लाइसेन्स परीक्षामा सेटिङ : यातायात कार्यालयका प्रमुखविरुद्धको उजुरीमाथि छानबिन सुरु
सारांश
- इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा लाइसेन्स परीक्षामा सेटिङ र आर्थिक लेनदेनको उजुरी परेपछि छानबिन सुरु भएको छ।
- स्वास्थ्य परीक्षणमा फेल भएका व्यक्तिहरूलाई समेत पास गराएको आरोप लागेपछि कार्यालय प्रमुखलाई मन्त्रालयमा तानिएको छ।
- छानबिनका लागि ५ सदस्यीय समिति गठन गरिएको छ जसलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।
विराटनगर । इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिहरूलाई आर्थिक लेनदेन र सेटिङका आधारमा उत्तीर्ण गराउने गरिएको उजुरी परेपछि छानबिन सुरु भएको छ । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा परेको उजुरीका आधारमा कार्यालय प्रमुख सतिश सत्याललाई मन्त्रालय तानिएको र छानबिन सुरु भएको हो ।
लाइसेन्स प्राप्तिका लागि अनिवार्य मानिने स्वास्थ्य परीक्षणमा समेत सेटिङ हुने गरेको आरोप छ । विशेष गरी आँखाको दृष्टि वा अन्य स्वास्थ्य मापदण्डमा फेल भएका परीक्षार्थीहरूलाई ‘रि–चेक’ को बहानामा कर्मचारी र बिचौलियाको मिलेमतोमा उत्तीर्ण गराउने गरिएको उजुरी परेको थियो ।
मन्त्रालयका सचिव आस्मान तामाङका अनुसार स्वास्थ्य परीक्षणमा फेल भएकाहरूलाई समेत पास गराएको भन्ने गम्भीर उजुरी परेपछि मन्त्रालयले सो कार्यालयमा निगरानी बढाएको थियो । अनुगमनका क्रममा कैफियत भेटिएपछि नवौँ तहका अधिकृत एवं कार्यालय प्रमुख सतिश सत्याललाई जिम्मेवारीविहीन बनाउँदै मन्त्रालय तानिएको हो ।
सो प्रकरणको छानबिन गर्न मन्त्रालयले एक छानबिन समिति गठन गरेको छ । मन्त्रालयको यातायात व्यवस्था महाशाखा प्रमुख उर्मिलादेवी निरौलाको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइएको तामाङले जानकारी दिए ।
समितिमा मन्त्रालयका कानुनी सल्लाहकार, आईटी विज्ञ र प्रशासनका कर्मचारीहरू सहभागी छन् । समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको सचिव तामाङले बताए ।
‘स्वास्थ्य परीक्षणमा फेल भएकाहरूलाई उत्तीर्ण गराइएको गुनासो आएपछि हामीले फाइलहरू सिल गरेका छौँ । छानबिन समितिको रिपोर्ट नआउन्जेल कार्यालय प्रमुखलाई कुनै जिम्मेवारी दिइने छैन,’ सचिव तामाङले भने ।
यता, मन्त्रालय तानिएका कार्यालय प्रमुख सतिश सत्यालले भने आफूमाथि लागेको आरोप निराधार रहेको दाबी गरेपनि आफूमाथि छानबिनको क्रममा रहेको कारण थप केही नबताउने बताए । उनले कार्यालयको काम पारदर्शी रहेको र आफू निर्दोष रहेको दाबी गरे ।
मन्त्रालय स्रोतका अनुसार यो अनियमिततामा सत्याल मात्र नभई अन्य कर्मचारीको समेत संलग्नता रहेको आशङ्का गरिएको छ । केही कर्मचारीहरू दशकौँदेखि सोही क्षेत्रका यातायात र मालपोत कार्यालयमा मात्रै कार्यरत रहेकाले उनीहरूको बिचौलियासँग बलियो सञ्जाल रहेको बताइन्छ । अहिले यातायात व्यवस्था कार्यालय इटहरीमा वरिष्ठ शाखा अधिकृत सुभाष कार्कीलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण