गुलाम अलीका तीन पुस्तालाई एउटै गीतमा उनेका अन्तर्राष्ट्रिय विकास विज्ञ
सारांश
- अन्तर्राष्ट्रिय विकास विज्ञ मनोज खड्काले पाकिस्तानी गजल सम्राट गुलाम अली र उनका छोरा-नातिलाई एउटै नेपाली गीतमा समेटेका छन्।
- भोजपुरको दुर्गम गाउँबाट अमेरिकाको वरिष्ठ सल्लाहकारसम्मको यात्रा गरेका खड्काको २५ वर्षभन्दा बढीको अनुभव छ।
- खड्काले आफ्नो पेसागत जीवनका अनुभवसँगै साहित्य सिर्जना र संगीतका क्षेत्रमा पनि सक्रिय रहेको बताएका छन्।
काठमाडौँ । भनिन्छ, ‘व्यक्तिको भविष्य कस्तो हुन्छ भन्नेमा ऊ जन्मिएको भूगोल, परिवेश र परिवारको आर्थिक-सामाजिक स्थितिले ९० प्रतिशत भूमिका खेल्छ ।’ यो कुरामा सत्यता पनि छ । तर आफूले देखेको सपना, त्यसलाई पछ्याउन गरिने संघर्ष र त्यस यात्राका क्रममा आउने अवसरको सही सदुपयोगले असहजताबिच पनि सहज र सुखद् भविष्यको रेखा कोर्न सकिन्छ ।
यस्तैमध्येका एक हुन् मनोज खड्का । पूर्वी पहाडी जिल्ला भोजपुरको दुर्गम गाउँ सानो दुम्मा (हालको पौवादुम्मा गाउँपालिका)मा जन्मिएका खड्का अमेरिकी सरकारी नियोगको उपल्लो तह अर्थात् वरिष्ठ सल्लाहकार समेत बन्न सफल भए । अन्तर्राष्ट्रिय मानवीय सहायता तथा विकास विज्ञको परिचय बनाएका खड्काले अमेरिकी सरकारका विभिन्न नियोग, परियोजना र अन्य अन्तर्राष्ट्रिय मानवीय सहायता तथा विकास परियोजनाहरूमा उपल्लो तहसम्म पुगेर काम गर्ने अवसर पाए । यसको पछाडिको कारण सपना, संघर्ष र अवसरको सही सदुपयोग नै हो । कक्षा चारमा पुगेपछि मात्र एबीसीडी सिक्न पाइने सरकारी विद्यालयमा पढेका खड्काको यहाँसम्मको यात्रा निकै प्रेरणादायी लाग्छ ।
वित्त व्यवस्थापन, ग्रामीण विकास र परियोजना व्यवस्थापनमा स्नातकोत्तर गरेका खड्का अहिले विद्यावारिधि गरिरहेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध, विकास तथा मानवीय सहायताको क्षेत्रमा उनको २५ वर्षभन्दा लामो अनुभव छ । अमेरिकी सरकारको अन्तर्राष्ट्रिय विकास नियोग, विश्व बैंक, अमेरिकन रेडक्रस, सार्क, डीएफआईडी, जीआईजेड, प्लान इन्टरनेसनल संस्थामा आवद्ध रहेर उनले विभिन्न द्वन्द्वग्रस्त मुलुकमा पुगेर विकास तथा मानवीय सहायताका साथै र त्यहाँका मानिसको जीवनमा सकारात्मक ऊर्जा भर्ने काम गरे । अहिले पनि विभिन्न अन्तर्राष्ट्रिय परियोजनाहरूमा आफ्नो विज्ञताको सञ्चार गरिरहेका छन् ।

पेसागत पाटो त छँदैछ, फुर्सदको समयमा खड्का साहित्य सिर्जना समेत गर्छन् । खासगरी गीत र कविता लेखनमा उनको औधी लगाव छ, यो उनको ‘प्यासन’ हो । उनले १०० हाराहारीमा गीत रेकर्ड गरिसकेका छन् । कति सार्वजनिक छन् त कति निर्माणकै क्रममा । उनले रचना गरेको एउटा गीतले इतिहास समेत बनाएको छ । सुप्रसिद्ध पाकिस्तानी गायक उस्ताद गुलाम अली र उनका तीन पुस्ता (छोरा र नाति)लाई आफूले रचना गरेको एउटै गीतमा स्वर भराएका छन् । ‘गजल उनकै, गीत उनकै’ गुलाम अलीको तीन पुस्ताको कुनै पनि भाषाको पहिलो गीत बनेको छ । रामकृष्ण ढकाल, राजेशपायल राई, प्रमोद खरेल, इन्दिरा जोशी, मेनुका पौडेल जस्ता देशका प्रसिद्ध गायक-गायिकाको स्वर उनले रचना गरेका गीतमा गुन्जिएका छन् ।
रातोपाटी पडकास्ट ‘टक फर्वार्ड’मा उनले आफ्नो पेसा भन्दा ‘प्यासन’बाट कुराकानी सुरू गर्न चाहे । ‘प्यासन’ अर्थात् गीत र कविता लेखनको विषय । हालै मात्र राष्ट्रपति रामचन्द्र पौडेलबाट गीतकारतर्फ ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार’बाट सम्मानित भएका उनी अन्तर्वार्ताका क्रममा कतै राम्रैसँग खुले भने कतिपय विषयमा जिम्मेवार र निकै संयमित पनि देखिए ।
खड्कालाई सुरूमै सोधियो- सुप्रसिद्ध पाकिस्तानी गजल सम्राट उस्ताद गुलाम अलीका तीन पुस्तालाई एउटै नेपाली गीतमा समेट्ने काम कसरी सम्भव भयो ?
निकै उत्साहित शैलीमा उनले जवाफ दिए, ‘यो मेरा लागि अहोभाग्यको कुरा हो । गुलाम अली खान, उहाँका छोरा अमिर गुलाम अली र नाति नाजिर गुलाम अलीलाई एउटै गीतमा समेट्नु मेरो गीति लेखन यात्राकै ठुलो पुरस्कार हो ।‘ उनले यो सम्भव हुनुको कथा सविस्तार बताए । गीत सिर्जना भएको देश अमेरिकादेखि तयार भएको सहर काठमाडौँ र रेकर्डिङ भएको गुलाम अलीको सहर लाहोरसम्मको कथा लामै छ ।
सानैदेखि साहित्य सिर्जनामा रुचि थियो खड्काको । त्यसैले स्कुल, कलेजमा हुने कविता लेखन र वाचन कार्यक्रमहरूमा उनी सहभागिता जनाइरहन्थे । मनोज खड्का गीतकारहरूको भिडमा अलि भिन्न लाग्छन् । अधिकांश गीतहरू मायाप्रेमको भावमा हुन्छन्, ती गीत हिट पनि भइरहेका छन् । तर खड्का गाउँघर, परदेशीका कथा, राष्ट्रियता र जीवनमा ऊर्जा भर्ने गीत रचना गर्छन् । किन त ?
‘मेरो लागि गीति लेखन प्राथमिक पेसा होइन । यसबाट मलाई न प्रसिद्धि कमाउनु छ, न पैसा,’ उनी भन्छन्, ‘मेरो मुख्य मोटिभेसन भनेकै मेरो सिर्जनाले मलाई दिने आत्मसन्तुष्टि हो । अहिले सोसल मिडियाको एल्गोरिदम मिलाएर भाइरल हुने होडबाजी चलेको छ, तर मेरो सिद्धान्तमा त्यो मेल खाँदैन ।‘
गुलाम अलीको स्वरमा रेकर्ड गराएको गजल ‘गजल उनकै, गीत उनकै’ प्रेम भावको भएपनि ‘गाउँघरले सोध्यो परदेशीलाई’, ‘तेजस्वी अप्सरा’, ‘तिमी जे बन, उदाहरण बन’ जस्ता गीतले राष्ट्रियता, संघर्ष र सकारात्मक ऊर्जाको कुरा गर्छन् ।
‘म आफैँ परदेशमा बस्ने भएकाले होला, नेपालप्रतिको आत्मीयता र फर्केर आउने हुटहुटी गीतमा झल्किन्छ,’ खड्का सुनाउँछन्, ‘‘तिमी जे बन उदाहरण बन’' जस्ता गीत बालबालिका र अभिभावकलाई लक्षित गरेर लेखिएका हुन् । हामीकहाँ बच्चालाई डाक्टर वा इन्जिनियर नै हुनुपर्छ भनेर थोपर्ने चलन छ । तर मैले चाहिँ 'तिमी जे बन्छौ, त्यसमा उत्कृष्ट र एउटा उदाहरण बन' भन्ने सन्देश दिन खोजेको हुँ । मलाई सुन्ने मान्छेले 'ओहो, यस्तो गीत पो गीत' भनिदिए पुग्छ ।‘’
गीत-संगीतका कुरा राम्रैसँग गरिसकेपछि उनले आफ्नो पेसागत पाटो खोतले । आफूले विभिन्न देश र ठाउँमा यात्राका क्रममा देखेका, भोगेका कुराहरू बाँडे, नेपाली समाज र अमेरिकी समाजको फरकपन प्रस्तुत गरे, विदेशमा हुर्किरहेको नेपाली पुस्ताको कुरा गरे । अनि विकास तथा मानवीय सहायताको क्षेत्रमा रहेका भ्रम र यथार्थको पनि चर्चा गरे ।
उनलाई सोधियो- वैदेशिक सहायताका परियोजनाहरू कसरी छनोट हुन्छन् ? धेरैले यसलाई 'डोनर ड्रिभन' (दाताले थोपर्ने) भन्छन् । तपाईँले भित्रै बसेर हेर्दा के पाउनुभयो ?
‘यो निकै गहन प्रश्न हो । आदर्श रूपमा भन्दा परियोजना छनोट लिने देशको प्राथमिकतामा आधारित हुनुपर्छ । जस्तै, नेपालको राष्ट्रिय हित केमा छ र जनताको आवश्यकता के हो भन्ने कुरा नेपाल सरकारले नै निर्धारण गर्ने हो,’ उनी भन्छन्, ‘जस्तै, स्वास्थ्य, शिक्षा वा पूर्वाधारमध्ये कुन क्षेत्र प्राथमिक हो भन्ने कुरा सरकारले प्रपोज गर्छ । त्यसपछि दाताको बजेट र सर्तहरूमा नेगोसिएसन (वार्ता) हुन्छ ।‘ कहिलेकाहीँ 'को–क्रिएसन' का नाममा दाताले आफ्ना विज्ञहरू पठाएर आवश्यकता पहिचान गर्न सक्ने उनी बताउँछन् । तर अन्तिम निर्णय सहयोग ग्रहण गर्ने देशकै हुने गर्छ ।
उनलाई एमसीसीको बारेमा पनि सोधियो- नेपालमा एमसीसीको विषयमा निकै ठुलो राजनीतिक कित्ताकाट छ, एउटा पक्ष समर्थनमा छ, एउटा पक्ष तीव्र विरोधमा । तपाईँको बुझाइमा यसमा समस्या कहाँ थियो ?
‘एमसीसी एउटा विशुद्ध सहायता टुल हो । धेरै देशमा यसको पाँचवर्षे निश्चित समयावधि हुन्छ,’ उनी भन्छन्, ‘नेपालले आफैँले आफ्नो आवश्यकता (जस्तै, प्रसारण लाइन र सडक) पहिचान गरेर यो सहायता मागेको हो ।‘

उनी अगाडि भन्छन्, ‘नेपालमा यसको विरोध हुनुमा म दुईवटा कारण देख्छु । पहिलो, राजनीतिक नेतृत्वले यसबारे जनतालाई समयमै पारदर्शी रूपमा बुझाउन सकेन । दोस्रो, हाम्रो समाजमा 'नेगेटिभिटी बायस' (नकारात्मकताप्रतिको झुकाव) बढी छ । सकारात्मक समाचारभन्दा नकारात्मक हल्लाहरू चाँडो भाइरल हुन्छन् । एमसीसी ऋण होइन, अनुदान हो । पाँच वर्षमा काम सकिएपछि यो परियोजना बन्द हुन्छ । अहिले कार्यान्वयनको चरणमा गइसकेको अवस्थामा यसको पारदर्शिता र गुणस्तरमा मात्र ध्यान दिनु उपयुक्त हुन्छ ।‘
उनले अमेरिकाको नेपाली जीवनबारे पनि कुरा गरे । त्यहाँ रहेका नेपालीहरू भौतिक रूपमा खुसी भएपनि भावनात्मक रूपमा खुसी नरहेको उनको अनुभव छ । ‘सुख र खुसी फरक कुरा हुन् । भौतिक सुविधा (गाडी, घर, स्वास्थ्य, शिक्षा) को हिसाबले हेर्ने हो भने ९९ प्रतिशत नेपालीहरू त्यहाँ सुखी छन् । तर खुसी भन्ने कुरा अलि आध्यात्मिक र भावनात्मक हुन्छ,’ उनी भन्छन्, ‘म के देख्छु भने पहिलो पुस्ताका नेपालीहरू भावनात्मक रूपमा नेपालसँगै जोडिएका छन् । उनीहरू 'कतिबेला नेपाल फर्कौँ' भन्ने सोचमा हुन्छन् ।‘

तर दोस्रो पुस्ता (त्यहीँ जन्मे–हुर्केका) मा भने नेपालसँग त्यो लेभलको कनेक्सन नरहेको उनको बुझाइ छ । ‘उनीहरूको भाषा, सोच र संस्कार अमेरिकी छ । तैपनि अचेल अमेरिकी विद्यालयहरूमा 'नेप्लिज स्टुडेन्ट्स एसोसिएसन' जस्ता समूहहरू बन्न थालेका छन्, जसले नयाँ पुस्तामा आफ्नो पहिचान (आइडेंटिटी) खोज्ने भोक जगाएको छ,’ उनी भन्छन् । उनले आफ्नो योजना पनि सुनाए- ‘अबको दुई–तीन वर्षमा म पूर्णरूपमा नेपाल फर्किने योजनामा छु । मेरा छोरीहरूलाई पनि मैले मानसिक रूपमा तयार पारिसकेको छु ।‘
कुराकानीको बिट मार्दै गर्दा उनले आफ्नो व्यावसायिक जीवनमा सिकेको अनुभवबाट एउटा निकै गहकिलो कुरा सेयर गरे- ‘जीवनमा परिवर्तन अपरिहार्य छ । म एउटै संस्थामा दुई–तीन वर्षभन्दा बढी बस्दिनँ । किनभने एउटै काम गरिरहँदा सिर्जनशीलता मर्छ । नयाँ ठाउँमा जाँदा सुरूका ६ महिना सिक्न र एडप्ट गर्न गाह्रो हुन्छ, तर त्यही सङ्घर्षले मान्छेलाई निखार्छ । त्यसैले जोखिम लिन डराउनु हुँदैन ।‘
भिडियो अन्तर्वार्ता
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण