामा रहेको भवन आधारभूत अस्पतालको हो । उक्त अस्पताल भवन पूरा नहुँदै बेवारिसे बनेको छ । बागलुङको निसीखोला गाउँपालिका–४ झिम्पामा निर्माणाधीन १० शय्याको आधारभूत अस्पताल बनाउन सुरु भएको चार वर्षभन्दा बढी भयो । निर्माणको सुरुवाती चरणमा तीव्र गतिमा काम भए पनि अहिले अलपत्र अवस्थामा छ । स्थानीयले धान फल्ने जग्गा निःशुल्क अस्पताल बनाउन दिए, तर अहिलेसम्म अस्पताल बनिनसक्दा उनीहरू निराश छन् । सम्झौता भएअनुसार दुई वर्ष अगाडि नै अस्पताल बनिसक्नुपर्थ्यो ।

सङ्घीय सरकारको सहयोगमा आधारभूत अस्पताल बन्न लागेको हो । १० करोड ९४ लाख रुपैयाँको लागत अनुमान गरिए पनि हिन्दुङ/एसी/आईएस जेबी कन्ट्रक्सनले आठ करोड २४ लाख रुपैयाँमा निर्माण गर्ने गरी जिम्मा लिएको थियो । अस्पताल भवन निर्माणका लागि ७ रोपनी २ आना जग्गा आवश्यक पर्ने मापदण्डमा उल्लेख भए पनि स्थानीयले आठ रोपनी निःशुल्क जग्गा प्रदान गरेका थिए ।

निर्माणका लागि २०७८ माघ २० गते सम्झौता भएर काम सुरु भएको थियो । जसअनुसार २०८० पुस मसान्तमै सम्पन्न हुनुपर्ने थियो । तर बजेट अभावका कारण अलपत्र परेको छ । निर्माण कम्पनीले भुक्तानी नपाएपछि दुई वर्ष अगाडि नै काम गर्न छोडेको हो । गरिएको कामको करिब ९० लाख रुपैयाँ भुक्तानी लिन बाँकी रहेको निर्माण कम्पनीका प्रमुख दीपक अदैले बताए । यद्यपि हालसम्म करिब ९० प्रतिशत काम सम्पन्न भएको उनको भनाइ छ ।

‘कामदार लगाएर धमाधम काम गरियो । दुई वर्ष अगाडि नै निर्माण सक्नेगरी काम गरेका थियौँ । तर बजेट नआएपछि काम छोड्न बाध्य भयौँ,’ अदैले भने, ‘गरिएको कामको ९० लाख रुपैयाँ भुक्तानी आउन बाँकी छ । त्योबाहेक थप बजेट आयो भने काम सुरु गर्छौँ ।’

सरकारले बजेटको व्यवस्थापन गरे ४५ दिनमा काम सक्ने उनले दाबी गरे । २०८० असोजसम्म नियमित काम गरे पनि त्यसपछि रोकिएको उनी बताउँछन् । उनले सुरुदेखि नै कामको भुक्तानी नियमित नपाएको गुनासो गरे । करिब एक करोड रकम नपाउँदा कारोबार गर्न समस्या भएको उनको भनाइ छ ।

अलपत्र अस्पताल भवनमा अहिले स्थानीयले बस्तुभाउ बाँध्ने र घाँसपात राख्ने गरेको पाइएको छ । सरकार नागरिकप्रति जिम्मेवार नबन्दा यो अस्पतालसहित कैयौं संरचनाहरू अलपत्र पर्ने गरेको स्थानीय बताउँछन् । 

उनले भने, ‘गाउँपालिका र सङ्घीय सरकारमा गएर मन्त्रालय पनि धायौँ, तर बजेट आएन । बजेट नआएपछि हामीले कसरी काम गर्ने ? सरकारले भुक्तानी दिएर बाँकी कामका लागि बजेट सुनिश्चित नगरेसम्म काम अगाडि बढाउन सक्ने अवस्था छैन ।’

अस्पताल सङ्घीय सरकारको बजेटबाट निर्माण भएको हुँदा गाउँपालिकाले लगानी गर्न सकेको छैन । दुईतले सुविधासम्पन्न भवनका रूपमा परिकल्पना गरिए पनि सम्पन्न नहुँदै जीर्ण बन्ने जोखिम बढेको छ । निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले सङ्घीय सरकारले बजेट नपठाउँदा अलपत्र अवस्थामा पुगेको बताए । सङ्घीय सरकारको योजना भएकाले पालिकाले बजेट विनियोजन गर्न नमिल्दा काम अगाडि बढ्न नसकेको उनी बताउँछन् ।

2-Hospital1

‘अस्पताल अलपत्र परेको छ । सङ्घीय सरकारको आयोजना भएकाले स्थानीय तहले बजेट विनियोजन गर्न मिल्दैन । बजेट हालेर काम गर्दा दोहोरोपना हुन्छ । त्यसले फेरि अर्को समस्या आउने हुँदा सङ्घीय सरकारकै बजेट कुरिरहेका छौँ,’ पुन मगरले भने ।

सङ्घीय सरकारबाट एक करोड ७० लाख रुपैयाँ आएपछि काम सम्पन्न हुने उनले बताए । अस्पताल भवन सम्पन्न गर्न आवश्यक बजेट माग गर्दै धेरै पटक मन्त्रालय धाए पनि बजेट नपठाएको उनको भनाइ छ । अस्पताल सम्पन्न गर्न पालिका पनि आतुर रहेको उनी बताउँछन् ।

अस्पताल निर्माणपछि निसीखोलाबाटै विशेषज्ञ सेवा प्रदान गरिने अपेक्षा लिइएको छ । विशेषगरी गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ६ का नागरिकलाई पायक पर्ने गरी झिम्पा गाउँको फेदीमा निर्माण थालिएको हो । निसीखोलावासीसँगै मध्यपहाडी लोकमार्गमा यात्रा गर्दा अकस्मात् बिरामी पर्ने र दुर्घटनाका घाइतेको उपचारमा समेत सहज हुने देखिन्छ ।

अस्पतालमा विशेषज्ञसहित स्वास्थ्य सेवा सुरु भए निसीखोलाका हजारौँ नागरिकलाई उपचारमा सहज हुने गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताए । उनले वर्षौँदेखि यहाँका नागरिकहरू सहज स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुँदै आएको भन्दै आधारभूत अस्पताल निर्माणपछि आफ्नै गाउँठाउँबाट सहज सेवा लिन सक्ने सुनाए ।

3-Hospitall

उनले भने, ‘केन्द्रमा धेरै पटक पुग्यौँ, तर अस्पतालका लागि बजेट आउन सकेन । मन्त्री, सचिव, सांसद सबैलाई भेटेर भन्यौँ । हाम्रो मागको सुनुवाइ भएन । अस्पतालको यो अवस्था देख्दा धेरैले हामीलाई गाली गर्छन् । हामीले लगानी गरेर बनाउन मिल्ने भए अहिलेसम्म करिब काम सकिन्थ्यो होला ।’

अध्यक्ष घर्तीले विगतमा यहाँका धेरै नागरिकले स्वास्थ्य उपचार नपाएर अकालमा ज्यान गुमाउनुपरेको भन्दै यहाँ अस्पताल सञ्चालन गर्न सके नागरिकलाई राहत हुने बताए । सामान्य बिरामी पनि बुर्तिबाङ पुग्नुपर्ने बाध्यता हट्ने र नागरिकको स्वास्थ्य, समय र पैसा समेत बचत हुने उनको भनाइ छ ।

‘निसीखोलाका दूरदराजका नागरिकहरूले वर्षौँदेखि सहजरूपमा स्वास्थ्य सेवा लिन पाइरहेका छैनन् । सामान्य स्वास्थ्य सेवा पाउन नसकेका नागरिकले यहाँ अस्पताल निर्माणपछि विशेषज्ञ सेवा पाउनेछन् भन्नेमा हामी विश्वस्त छौँ,’ उनले भने ।

अलपत्र अस्पताल भवनमा अहिले स्थानीयले बस्तुभाउ बाँध्ने र घाँसपात राख्ने गरेको पाइएको छ । सरकार नागरिकप्रति जिम्मेवार नबन्दा यो अस्पतालसहित कैयौं संरचनाहरू अलपत्र पर्ने गरेको स्थानीय बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डम्मर बुढामगर
डम्मर बुढामगर
लेखकबाट थप