मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

छाया सेन्टर विवाद: गुठीको जग्गा मिलापत्रमा व्यक्तिको नाममा कायम गर्न मिल्छ ?

बिहीबार, २४ वैशाख २०८३, ११ : ०५
बिहीबार, २४ वैशाख २०८३

सारांश

  • काठमाडौँको ठमेलस्थित कमलपोखरी मासेर छाया सेन्टर निर्माण भएको विवाद सर्वोच्च अदालतसम्म पुगेको छ ।
  • गुठीको जग्गा जोतभोग नगरी मोहियानी हक कायम गरेर व्यक्तिको नाममा दर्ता गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न उठेको हो ।
  • गुठी संस्थानले कर्मचारीलाई कारबाही गरी जग्गा गुठीलाई फिर्ता गराउने निर्णय गरेको थियो ।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । काठमाडौँको ठमेलस्थित कमलपोखरी मासेर छाया सेन्टर निर्माण भएको सम्बन्धी विवाद पछिल्लो समय पेचिलो बन्दै गएको छ । भगवान् गुठी अर्थात् राज गुठी मातहत रहेको कमलपोखरीसहितको जग्गा व्यक्तिको नाममा दर्ता भई किनबेच भएपछि सो विवाद सर्वोच्च अदालतसम्म पुगेको हो ।

बैंकर पृथ्वीबहादुर पाण्डेले ठमेल भगवान् बहाल अगाडि रहेको कमलपोखरी मासेर आफ्नी आमा छायादेवी पाण्डेका नाममा व्यापारिक कम्प्लेक्स बनाएपछि २०७१ सालमा अधिवक्ता दीपकविक्रम मिश्र, रामहरि श्रेष्ठलगायतका १५ थान मुद्दा सर्वोच्चमा परेको थियो । उनीहरूले छाया सेन्टर भत्काउन माग गरेका थिए ।

यो विवाद विगत लामो समयदेखि सर्वोच्च अदालतमा घुमिरहेको छ । संयुक्त इजलासले यो विवादको निरूपण गर्न नसकेपछि गुठी संस्थान मातहतमा रहेको जग्गा जोतभोग नगरी मोहियानी हक कायम गरेर व्यक्तिको नाममा दर्ता गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न उठेको हो ।

गुठीको जग्गामा मिलापत्र गरेको देखिएपछि त्यस्तो जग्गा मिलापत्र गराउन मिल्ने कि नमिल्ने भनी सर्वोच्चको पूर्ण इजलासले व्याख्या गर्नुपर्नेछ । कुनै पनि संस्थान वा गुठीको जग्गा व्यक्तिको नाममा हुने गरी अदालतको रोहबरमा मिलापत्र गराउन मिल्छ कि मिल्दैन भन्ने विषयमा सर्वोच्च अदालतले व्याख्या गर्नुपर्नेछ ।

छाया सेन्टर बन्नुभन्दा अघि २०३३ कात्तिक १६ मा सर्भे नापी भई खडा भएको फिल्डबुकमा साबिक काठमाडौँ महानगरपालिका–२९ स्थित कित्ता नम्बर १६७ को क्षेत्रफल १२.१३.२.२ र कित्ता नम्बर १०४० को क्षेत्रफल ९ आना २ पैसा ३ दामको फिल्डबुकमा जोताह महल खाली र जग्गाधनीको महलमा क्रमशः पोखरी र चोक जनिएको पाइन्छ ।

यसअघि मालपोत कार्यालय काठमाडौँले ठमेलस्थित कमलपोखरीको ऐतिहासिक जग्गा अतिक्रमण भएको कि.नं. १६७ को फिल्डबुक विवरणमा पोखरी भए पनि स्रेस्ताको किसिममा सिम प्रकृतिको जग्गा भएको जबाफ सर्वोच्चमा पठाइसकेको छ ।

२०३३ कात्तिक ४ मा जारी भएको गुठी संस्थान ऐन, २०३३ को दफा २७ को प्रतिबन्धात्मक वाक्यांश (ख)ले यस प्रकृतिको गुठी जग्गामा कसैले मोहियानी हक नपाउने स्पष्ट व्यवस्था रहेको परिप्रेक्ष्यमा विवादित कित्ता नं १६७ र १०४० को पोखरी र पोखरीको डिल जनिएको जग्गामा प्रतिवादी अम्बिका राणा पति केयुरशमशेर जबराले मोही हक कमाइ खान पाउने हक सिर्जना हुने गरी २०३३ पुस ३ मा यसै अदालतसमक्ष मिलापत्र भएको देखिन आएकामा सो मिलापत्रको हक सिर्जना हुने वा नहुने, मिलापत्रको कानुनी हैसियत के हुने भन्ने प्रश्न यसअघि सर्वोच्च अदालतको संयुक्त इजलासले उठाइसकेको छ ।

यसअघि मालपोत कार्यालय काठमाडौँले ठमेलस्थित कमलपोखरीको ऐतिहासिक जग्गा अतिक्रमण भएको कि.नं. १६७ को फिल्डबुक विवरणमा पोखरी भए पनि स्रेस्ताको किसिममा सिम प्रकृतिको जग्गा भएको जबाफ सर्वोच्चमा पठाइसकेको छ । यो गुठी तैनाथी जग्गा भएकाले संस्थानको पूर्ण अधिकार रहन्छ । यस्तो जग्गामा साधारणतया मोही हक लाग्दैन । यद्यपि, संस्थानले आफैँ खेती गर्न वा कसैलाई ठेक्कामा दिन सक्छ, तर त्यस्तो व्यक्तिले स्थायी मोही हक नपाउने व्यवस्था छ ।

image1 (8)

  • व्यक्तिको नाममा दर्ता कायम गर्दा गुठी संस्थानले गरेको थियो कर्मचारीलाई कारबाही

कित्ता नम्बर १६७ र १०४० को पोखरी जनिएको जग्गालाई गुठी संस्थानको ऐन विपरीत मिलापत्रका नाममा व्यक्तिको नाममा कायम हुने भनी सही छाप गर्दा गुठी संस्थानले कर्मचारीलाई कारबाही गरेको थियो । अम्बिका राणाले २०४७ माघ १८ मा कित्ता नं. १६७ को जग्गा आफू र आफ्ना दाजु शंकरप्रसाद शाहको नाममा गुठी रैतानी (व्यक्तिगत नाममा) दर्ता गर्दा विरोध भएको थियो । गुठी संस्थानले भुलवश आफ्ना कर्मचारीका कारण सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता हुन गएको भन्दै दुई महिना नबित्दै (२०४७ चैत १५) मा त्यसरी दर्तामा संलग्न श्री सिंहसार्थ बाहु गरुड भगवान् गुठीका गुठियार र सम्बन्धित कर्मचारीलाई विभागीय कारबाही गर्ने तथा जग्गा गुठीलाई नै फिर्ता गराउने निर्णय गर्‍यो । राणा र शाहलाई पैसा फिर्ता लिन बोलाइयो । सो निर्णय खारेज गर्न राणा र शाहले गुठी संस्थानविरुद्ध अदालतमा मुद्दा दर्ता गराएका थिए ।

गुठीको कार्यसमितिका अध्यक्ष हिरण्यश्वरमानका छोरा सुरेन्द्रमान प्रधानसमेतले सार्वजनिक पोखरी र पोखरीको डिलसमेतलाई व्यक्तिका नाममा रहेको छाया कम्प्लेक्स प्रालि कम्पनीको नाममा हक हस्तान्तरण गर्न सहमतिपत्र दिएका हुँदा उनीहरूलाई थुनामा राखी कारबाही गरी कि.नं. साबिक १६७ को हाल कायम २४१२, २४१३, १६१७, २०१९, १०४० समेतका कित्ताहरू सार्वजनिक गरी सो जग्गामा बनाइएका संरचनाहरू भत्काउनुपर्ने स्थानीयको माग छ ।

थहवी विक्रमशील महाविहार राजगुठीको संरक्षणमा रहेको कमलपोखरी, डिल र चोकसमेत २६ रोपनी ८ आना क्षेत्रफलका नाइके हिरण्यश्वरमान प्रधानसमेतले २०३३ साल र २०६२ सालमा गुठी संस्थानको ऐन विपरीत मिलापत्र गरी व्यक्तिको नाममा दर्ता गर्न सहीछाप गरिदिएका थिए ।

सर्वोच्च अदालतले मागेको जबाफमा मालपोत कार्यालयले पठाएको पत्रानुसार साबिक नगर २९ कि. नं. १६७ क्षेत्रफलको १२ रोपनी १३ आना ३ पैसा २ दाम, कित्ता नम्बर १०४० को क्षेत्रफलको ९ आना २ पैसा ३ दामका सम्बन्धमा कार्यालयको अभिलेखबमोजिम नापनक्सा अवस्थाकै सुरु कित्ता भएको भनी पत्र पठाएको छ । गुठी लगत तथा तहविल कार्यालय भद्रकालीको पत्र सङ्ख्या ०३८–०३९ च.नं. २४३३ अनुसार २१ जेठ २०३९ को पत्रानुसार दर्ता भएको उल्लेख छ ।

२०४० असार ६ मा गुठीको पत्र र नापी कार्यालयको २०४१ साउन १५ को पत्रानुसार १६७ कित्ता काट भई कि.नं. १६१६ को क्षेत्रफल ६ रोपनी सुधा पौडेल, कि. नं. १६१७ को क्षेत्रफल २ रोपनी १० आना बिणा पौडेल र कि. नं. १६१८ को क्षेत्रफल ९ रोपनी १३ आना २ पैसा २ दाम केयुर शमशेरकामा बाँकी देखिन्छ भनी सर्वोच्चलाई पत्र पठाएको छ ।

२०४४ सालमा ठमेल वडा नं. २९ को ५७.१४.३.२ रोपनी क्षेत्रफलमा फैलिएको सार्वजनिक जग्गा तत्कालीन श्री ५ को सरकारले आफ्नो नाममा दर्ता गर्‍यो । त्यसरी दर्ता गरिएको कमलपोखरीको कित्ता नं. १६७ को १२.१३.२.२ रोपनी जग्गाको विवरणमा आवादीमा पर्ती पोखरी र घरजग्गाको महलमा पोखरी कायम गरिएको छ । जग्गाधनीको नाममा श्री ५ को सरकार लेखिएको छ । मोहीको महलमा पोखरी नै उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निराजन पौडेल
निराजन पौडेल
लेखकबाट थप