सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

बयान फेर्ने सरकारी साक्षी भण्डारीविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

बिहीबार, १७ वैशाख २०८३, २० : २६
बिहीबार, १७ वैशाख २०८३

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रूपमा रहेकी दुर्गा भण्डारी (थापा) विरुद्ध विशेष अदालतमा बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

सुरुमा अनुसन्धानमा सहयोग गर्ने शर्तमा सजायमा पूर्ण छुट पाई सरकारी साक्षी बनेकी भण्डारीले अदालतमा पुगेर आफ्नो पूर्ववत् बयान बदलेपछि आयोगले उनैलाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरेको हो ।

सर्लाहीको बलरा नगरपालिकाद्वारा सञ्चालित ‘किशोरीहरूका लागि खेलौना बनाउने तालिम’ मा मुख्य प्रशिक्षक रहेकी भण्डारीले ३० दिनको कार्यक्रममा ५ दिन मात्र प्रशिक्षण दिएर ३० दिनकै झुटो कागजात तयार गरी भुक्तानी लिएको अनुसन्धानबाट खुलेको अख्तियारको भनाइ छ । 

सरकारी साक्षीका रूपमा पेस गरिएकी उनले वैशाख २ गते अदालतमा बकपत्र गर्दा सत्य कुरा लुकाएर आरोपितको पक्षमा बयान दिएकी थिइन् ।

सार्वजनिक संस्थालाई हानि पुर्‍याई ३ लाख ८२ हजार ५३ रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएपछि आयोगले उनीसँग सोही बराबरको बिगो र कैद सजाय मागदाबी गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप