बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एक सय १० मेगावाटको दुधकोशी पाँचौँ निर्माण हुने

सोमबार, ०७ वैशाख २०८३, ०४ : २३
सोमबार, ०७ वैशाख २०८३

सारांश

  • सोलुखुम्बुको दुधकोशी नदीमा ११० मेगावाटको जलविद्युत् आयोजना बन्ने भएको छ।
  • आयोजनाबाट वार्षिक ६१७.८६ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ।
  • यो आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

काठमाडौँ । सोलुखुम्बु जिल्लाको दुधकोशी नदीमा ११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यहाँको माप्य दुधकोशी गाउँपालिका–२, ३, ४, ६ र ७ मा आयोजनास्थल रहने गरी सो आयोजना प्रस्ताव गरिएको हो । आयोजनाको विद्युतगृह माप्य दुधकोशी गापा–४ काँकुखोला र दुधकोशी नदीको सङ्गमबाट ७३० मिटर माथि रहनेछ ।

आयोजना निर्माण सम्पन्न भएपछि राष्ट्रिय प्रसारण प्रणालीमा ६१७.८६ गिगावाट घण्टा प्रतिवर्ष विद्युत् आपूर्ति हुनेछ । निर्माणको चरणमा ६० दक्ष, १५० अर्धदक्ष र ३५५ अदक्ष जनशक्तिले रोजगारी प्राप्त गर्नेछन् ।

विद्युत् विकास विभागले सो आयोजनालाई अर्ध जलाशययुक्त प्रकृतिमा निर्माणका लागि यसअघि नै सहमति प्रदान गरिसकेको छ । इन्डेपेन्डेन्ट पावर कम्पनी नेपालले सो आयोजना निर्माण गर्ने जनाइएको छ ।

आयोजनाको यसअघि नदी प्रवाही आयोजनाका रूपमा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भएको भए पनि पछिल्लो पटक अर्ध जलाशय प्रकृतिमा निर्माण गर्ने भएपछि पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गर्न लागिएको छ । वन तथा वातावरण मन्त्रालयले आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कनका लागि आवश्यक सुझाव उपलब्ध गराउन आग्रह गरेको छ ।

आयोजनाको ग्रस हेड २३७.९ मिटर र रेटेड नेट हेड २२२.३ मिटर रहेको छ । आयोजनाको संरचना निर्माणका लागि २५.२८ हेक्टर सामुदायिक वन क्षेत्रबाट दुई हजार ४५९ वटा खोटेसल्ला, बाँझ, चिलाउने, उत्तिस, मौवा, मलाट, भलायो, जामुख आदि प्रजातिका रुख काट्नुपर्नेछ ।

आयोजनाबाट उत्पादित बिजुली नयाँ खिम्ती सबस्टशेन देवीटार दोलखामा जोडिने आयोजनाले जनाएको छ । आयोजनाको कुल लागत १९ अर्ब ११ करोड रुपैयाँ बराबर रहनेछ । प्रवर्द्धक कम्पनीका अनुसार प्रतिमेगावाट लागत २० करोड रुपैयाँ बराबर रहेको छ ।

आयोजना पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप