मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

लुम्बिनीमा ओशो तपोवनको नयाँ केन्द्र: अध्यात्म र वेलनेस पर्यटनमा नयाँ आयाम

बुधबार, ३० वैशाख २०८३, ०७ : ४५
बुधबार, ३० वैशाख २०८३

सारांश

  • विश्वशान्तिको केन्द्र लुम्बिनीमा ओशो तपोवनको नयाँ ध्यान केन्द्र तथा सुविधा सम्पन्न हलको विशेष कार्यक्रमका साथ उद्घाटन गरिएको छ।
  • ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले ४० वर्ष पुरानो सपना साकार भएकोमा खुसी व्यक्त गर्दै लुम्बिनीलाई विश्वकै उत्कृष्ट ध्यान केन्द्र बनाउनुपर्नेमा जोड दिए।
  • सरकारले सन् २०२७ लाई 'वेलनेस वर्ष' को रूपमा मनाउने तयारी गरिरहेको र यसका लागि ओशो तपोवन जस्ता आध्यात्मिक केन्द्रहरूको ठूलो योगदान रहने विश्वास व्यक्त गरिएको छ।

काठमाडौँ ।  विश्वशान्तिको केन्द्र लुम्बिनीमा ओशो तपोवनको नयाँ ध्यान केन्द्र तथा सुविधा सम्पन्न हलको विशेष कार्यक्रमका साथ उद्घाटन गरिएको छ। 

ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा नेपाल सरकारका उच्च पदाधिकारीहरूले समेत सहभागिता जनाएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी आनन्द अरुणले लुम्बिनीमा आफ्नो ४० वर्ष पुरानो सपना साकार भएकोमा भावुक हुँदै खुसी व्यक्त गरे। उनले ४० वर्षअघिको लुम्बिनीको विकट अवस्था र जंगलको स्मरण गर्दै, कसरी बुद्धको जन्मभूमिले उनलाई सधैं आध्यात्मिक रूपमा आकर्षित गर्‍यो भन्ने रोचक संस्मरण सुनाए। उनले ओशोको दर्शन र बुद्धको शिक्षालाई जोड्दै लुम्बिनीलाई विश्वकै उत्कृष्ट ध्यान केन्द्र बनाउनुपर्नेमा जोड दिए।

यस अवसरमा प्रतिनिधि सभाका उपसभामुख डोल प्रसाद अर्यालले स्वामी आनन्द अरुणको आध्यात्मिक र सामाजिक योगदानको प्रशंसा गरे। उनले समाजमा सकारात्मक परिवर्तन ल्याउन र नागरिकको मानसिक स्वास्थ्य सुधार्न ओशो तपोवन जस्ता संस्थाहरूले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए।

त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्का राज पौडेल (गणेश) ले नेपाललाई 'वेलनेस पर्यटन' को विश्वव्यापी केन्द्र बनाउने सरकारी योजना रहेको जानकारी दिए। मन्त्री पौडेलले सन् २०२७ लाई 'वेलनेस वर्ष' को रूपमा मनाउने तयारी भइरहेको र आगामी १० वर्षमा एक करोड पर्यटक भित्र्याउने लक्ष्य प्राप्त गर्न आध्यात्मिक केन्द्रहरूको ठूलो योगदान रहने विश्वास व्यक्त गरे।

विभिन्न देशका अनुयायीहरू र विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको उक्त कार्यक्रमले लुम्बिनीको पर्यटकीय र आध्यात्मिक गरिमालाई थप उचाइमा पुर्‍याएको सहभागीहरूले बताएका छन्। ओशो तपोवनको यो नयाँ प्रयासले लुम्बिनी भ्रमणमा आउने पर्यटकहरूलाई ध्यान र शान्तिको नयाँ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप