संसद् भवनभित्र प्रदर्शनकारी छिर्नुमा सुरक्षा कमजोरी र समन्वयको अभाव : निवर्तमान सभामुख घिमिरे
सारांश
- निवर्तमान सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनमा सुरक्षा निकायको कमजोरी औंल्याए।
- उनले आन्दोलनकारीको संख्या धेरै भएकाले सुरक्षामा समस्या आएको बताए, आपतकालीन योजना नभएको स्वीकार गरे।
- घिमिरेले गोली प्रहारबारे सुरक्षा निकायले नै मूल्यांकन गर्नुपर्ने र एकल कमाण्ड प्रणाली आवश्यक रहेको बताए।
काठमाडौँ । निवर्तमान सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनका क्रममा संसद् भवन परिसरभित्र प्रदर्शनकारी छिर्नुमा सुरक्षा निकायको कमजोरी र प्रभावकारी समन्वयको अभाव रहेको बताएका छन्। आन्दोलनको छानबिनका लागि गठित जाँचबुझ आयोगलाई बयान दिँदै उनले सुरक्षाकर्मीको अनुमानभन्दा धेरै संख्यामा आन्दोलनकारी उत्रिएकाले यस्तो परिस्थिति सिर्जना भएको उल्लेख गरे।
घिमिरेले २०८२ भदौ २३ गते आफू सिंहदरबारस्थित संसद् सचिवालयमा संसदीय सुनुवाइ समितिका सभापतिको शपथ र विधेयक प्रमाणीकरणका काममा व्यस्त रहेको जानकारी दिए। भदौ २४ गते भने उनी बालुवाटारस्थित आफ्नै निवासमा थिए। संसद् भवनको सुरक्षा गर्ने सम्पूर्ण जिम्मेवारी गृह मन्त्रालय अन्तर्गतका सुरक्षा निकायको हुने र यसमा सभामुखको कुनै कानुनी अधिकार नहुने उनले स्पष्ट पारे।
- आकस्मिक योजनाको अभाव र सुरक्षा चुनौती
जनआस्था साप्ताहिकको सौजन्यमा प्राप्त प्रतिवेदनमा बयानका क्रममा घिमिरेले आन्दोलनले यस स्तरको जोखिम निम्त्याउला भन्ने कसैले अनुमान नगरेको स्वीकार गरे। उनले कुनै विशेष सूचना प्राप्त नभएका कारण कन्टिन्जेन्सी प्लान वा इभाकुएसन प्रोटोकल जस्ता आपतकालीन योजना तयार नगरिएको बताए। संसद् भवनको पर्खाल, गेट र संरचनात्मक कमजोरीका कारण पनि सुरक्षा चुनौती बढेको उनको ठहर छ। यद्यपि, यस्ता भौतिक सुधारको जिम्मेवारी कार्यपालिकाको भएकाले सभामुखको हैसियतमा आफूले विशेष पहल नगरेको उनले बयानमा उल्लेख गरे।
- गोली प्रहार र बल प्रयोगबारे स्पष्टीकरण
भदौ २३ गते संसद् भवन परिसरमा गोली चलेको जानकारी आफूलाई अपराह्नतिर मात्र प्राप्त भएको घिमिरेले खुलाए। त्यसलगत्तै महासचिवमार्फत सुरक्षा निकायसँग समन्वय गर्न निर्देशन दिएको उनले बताए। सुरक्षाकर्मीले जोखिमपूर्ण अवस्थामा पनि राज्यको सम्पत्ति जोगाउन प्रयास गरेको उनको मूल्यांकन छ।
गोली प्रहारको आवश्यकता र औचित्यका विषयमा प्रश्न उठे पनि यो सभामुखको प्रत्यक्ष क्षेत्राधिकारभित्र नपर्ने उनले जिकिर गरे। प्रधानमन्त्री वा गृहमन्त्रीलाई गोली प्रहार रोक्न सभामुखले प्रत्यक्ष आदेश दिन सक्ने कुनै कानुनी व्यवस्था नरहेको उनले स्पष्ट पारे।
उनले भनेका छन्, ‘बल प्रयोगको सिद्धान्त, गोली प्रहारको आवश्यकता र औचित्य जस्ता विषय सुरक्षा नीति, कानून र तत्कालीन परिस्थितिको आधारमा सम्बन्धित विज्ञ र निकायहरूले मूल्याङ्कन गर्नुपर्ने विषय हो भन्ने मेरो धारणा छ। यो विषय सभामुखको प्रत्यक्ष क्षेत्राधिकारभित्र पर्दैन। सभामुखले प्रधानमन्त्री, गृहमन्त्री वा सुरक्षा निकायलाई गोली प्रहार रोक्न प्रत्यक्ष आदेश दिन सक्ने कानूनी व्यवस्था छैन । ’
आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन घिमिरेले संसद् भवनको सुरक्षाका लागि ‘सिंगल कमाण्ड’ प्रणाली लागू गर्न सुझाव दिएका छन्। स्पष्ट प्रोटोकल र थ्रेट एनालाइसिसका आधारमा सुरक्षाकर्मी परिचालन गर्ने व्यवस्था हुनुपर्ने उनको भनाइ छ।
भदौ २४ गते संसद् भवनमा भएको तोडफोड र आगजनीमा मानवीय क्षति नभए पनि भौतिक संरचनामा क्षति पुगेको उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण