बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चर्च ब्वाइजलाई पन्छाउँदै सम्राटको ऐतिहासिक डेब्यु, फाइनलमा झापासँग भिड्ने

शुक्रबार, ०४ वैशाख २०८३, ०६ : ४८
शुक्रबार, ०४ वैशाख २०८३

सारांश

  • सम्राट स्पोर्टिङ क्लबले चर्च ब्वाइज युनाइटेडलाई ३-० गोलले पराजित गर्दै नोबेल विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
  • डेब्यु प्रतियोगितामै ऐतिहासिक प्रदर्शन गरेको सम्राटले उपाधिका लागि अब शनिबार झापा-११ सँग प्रतिस्पर्धा गर्नेछ।

विराटनगर । विराटनगरको सहिद मैदानमा जारी ३८ औँ संस्करणको नोबेल विराट गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबले सानदार प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेको छ। 

बिहीबार राति सम्पन्न अन्तिम सेमिफाइनल खेलमा ‘ए’ डिभिजन टोली चर्च ब्वाइज युनाइटेडलाई ३–० गोल अन्तरले स्तब्ध पार्दै सम्राटले पहिलो गाँसमै ढुङ्गा नभई सफलता हात पारेको हो। पहिलो पटक प्रतियोगितामा सहभागिता जनाएको सम्राटले आफ्नो डेब्यु खेलमै फाइनल पुगेर ऐतिहासिक उपलब्धि हासिल गरेको छ।

रात्रिकालीन समयमा निकै उत्साहजनक रूपमा अघि बढेको खेलमा सम्राटको जितका लागि सौरभ तामाङ, आदित्य शाक्य र विवेक राईले समान १–१ गोल गरे। खेलको पहिलो हाफ प्रतिस्पर्धात्मक रहे पनि दुवै टोलीबाट गोल हुन सकेन। घरेलु दर्शकको उल्लेख्य समर्थन पाएको सम्राटले सुरुवाती चरणबाटै आक्रामक खेल प्रदर्शन गरे पनि पहिलो हाफमा केही सुनौला अवसरहरू सदुपयोग गर्न सकेन। खेलको २९ औँ मिनेटमा आदित्य शाक्य र ३२ औँ मिनेटमा आशिष चौधरीका प्रहारहरू गोलमा परिणत हुन नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो।

दोस्रो हाफ सुरु भएको केही समयमै सम्राटले खेलमा अग्रता लियो। ५० औँ मिनेटमा सौरभ तामाङले सुन्दर गोल गर्दै घरेलु टोलीलाई १–० को स्थितिमा पुर्‍याए। उक्त गोलपछि दबाबमा परेको चर्च ब्वाइजले गोल फर्काउने प्रयास गरे पनि उसका स्ट्राइकरहरू फिनिसिङमा चुकेका थिए। 

विशेषगरी समीर तामाङ र सृजन गौतमले पाएका केही अवसरहरू पोस्टको दिशा लिन नसक्दा चर्च ब्वाइज खेलमा फर्कन सकेन। खेलको निर्धारित ९० मिनेट सकिएपछि थपिएको ७ मिनेटको इन्जुरी समय चर्च ब्वाइजका लागि घातक साबित भयो।

इन्जुरी समयको चौथो मिनेटमा आदित्य शाक्यले गोल गर्दै सम्राटको अग्रता दोब्बर बनाए भने त्यसको दुई मिनेटपछि नै विवेक राईले तेस्रो गोल थप्दै टोलीको जित सुनिश्चित गरे। खेलको प्लेयर अफ द म्याच सुरुवाती गोलकर्ता सौरभ तामाङ घोषित भए र उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। 

यसअघि क्वाटरफाइनलमा भारतको विर्सामुण्डा स्पोट्र्स एकेडेमीलाई हराएको सम्राटले अब उपाधिका लागि शनिबार झापा–११ को सामना गर्नेछ। झापा–११ ले यसअघि नै बलिया टोलीहरू नेपाल पुलिस र त्रिभुवन आर्मीलाई पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ। 

प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप