मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

स्ववियु खारेजी र विदेशी काउन्सिल सह्य हुने छैन : संयुक्त विद्यार्थी सङ्गठन

मङ्गलबार, ०८ वैशाख २०८३, १७ : २१
मङ्गलबार, ०८ वैशाख २०८३

सारांश

  • संयुक्त विद्यार्थी सङ्गठनले क्याम्पसहरूमा प्रहरी पोस्ट राख्ने र विद्यार्थी सङ्गठन खारेज गर्ने सरकारी निर्णय अलोकतान्त्रिक र असंवैधानिक भएको जिकिर गरेका छन्।
  • विद्यार्थी नेताहरूले बन्दुकको दम्भमा विद्यार्थी आन्दोलनलाई दबाउन खोज्नु सरकारको लागि घातक हुने चेतावनी दिएका छन्।
  • विदेशी प्रभावमा परी विद्यार्थी अधिकार कुण्ठित गर्न खोज्नु तानाशाही लाद्ने षड्यन्त्र भएको सङ्गठनहरूको आरोप छ।

काठमाडौँ । विद्यार्थी सङ्गठनहरू खारेजी प्रक्रिया अलोकतान्त्रिक र असंवैधानिक भएको संयुक्त विद्यार्थी सङ्गठनले जिकिर गरेको छ । 

मंगलबार संवाद डबलीमा भएको कार्यक्रममा सङ्गठनले स्कुल, कलेजमा प्रहरी पोस्टको तयारीले बालेन सरकारले पतनको बाटो रोजेको बताएका छन् ।

नेपाल विद्यार्थी सङ्घका कार्यवाहक अध्यक्ष नवीन पौडेलले विद्यार्थी सङ्गठनहरूलाई विस्थापन गर्न क्याम्पसहरूमा प्रहरी पोस्टको तयारी अलोकतान्त्रिक र असंवैधानिक भएको बताएका छन् ।

“यदि विश्वविद्यालय र क्याम्पसमा ब्यारिकेट राखिए देशमा गृहयुद्ध निश्चित छ, के यो सरकारसँग त्यसलाई सम्हाल्ने दम छ” पौडेलले भने ।

नेकपा निकट अखिल (क्रान्तिकारी) का अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाले सत्ता र शक्तिको आडमा विद्यार्थी सम्ठनलाई खारेज गर्ने सोच घातक भएको बताए । “जब जब शासकहरूले बन्दुकको दम्भमा युवा–विद्यार्थीहरूलाई कुल्चने प्रयास गरे तब तब उनीहरूको पत्ता साफ भएको इतिहास बालेन सरकारले पढ्न जरुरी छ” सापकोटाले भने ।

लोकतन्त्र र स्वतन्त्रताको लागि हजारौँ युवा विद्यार्थीहरूले रगत बगाएको स्मरण गराउँदै सापकोटाले भने,“तिमीहरूको बन्दुकको धम्कीसँग हामी डराउँदैनौ, हेक्का रहोस् अखिल ९क्रान्तिकारी०ले पनि बन्दुक बोकेर आएको हो ।” “सुशासनको नारा दिएर आएका गृहमन्त्रीले हामीलाई धम्क्याउने हैन राजीनामा दिनुस्, आफ्ना कर्तुत लुकाउन सक्नुहुन्न” सापकोटाले थपे ।

धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष वीरेन्द्र शाहले विद्यार्थी सङ्गठन खारेज गर्न लागि परेको सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियम–कानुन र नेपाली विद्यार्थी आन्दोलनको अध्ययन गर्न सुझाव दिए।

“हामीहरूमाथिको प्रहार भनेको गरिबका छोराछोरीलाई राजनीतिबाट विमुख बनाउने विषय हो, हामी चाहन्नौ ‘नेपो बेबी’ र ‘नेपो किड्स’हरूले भविष्यमा राष्ट्रिय स्वाधीनता लिलाम लाउन्” शाहले थपे ।

एमाले निकट अनेरास्ववियुका सचिव समिम बाबु खानले दुई तिहाइको दम्भमा बालेन सरकार अन्धो हुँदै गएको जिकिर गरेका छन्। खानले हरेक परिवर्तनमा विचारसहितका युवा विद्यार्थीहरूको अहम् भूमिका रहँदै आएको र त्यसलाई बन्ध्याकरण सम्भव नरहेको बरु नसच्चिँदा आफै खरानी भएको जिकिर गरे ।

अखिल (क्रान्तिकारी)का अध्यक्ष महेश श्रेष्ठले विद्यार्थीलगायत वैधानिक संघसंगठनहरुलाई प्रतिबन्ध लगाउने विषय देशमा तानाशाहीता लाद्ने षड्यन्त्र भएको जिकिर गरे ।

विदेशी साम्राज्यवादी र विस्तारवादीहरूबाट सञ्चालितहरूले युवा विद्यार्थीहरुको अधिकारमाथि प्रतिबन्ध लगाउने विषय सामान्य छैन, यिनको पत्ता साफ गर्ने बेला आयो” श्रेष्ठले थपे ।

जनपक्षीय विद्यार्थी सङ्गठनकी अध्यक्ष सुनिता बुढाथोकीले विद्यार्थी सङ्गठनहरूलाई प्रतिबन्ध लगाउने विषयले देशलाई पञ्चायती र राणाकाल अगाडिको अवस्थामा पुर्‍याउने सोच भएको बताइन् ।

वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनका अध्यक्ष हिमांशुले देशका शक्तिका स्रोत युवा र विद्यार्थीहरूको राजनीतिक चेतमाथि बन्ध्याकरण गर्न सङ्गठनहरू खारेजीमा लागेको आरोप लगाए।

विप्लव नेतृत्वको नेकपा (माओवादी) निकट अखिल समाजवादीका सचिव कपिल सिजापतिले बन्दुकको बलमा युवा–विद्यार्थीहरूका आवाज र चेतनालाई दबाउन खोजे उनीहरूको भविष्य समाप्त पार्ने चेतावनी दिए।

अखिल छैटौँका अध्यक्ष सुवास जिसिले बालेन सरकारले क्याम्पस कलेजमा प्रहरी चौकी र ब्यारिकेट राखेर विद्यार्थी तर्साउने कार्य उसको लागि घातक हुने चेतावनी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप