बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पार्टी एकता र वैचारिक पुनर्जागरण नै कांग्रेसको मुख्य शक्ति : नेता महर

मङ्गलबार, १० चैत २०८२, १२ : १३
मङ्गलबार, १० चैत २०८२

सारांश

  • कांग्रेस नेता नैनसिंह महरले पार्टी एकता नै कांग्रेसलाई सुदृढ बनाउने बताए।
  • उनले पार्टीभित्रको वैचारिक बहुलता र आन्तरिक लोकतन्त्रलाई कांग्रेसको शक्ति भने।
  • महरले आगामी महाधिवेशनमार्फत पार्टी पुनर्संरचना गर्दै नयाँ यात्रा थाल्नुपर्नेमा जोड दिए।

चितवन । नेपाली कांग्रेसका नेता नैनसिंह महरले ऐतिहासिक विरासत बोकेको कांग्रेसलाई थप सुदृढ बनाउन पार्टी एकता नै आजको प्रमुख आवश्यकता रहेको बताएका छन्। नेपाली कांग्रेस चितवनद्वारा आयोजित चितवनमा आयोजित भेटघाट तथा विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले कांग्रेसको गौरवशाली इतिहास र स्थापनाकालदेखि अङ्गालेको मध्यममार्गी लोकतान्त्रिक विचारलाई अझै उचाइमा पुर्‍याउनुपर्नेमा जोड दिएका हुन्। 

उनले पार्टीभित्रको वैचारिक बहुलता र आन्तरिक लोकतन्त्रलाई नै कांग्रेसको सर्वाङ्गीण शक्तिका रूपमा व्याख्या गरे। बीपी कोइराला र सुवर्ण शमशेरले दुई भिन्न शक्तिलाई एकीकृत गरेर कांग्रेस निर्माण गरेको ऐतिहासिक तथ्य स्मरण गर्दै नेता महरले सोही एकताको जगमा उभिएर आज झन् सशक्त र एकताबद्ध कांग्रेस निर्माणको संकल्प गर्नुपर्ने बताए। 

उनले पार्टीलाई अझै जनमुखी बनाउन नेतृत्वदेखि तल्लो तहसम्म निर्मम आत्मसमीक्षा गर्दै अघि बढ्नुपर्ने र पार्टीभित्रका विविध विचार तथा दृष्टिकोणहरूलाई उच्चतम सहिष्णुताका साथ आत्मसात् गर्नुपर्ने औंल्याए। विश्व राजनीतिका सकारात्मक दृष्टान्तहरू प्रस्तुत गर्दै उनले बेलायतको लेबर पार्टीले गरेको ऐतिहासिक पुनरुत्थानबाट पाठ सिकेर कांग्रेसले पनि रणनीतिक पुनर्जागरणको बाटो तय गर्नुपर्ने उल्लेख गरे।

विगतका गुटगत किचलो र आन्तरिक शक्ति सङ्घर्षका विषयहरूलाई गौण मान्दै अबको यात्रा ‘एकताबद्ध कांग्रेस’ का लागि मात्र केन्द्रित हुनुपर्ने उनको भनाइ थियो। आगामी १५औँ महाधिवेशनमार्फत पार्टीको साङ्गठनिक र वैचारिक पुनर्संरचना गर्दै हिजोका सबै आग्रह-पूर्वाग्रह त्यागेर शून्यबाटै नवीन यात्रा थाल्नुपर्नेमा उनले जोड दिए। 

लोकतन्त्रको रक्षा र देशको सामाजिक-आर्थिक रूपान्तरणको नेतृत्व गर्न कांग्रेसले आफैँभित्रको एकतालाई पहिलो सर्त बनाउनुपर्ने धारणा राख्दै उनले व्यक्तिगत कुन्ठा र आवेग त्याग्नुपर्ने अपरिहार्यता रहेको समेत औंल्याए। त्यसका लागि देशभरका सबै लोकतन्त्रवादीहरू एक ठाउँमा आउनुपर्ने महरको भनाइ थियो।

नियमित र विशेष महाधिवेशनका नाममा विभक्त भएका सबैलाई पार्टी निर्माणका लागि साझा अभियानमा लाग्न आग्रह गर्दै उनले यदि एकताबद्ध भएर अगाडि बढ्न नसके नेपाल र कांग्रेसको इतिहास जोगाउन चुक्ने चेतावनी समेत दिए। आगामी महाधिवेशनलाई सबैको साझा पार्टी निर्माण गर्ने अवसरका रूपमा उपयोग गर्दै विगतका अतिरञ्जनापूर्ण अभिव्यक्ति र मनमुटाव बिर्सिएर अघि बढ्नु नै अहिलेको बुद्धिमानी हुने उनले प्रस्ट पारे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप