ग्याजेटबाट टाढा राख्दै बालबालिकालाई फुटबल सिकाउन ‘समर क्याम्प’ सुरु
सारांश
- ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले बालबालिकालाई ग्याजेटबाट टाढा राख्न 'समर फुटबल क्याम्प २०२६' सुरु गरेको छ।
- सातदोबाटोमा सञ्चालित यो क्याम्पमा ४ देखि १६ वर्षसम्मका ६१ जना बालबालिका सहभागी भएका छन्।
- उत्कृष्ट प्रदर्शन गर्ने दुई जना प्रशिक्षार्थीलाई एक वर्षको पूर्ण छात्रवृत्ति प्रदान गरिने घोषणा गरिएको छ।
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन र गोलरक्षक विकेश कुथुद्वारा सञ्चालित ‘ट्वेल्व फुटबल ट्रेनिङ सेन्टर’ (टीएफटीसी) ले आज शनिबारदेखि ‘समर फुटबल क्याम्प २०२६’ सुरु गरेको छ। सातदोबाटोस्थित नेपाल स्पोर्ट्स फेलोसिपको मैदानमा आयोजित यो विशेष क्याम्प वैशाख ५ गतेसम्म चल्नेछ। क्याम्पको पहिलो दिन ६१ जना विद्यार्थी प्रशिक्षणमा सहभागी भएका छन्।
बिदाको समयमा बालबालिकाहरू फोन, ल्यापटप र टिभी जस्ता ग्याजेटमा झुम्मिने गर्दा उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर पर्ने जोखिमलाई ध्यानमा राखेर यो कार्यक्रम आयोजना गरिएको हो। बालबालिकालाई इलेक्ट्रोनिक उपकरणबाट टाढा राख्दै लोकप्रिय खेल फुटबलतर्फ आकर्षित गर्ने र उनीहरूको स्वास्थ्यमा सुधार ल्याउने मुख्य उद्देश्य ट्रेनिङ सेन्टरले राखेको छ।
क्याम्पमा ४ देखि १६ वर्षसम्मका बालबालिकालाई उमेर समूह अनुसार विभाजन गरी एएफसी प्रमाणित दक्ष प्रशिक्षकहरूले प्रशिक्षण दिइरहेका छन्। नेपाल फुटबल खेलाडी संघका अध्यक्ष एवं पूर्व खेलाडी बिक्रम लामा र एजिसका प्रबन्ध निर्देशक सुरज मगरले क्याम्पको औपचारिक उद्घाटन गरेका हुन्।
जिम वेयर विक्रेता कम्पनी ‘एजिस’ ले यस कार्यक्रममा सहयोग गरेको छ। मुख्य सञ्चालक मध्येका एक विकेश कुथु भने हाल त्रिभुवन आर्मी फुटबल क्लबबाट विराट गोल्ड कप खेल्न झापामा रहेकाले उद्घाटनमा उपस्थित हुन सकेनन्।
विगत ६ महिनादेखि बालबालिकाको फुटबल सीप विकासमा सक्रिय यस सेन्टरले हरेक शनिबार ग्रासरुट प्रशिक्षण समेत दिँदै आएको छ। यसपटकको समर क्याम्प अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने र सम्भावना बोकेका दुई जना प्रशिक्षार्थीलाई ट्रेनिङ सेन्टरले एक वर्षसम्मका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ। बालबालिकाको सर्वाङ्गीण विकासका लागि विशेष ‘डेभलपमेन्ट प्लान’ अनुसार नै यो प्रशिक्षण सञ्चालन भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण