शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टोखाको ऐतिहासिक विस्केट जात्रा सम्पन्न

शुक्रबार, ०४ वैशाख २०८३, २३ : ३५
शुक्रबार, ०४ वैशाख २०८३

सारांश

  • टोखाको विस्केट जात्रा धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्त्व बोकेको छ, जुन सम्पन्न भयो।
  • जात्रामा सिन्दुर जात्रा, रथ यात्रा, भजन कीर्तन लगायतका विभिन्न परम्पराहरू समावेश थिए।
  • अन्तिम दिन, रथलाई गछेटोलमा बिसाएर विभिन्न खलःको उपस्थितिमा नगर परिक्रमा गरियो।

काठमाडौँ । धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको टोखाको विस्केट जात्रा सम्पन्न भएको छ । सपनतीर्थ मेलासँगै सुरु भएको उक्त जात्रा शुक्रबार साँझ लिङ्गो ढलाएसँगै सम्पन्न भएको हो । नेवार समुदायको बाहुल्य रहेको टोखामा हरेक वर्ष झै यस वर्ष भव्य रूपमा जात्रा लागेको थियो ।

वैशाख १ गते सपनतीर्थ मेलासँगै सिन्दुर जात्रा गरी औपचारिक विस्का जात्रा सुरु हुने गरेको नेवा गुथिः टोखाका अध्यक्ष रमेश नापितले बताए । उनका अनुसार वैशाख २ गते बिहान टोखा नगरपालिका–२ गणेशस्थान थलागटोलमा सिन्दुर जात्रा गरेर नगर परिक्रमा गरिने रथलाई सोही दिन माथिल्लो लाछिमा लगेर बिसाइन्छ ।

वैशाख ३ गते बिहान ६ः०० बजे माथिल्लो लाछिमा सिन्दुर जात्रा गरेर उठाइएको रथ दिउँसो १ः०० बजे वडा नं ३ स्थित हासलटोलमा लगेर बिसाउने चलन छ । बिहान ६ः०० बजेदेखि सुरु भएको रथयात्रालाई गुठी, गुठियारको घरमा लगेर बाली उठाउने गरिन्छ । दिउँसो १ः०० बजेदेखि ३ः०० बजेसम्म हासलटोलमा राखेर रथको पूजा गर्ने चलन छ ।

सोही दिन साँझ उक्त रथलाई हासलटोलबाट उठाएर सरस्वती चौरको पोखरीमा स्नान गराई इन्द्रायणी मसानकाली परिक्रमा गराई वडा नं ३ को सानो लाक्षिमा लगेर बिसाउने परम्परा रहिआएको गुथिः टोखाका अध्यक्ष नापितले बताए । उनका अनुसार सोही दिन रातभर गुठियार र विभिन्न खलःहरू बसेर रातभर भजनकीर्तन गर्ने तथा जाग्राम बस्ने चलन छ ।

जात्राको अन्तिम दिन आज बिहान ६ः०० बजे सानोलाक्षीबाट सिन्दुर जात्रा गरी दिउँसो १ः०० बजे वडा नं २ मा रहेको गछेटोलमा लगेर रथ बिसाइन्छ । उक्त स्थानमा बिसाइएको रथलाई विधिसहित सरकारी पूजाका साथै सिन्दुर जात्रा गरेर विभिन्न खलःको उपस्थितिमा नगरपरिक्रमा गराई आआफ्नो देवालयमा भित्र्याउने चलन रहेको उनले जानकारी दिए । यससँगै टोखाको ऐतिहासिक चार दिने विस्केट जात्रा शुक्रबार सम्पन्न भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप