‘मैले जितेँ, अब मेरो मात्र चल्छ’ भन्ने अहङ्कार पाल्नु आत्मघाती हुनेछ : श्याम घिमिरे
सारांश
- नेपाली कांग्रेसमा आन्तरिक कलह बढ्दै जाँदा पार्टी विभाजनको संघारमा पुगेको छ।
- देउवा र कोइराला समूहले वर्तमान नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै छुट्टै बैठक बोलाउने तयारी गरेका छन्।
- पार्टीभित्रको 'इगो' को लडाइँले आगामी निर्वाचनमा कांग्रेस कमजोर हुने र अस्तित्व संकटमा पर्ने चेतावनी दिइएको छ।
काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक कलह उत्कर्षमा पुगेपछि पार्टी विभाजनको संघारमा उभिएको छ। एकातिर गगन थापा नेतृत्वको वर्तमान कार्यसमिति निर्वाचन समीक्षामा केन्द्रित छ भने अर्कोतिर पूर्वसभापति शेरबहादुर देउवा र प्रभावशाली नेता डा. शेखर कोइराला समूहले समानान्तर रूपमा आफ्ना गतिविधिहरू तीव्र पारेका छन्।
आइतबार धुम्बाराहीमा बसेको देउवा र कोइराला पक्षका शीर्ष नेताहरूको गोप्य बैठकले वर्तमान नेतृत्वले पार्टीलाई सही दिशा दिन नसकेको निष्कर्ष निकाल्दै १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको छुट्टै बैठक बोलाउने तयारी गरेको छ। बैठकमा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का, डा. शेखर कोइरालासहितका प्रभावशाली नेताहरूको उपस्थिति रहेको थियो।
उनीहरूले हालै सम्पन्न निर्वाचनमा पार्टी नराम्रोसँग पराजित हुनुको एउटा मुख्य कारण महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई भूमिकाविहीन बनाइनु रहेको ठहर गरेका छन्। नेता श्याम घिमिरेका अनुसार निर्वाचित केन्द्रीय सदस्यहरू अहिले पूर्ण रूपमा अन्योलमा छन् र उनीहरूलाई पाखा लगाउँदा पार्टीको सांगठनिक ढाँचा नै कमजोर बनेको छ।
पार्टीभित्रको यो 'इगो' को लडाइँले आगामी निर्वाचनमा कांग्रेसलाई झनै खुम्च्याउने चेतावनी नेता घिमिरेले दिएका छन्। उनले अहिलेको मुख्य आवश्यकता पार्टीलाई एकजुट बनाएर लैजानु भए पनि दुवै पक्ष आ–आफ्नो अडानमा अडिग रहँदा कार्यकर्तामा व्यापक निराशा छाएको बताए। यदि समयमै यो विवाद समाधान नभए कांग्रेसले आफ्नो ऐतिहासिक विरासत गुमाउने र अस्तित्वको संकट व्यहोर्नुपर्ने उनको दाबी छ। घिमिरेले कसैले पनि ‘मैले जितेँ अब मेरो मात्र चल्छ’ भन्ने अहङ्कार पाल्नु आत्मघाती हुने उल्लेख गरे।
उनले भने, ‘यदि कसैले ‘मैले जितिहालेँ अब मेरो मात्र चल्छ’ भन्ने अहङ्कार पालेर अगाडि बढ्न खोज्यो भने त्यो काँग्रेसको लागि आत्मघाती हुनेछ । पार्टीभित्रको यो आन्तरिक कलहले हामी अर्को निर्वाचनमा झन् खुम्चिने र कमजोर हुने सम्भावना प्रबल छ । अदालतको फैसलापछि जसले नेतृत्वको बागडोर सम्हाले पनि, सबै पक्षलाई समेटेर लैजाने उदारता देखाउनुपर्छ। पार्टीलाई एकजुट बनाएर लैजाने बाटोमा अगाडि बढ्नैपर्छ, त्यो हाम्रो बाध्यता हो ।’
देउवा पक्षले आधिकारिक रूपमा केन्द्रीय समितिको बैठक बोलाउने औपचारिक निर्णय गरिनसके पनि नेताहरूको दबाब निकै बढेको छ। निर्वाचन समीक्षाका लागि पुरानै कार्यसमितिको बैठक बोलाउनुपर्ने मागले पार्टीभित्र नयाँ ध्रुवीकरण सिर्जना गरेको छ। अहिले कांग्रेसका आम कार्यकर्ता र शुभचिन्तकहरूको नजर शीर्ष नेताहरूले लिने निर्णय र सर्वोच्च अदालतको सम्भावित फैसलामा अडिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण