सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

‘ठूला आयोजना निर्माणमा नेपाली कम्पनीलाई अनिवार्य सहभागी गराउने नीति लिनुपर्छ’

शुक्रबार, ११ वैशाख २०८३, ०९ : ३२
शुक्रबार, ११ वैशाख २०८३

सारांश

  • नेपालमा सुरुङमार्ग निर्माण गर्दा रणनीतिक महत्त्व र लागत प्रभावकारितालाई मुख्य प्राथमिकतामा राख्नुपर्छ।
  • ठूला सुरुङ आयोजनाहरूमा विदेशी कम्पनीसँगै नेपाली इन्जिनियर र कम्पनीहरूलाई अनिवार्य सहभागी गराउने नीति आवश्यक छ।
  • पूर्वाधार विकासका लागि सुरुङमार्ग अपरिहार्य रहे पनि त्यसको निर्माणमा प्राविधिक आत्मनिर्भरता र क्षमता विकासमा जोड दिनुपर्छ।

नेपालको पहाडी भू–बनोटमा सडक यातायातलाई सहज, सुरक्षित र छोटो बनाउन सुरुङमार्ग उपयुक्त विकल्प हो । अब नेपालमा सुरुङमार्गको युग सुरु भएको छ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सम्पन्न भई सञ्चालनको अन्तिम तयारीमा रहनु र सिद्धबाबा सुरुङमार्ग निर्माण प्रक्रियामा हुनुले नेपाली पूर्वाधार विकासमा नयाँ आशा जगाएको छ ।

भौगोलिक हिसाबले नेपालमा सुरुङमार्गको आवश्यकता असीमित छ । सुरुङले दूरी मात्र घटाउँदैन, इन्धनको बचत र सडक सुरक्षामा पनि ठूलो योगदान पुर्‍याउँछ, यसकारण नेपालमा धेरैभन्दा धेरै सुरुङमार्गको आवश्यकता छ ।

यद्यपि, सुरुङजस्ता पूर्वाधार निर्माण केवल भावना वा राजनीतिक नाराका आधारमा हुनुहुँदैन । अहिले १५–१६ वटा सुरुङमार्गको अध्ययन भएर थन्किएका छन् । तीमध्ये कतिपय रणनीतिक रूपमा महत्त्वपूर्ण छन् भने कतिपय केवल राजनीतिक फाइदा र नेताहरूको निर्वाचन क्षेत्रलक्षित छन् । तर यस्ता आयोजना निर्माण गर्दा रणनीतिक महत्त्वका मात्र गर्नुपर्छ ।

जहाँ लगानीको तुलनामा प्रतिफल धेरै हुन्छ, त्यहाँ मात्र सुरुङ निर्माण प्राथमिकतामा पर्नुपर्छ । ‘सुरुङ युग’को नारा दिँदैमा सबै ठाउँमा सुरुङ बनाइहाल्नुपर्छ भन्ने छैन । हामीले ‘कस्ट इफिसिएन्सी’ (लागत प्रभावकारिता) लाई बिर्सिनु हुँदैन ।

पहिला चर्चामा रहेको टोखा–छहरे सुरुङमार्गको धेरै आवश्यकता र महत्त्व छ । त्यस्तै बीपी राजमार्ग र काठमाडौँबाट हेटौँडा जोड्ने मार्गहरूमा सुरुङको आवश्यकता बढी देखिन्छ । काठमाडौँ–पोखरा खण्डलाई एक्सप्रेस–वेका रूपमा विकास गर्दा पहाड छेडेर सुरुङ र खोल्साहरूमा ‘भायाडक्ट’ जोड्ने हो भने यसले ढुवानी र यात्रामा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छ, तर यस्ता आयोजना अघि बढाउनुअघि वस्तुपरक सम्भाव्यता अध्ययन र प्राथमिकताको स्पष्ट वर्गीकरण गर्नु अनिवार्य छ ।

विदेशी कम्पनीलाई मात्र काम सुम्पिँदा हाम्रो ठूलो पुँजी बाहिरिइरहेको छ । सुरुङ निर्माण ‘मेसिन इन्टेन्सिभ’ काम हो ।

सुरुङ निर्माणका लागि हाम्रो सबैभन्दा ठूलो चुनौती भनेको प्राविधिक क्षमताको अभाव हो । अहिलेसम्म हामी सुरुङको डिजाइन र निर्माण सुपरभिजनका लागि पूर्ण रूपमा विदेशी परामर्शदाता र ठेकेदारमा निर्भर छौँ । नागढुङ्गाजस्तो ऐतिहासिक आयोजना सम्पन्न हुँदै गर्दा पनि हाम्रा नेपाली इन्जिनियरहरूले यसको जटिल डिजाइन र प्राविधिक पक्षमा कति सिक्न पाए भन्ने प्रश्न अनुत्तरित छ ।

विदेशी कम्पनीलाई मात्र काम सुम्पिँदा हाम्रो ठूलो पुँजी बाहिरिइरहेको छ । सुरुङ निर्माण ‘मेसिन इन्टेन्सिभ’ काम हो । यसमा शारीरिक श्रम गर्ने कामदारभन्दा बढी मेसिन र उच्च दक्ष प्राविधिकको आवश्यकता पर्छ । दक्ष जनशक्ति र आधुनिक मेसिनरी सबै विदेशबाटै ल्याउनुपर्ने हालको अवस्थाले गर्दा आयोजनाको लगानीको ठूलो हिस्सा देशबाहिर पलायन भइरहेको छ । हामीले आफ्नै जनशक्ति विकास गर्न सकेनौँ भने हामी सधैँ विदेशीकै भर पर्नुपर्नेछ र लागत पनि निकै महँगो परिरहनेछ । त्यसैले, अब बन्ने सुरुङलगायत ठूला आयोजनाहरूमा विदेशी कम्पनीसँगै नेपाली कम्पनी र इन्जिनियरहरूलाई अनिवार्य सहभागी गराउने नीति लिनुपर्छ । एउटा आयोजनामा विदेशीसँग सिकेपछि अर्कोमा हामी आफैँ सक्षम हुने गरी ‘क्यापासिटी बिल्डिङ’मा ध्यान दिनुपर्छ ।

हामीले अबको सुरुङ निर्माणमा विदेशी कम्पनीसँगै नेपाली इन्जिनियर र कम्पनीहरूलाई अनिवार्य सहभागी गराउने नीति लिनुपर्छ । एउटा आयोजनामा विदेशीसँग संयुक्त रूपमा काम गरेपछि अर्को आयोजना आफैँ बनाउन सक्ने गरी क्षमता अभिवृद्धि हुने भएकाले यो अनिवार्य व्यवस्था गरिनुपर्छ । नेपाली विश्वविद्यालयहरूमा टनेल इन्जिनियरिङको पढाइ सुरु भइसकेको छ । यो सकारात्मक भए पनि यसलाई कार्यथलोको अभ्याससँग जोड्न सकिएको छैन । जबसम्म हाम्रा इन्जिनियरहरूले डिजाइन र सुपरभिजनको वास्तविक काममा सहभागी हुन पाउँदैनन्, तबसम्म कोरा किताबी ज्ञानले मात्र हामी आत्मनिर्भर बन्न सक्दैनौँ ।

सुरुङमार्ग निर्माण निकै खर्चिलो पूर्वाधार हो । नेपालको आफ्नै आन्तरिक स्रोतले मात्र दर्जनौँ सुरुङ बनाउन सम्भव छैन । त्यसका लागि हामीले वैदेशिक ऋण वा सहायता लिनैपर्ने हुन्छ । तर, ऋण लिँदा त्यो ऋण तिर्ने क्षमता र आयोजनाले दिने प्रतिफलको मसिनो विश्लेषण गरिनुपर्छ । बिनाकुनै गम्भीर अध्ययन, केवल राजनीतिक दबाबका भरमा सुरुङ बनाउँदा त्यसले मुलुकलाई आर्थिक ऋणको पासोमा मात्र पार्ने जोखिम रहन्छ । प्रतिफल नदिने ठाउँमा सुरुङ बनाउनुभन्दा बरु अन्य वैकल्पिक मार्ग वा प्रविधिको खोजी गर्नु बुद्धिमानी हुन्छ ।

हामीलाई सुरुङमार्ग चाहिन्छ, तर त्यो सोचविचारपूर्ण लगानी, रणनीतिक छनोट र आफ्नै जनशक्तिद्वारा निर्माण गरिएको हुनुपर्छ ।

सुरुङ निर्माणमा पूर्वसम्भाव्यता, सम्भाव्यता र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गरी तीन प्रमुख चरणका अध्ययनहरू हुन्छन् । नेपालमा पहिलो र दोस्रो चरणको सामान्य अध्ययन गर्ने क्षमता विकास भए पनि डीपीआर र जटिल ड्रिलिङ विश्लेषणमा हामी अझै कमजोर छौँ । जटिल भौगर्भिक विश्लेषण र विस्तृत डीपीआर तयार पार्ने सन्दर्भमा हामी अझै विदेशीकै भरमा छौँ । भूगर्भीय ड्रिलिङ र त्यहाँको चट्टानी अवस्थाको गहिरो अध्ययनबिना सुरुङ खन्नु जोखिमपूर्ण हुन्छ । त्यसैले अध्ययनको गुणस्तरमा कुनै सम्झौता गरिनु हुँदैन ।

सुरुङमार्ग नेपालको पूर्वाधार विकासको अपरिहार्य भविष्य हो । तर, हामीले ‘सुरुङ युग’को नाममा केवल हल्ला र महत्त्वाकांक्षा मात्र बाँड्नु हुँदैन । सुरुङ निर्माणको यात्रामा निस्कँदा हामीले आफ्नो प्राविधिक क्षमता विकासलाई पहिलो सर्त बनाउनुपर्छ । विदेशीको भर परेर बनाइने पूर्वाधारले भौतिक संरचना त देला, तर सीप र आत्मनिर्भरता दिँदैन ।

हामीलाई सुरुङमार्ग चाहिन्छ, तर त्यो सोचविचारपूर्ण लगानी, रणनीतिक छनोट र आफ्नै जनशक्तिद्वारा निर्माण गरिएको हुनुपर्छ । हतारमा लोकप्रियताका लागि सुरुङको सपना बाँड्नुभन्दा धैर्यताका साथ क्षमता निर्माण गर्दै अघि बढ्नु नै नेपालको दीर्घकालीन समृद्धिका लागि उपयुक्त मार्ग हुनेछ । राज्यले अबको लगानी भौतिक संरचनामा मात्र होइन, मानव संसाधन विकासमा पनि उत्तिकै केन्द्रित गर्नुपर्छ । अनि मात्र हामीले गर्वका साथ भन्न सक्नेछौँ कि नेपाल साँच्चै नै आत्मनिर्भर सुरुङ युगमा प्रवेश गरेको छ ।

(श्रीराम ढकाल पूर्वाधार विज्ञ हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्रीराम ढकाल
श्रीराम ढकाल
लेखकबाट थप