डिजेलमा मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजनकाे माग
सारांश
- नेपाल आयल निगमले डिजेलको मूल्य बढाएपछि यातायात व्यवसायीहरू प्रत्यक्ष रूपमा प्रभावित बनेका छन्।
- नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले डिजेलको मूल्यवृद्धिअनुसार तत्काल भाडादर समायोजन गर्न सरकारसँग माग गरेको छ।
- महासङ्घले पेट्रोलियम पदार्थको मूल्य समायोजनका लागि वैज्ञानिक प्रणाली लागू गर्न र थप राहतका उपाय खोज्न आग्रह गरेको छ।
काठमाडौँ। विश्व बजारमा कच्चा तेलको आपूर्ति असहज भएसँगै मूल्यमा भएको अस्वाभाविक वृद्धिको प्रभाव नेपालमा पनि देखिएको छ।
यही क्रममा नेपाल आयल निगमले २०८३ वैशाख २ गते राति १२ बजेदेखि लागू हुने गरी डिजेलको मूल्य बढाएपछि यातायात क्षेत्र प्रभावित बनेको छ।
नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले एक प्रेस विज्ञप्ति जारी गर्दै डिजेलको मूल्यवृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासङ्घका अनुसार पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा त्यसको प्रत्यक्ष असर यातायात क्षेत्रमा पर्ने भएकाले भाडादर समायोजन अपरिहार्य भएको हो।
महासङ्घले यातायात व्यवस्था विभागसँग भएको सहमतिअनुसार पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ५ प्रतिशतभन्दा बढी तलमाथि हुँदा भाडादर स्वचालित रूपमा समायोजन हुनुपर्ने व्यवस्था कडाइका साथ लागू गर्न माग गरेको छ। इन्धनको मूल्य घट्दा भाडा घट्ने र बढ्दा भाडा बढ्ने वैज्ञानिक प्रणाली लागू नभएको गुनासो पनि महासङ्घले गरेको छ।
विज्ञप्तिमा पछिल्ला दुई पटकको मूल्यवृद्धिबाट डिजेलमा कुल ५ रुपैयाँ ५१ पैसासम्म वृद्धि भएको उल्लेख गर्दै यस्तो अवस्थामा पुरानो भाडादरमा सेवा सञ्चालन गर्न नसकिने स्पष्ट पारिएको छ। महासङ्घले चैत २५ गते कायम गरिएको भाडादरलाई वैशाख २ गतेको मूल्यवृद्धिअनुसार पुनः समायोजन गर्न सरकारसँग आग्रह गरेको महासङ्घका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले बताए।
त्यसैगरी, महासङ्घले पेट्रोलियम पदार्थमा लगाइएका अतिरिक्त कर हटाई मूल्य घटाउन, साथै खपत घटाउन सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्न पनि सरकारसँग अनुरोध गरेको छ।
रातारात इन्धनको मूल्य बढ्ने तर भाडा समायोजनमा ढिलाइ हुने प्रवृत्तिले व्यवसायी मारमा परेको भन्दै तत्काल समाधान खोज्न दबाब दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण