मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
कर्णाली प्रदेश

मन्त्री र सचिवसँग कर्णालीका मुख्यमन्त्रीको आक्रोश : शैली सुधार्नुहोस्, नभए बेलैमा सोच्नुस्

सोमबार, १६ चैत २०८२, १९ : १७
सोमबार, १६ चैत २०८२

सारांश

  • कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै मन्त्री र सचिवहरूसँग असन्तुष्टि व्यक्त गरे।
  • मुख्यमन्त्री कँडेलले काम गर्न नसक्ने भए सोच्न र पुरानो कार्यशैली परिवर्तन गर्न मन्त्री र सचिवहरूलाई निर्देशन दिए।
  • बजेट कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न र विकास निर्माणका कामलाई तीव्रता दिन कँडेलले जोड दिए।

सुर्खेत । बजेट कार्यान्वयन कमजोर भइरहेको भन्दै आलोचना खेपिरहेका कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल मन्त्री र सचिवहरुप्रति आक्रामक देखिएका छन् । मन्त्रीदेखि कर्मचारीले कमजोर कार्यसम्पादन गरे पनि सरकारको नेतृत्वको हिसाबले उनीमाथि नै टिप्पणी आउन थालेपछि कँडेल मन्त्रीदेखि सचिवहरुसँग रिसाएका हुन् ।

सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘बजेट कार्यान्वयनको अवस्था, आयोजना छनोट मापदण्ड र कार्यविधि सम्बन्धी’ छलफल कार्यक्रम राखिएको थियो, जहाँ मुख्यमन्त्री कँडेलले काम गर्न नसक्ने भए बेलैमा सोच्दा हुन्छ भन्न भ्याए ।

‘तपाईंहरूको काम गर्ने पुरानै शैली फिटिक्कै भएन, त्यो प्रवृत्ति अन्त्य गर्नुहोस्,’ आक्रोशित हुँदै कँडेलले भने, ‘हालसम्म बजेट खर्चको प्रगति कमजोर देखिएको छ, सम्बन्धित मन्त्रालय तथा निकायहरूले तत्काल सुधार गर्नुहोस्, यो मेरो निर्देशन हो ।’

बजेट किन प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेन भन्ने प्रश्नको जवाफ मन्त्री र सचिवहरुले दिनुपर्ने कँडेलले बताए । प्रदेश सरकारको फागुन मसान्तसम्म २० प्रतिशत पनि बजेट खर्च भएको छैन भने पुँजीगत बजेट कार्यान्वयनको अवस्था १५ प्रतिशत पनि पुगेको छैन ।

कँडेलले भने, ‘समस्या देखाउने होइन, समाधान गर्ने जिम्मेवारी तपाईंहरूकै हो ।’ उनले पुरानो कार्यशैलीका कारण विकास निर्माणका काम प्रभावित भएको पनि बताए ।

उनले अगाडि भने, ‘तपाईंहरुको पुरानो शैलीलाई सुधार गर्नुहोस्, नयाँ ढंगले काम गर्न सिक्नुहोस्, जनताले परिणाम चाहेका छन् ।’ कार्यालयमा फाइल रोकिने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरे कँडेलले ।

कुनै पनि मन्त्रालयमा आएका फाइल अनावश्यक रूपमा रोकिन नहुने तर्क उनले गरे । मुख्यमन्त्री कँडेलले भने, ‘काममा अवरोध गर्ने प्रवृत्ति तुरुन्त अन्त्य गर्नुहोस् । यदि कुनै समस्या छ भने मलाई जानकारी गराउनुहोस्, समाधानका लागि म स्वयं अघि बढ्छु ।’

बजेट कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने प्रमुख जिम्मेवारी आर्थिक मामिला मन्त्रालयको रहेको पनि बताए । कार्यसम्पादनका हिसाबले अर्थमन्त्रालय पछिल्लो समय निकै कमजोर देखिएकोप्रति कँडेल असन्तुष्ट छन् । विशेषगरी अर्थमन्त्री राजीवविक्रम शाहको कार्यसम्पादन कमजोर मानिएको छ । 

कँडेलले यो विषयमा सम्बन्धित मन्त्रालयलाई सक्रिय र उत्तरदायी बन्न निर्देशन दिए । ‘कार्यान्वयनमा देखिएका अवरोधहरू हटाउन ठोस पहल गर्नुहोस्, सरकारलाई काम चाहिएको हो, तपाईंहरूले राम्रोसँग काम गर्न सक्नुहुन्छ भने गर्नुहोस्, नसक्ने अवस्था भए त्यसबारे पनि सोच्नुहोस्,’ कँडेलले सचिव र मन्त्रीहरुलाई भने ।

विकास निर्माणका काममा ढिलाइ हुँदा जनताबाट गुनासो आउने भएकाले त्यस्तो अवस्था आउन नदिने गरी काम गर्न पनि उनले निर्देशन दिएका छन् । उनले मन्त्रीहरुलाई कर्णाली प्रदेशको नाममा प्रदेश बाहिर हुने बैठकहरूमा अनावश्यक रूपमा सहभागी नहुन र कार्यसम्पादनमा ध्यान दिए । उनले भने, ‘जरुरी बाहेकका बैठकमा प्रदेश बाहिर नजानुहोस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप