डिजेल र पेट्रोलको खपतमा गिरावट, हवाई इन्धनको माग बढ्यो
सारांश
- नेपालमा वैशाख महिनामा अधिकांश पेट्रोलियम पदार्थको खपत घटेको छ, जसमा डिजेलको खपतमा सबैभन्दा ठूलो गिरावट आएको छ ।
- सरकारले सार्वजनिक बिदा थप गर्ने निर्णय र निर्माण क्षेत्रमा आएको सुस्तताले डिजेल र पेट्रोलको खपतमा कमी ल्याएको छ ।
- अन्य इन्धनको खपत घट्दा हवाई इन्धनको भने खपत बढेको छ ।
विराटनगर । चैत महिनाको तुलनामा वैशाख महिनामा नेपालमा अधिकांश पेट्रोलियम पदार्थको खपत घटेको तथ्याङ्कले देखाएको छ ।
पश्चिम एसियामा देखिएको तनावसँगै पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएपछि सरकारले खपत घटाउनका लागि गएको चैत २१ गतेदेखि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णयको प्रभाव र निर्माण क्षेत्रमा देखिएको सुस्तताका कारण पेट्रोलियम पदार्थको खपतमा कमी आएको हो ।
पछिल्लो रिपोर्टअनुसार पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको खपतमा कमी आएको छ भने हवाई इन्धनको खपतमा भने केही वृद्धि भएको छ । तथ्याङ्कअनुसार सबैभन्दा ठुलो गिरावट डिजेलको खपतमा देखिएको छ । चैत महिनामा १ लाख ४० हजार २९ किलोलिटर डिजेल खपत भएकोमा वैशाख महिनामा घटेर १ लाख २ हजार ७१ किलोलिटरमा सीमित भएको छ । यो करिब ३७ हजार किलोलिटरको गिरावट हो ।
त्यसैगरी, पेट्रोलको खपतमा पनि सामान्य कमी आएको छ । चैतमा ५९ हजार ९३८ किलोलिटर पेट्रोल खपत भएकोमा वैशाखमा घटेर ५८ हजार ६८० किलोलिटर पुगेको छ ।
मट्टितेलको खपतमा भारी मात्रामा कमी आएको देखिन्छ । चैत महिनामा १ हजार २८३ किलोलिटर मट्टितेल प्रयोग भएकोमा वैशाखमा जम्मा २४८ किलोलिटर मात्र खपत भएको छ ।
खाना पकाउने एलपी ग्यासको खपत पनि घटेको छ । चैतमा ३८ हजार ७९९ मेट्रिक टन ग्यास खपत भएकोमा वैशाख महिनामा घटेर ३२ हजार ५६ मेट्रिक टनमा झरेको छ ।

अन्य सबै प्रकारका इन्धनको खपत घटिरहँदा हवाई इन्धनको खपत भने बढेको छ । चैत महिनामा १८ हजार २४४ किलोलिटर हवाई इन्धन खपत भएकोमा वैशाख महिनामा बढेर १९ हजार ५५२ किलोलिटर पुगेको तथ्याङ्कले देखाएको छ ।
बढ्दो व्यापार घाटालाई कम गर्न सरकारले गत चैत २२ गतेदेखि सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएको थियो । सोही नीतिपछि बजारमा पेट्रोलियम पदार्थको मागमा उल्लेख्य गिरावट देखिएको तथ्याङ्क छ । तर इन्धनको खपत घट्नुको कारण यो मात्रै नभएको नेपाल आयल निगमले जनाएको छ ।
नेपाल आयल निगमले सार्वजनिक बिदा दुई दिन हुनुभन्दा अगाडि चैत महिनाको २१ गतेसम्मको र चैत २२ गतेदेखि वैशाख १२ गतेसम्मको तुलनात्मक विवरण पनि उपलब्ध गराएको छ । सो विवरण अनुसार चैत १ गतेदेखि २१ गतेसम्म देशभर ४३ हजार १३२ किलोलिटर (४ करोड ३१ लाख ३२ हजार लिटर) पेट्रोल र १ लाख ५ हजार ७७० किलोलिटर (१० करोड ५७ लाख ७० हजार लिटर) डिजेल खपत भएको थियो ।
तर, विदाको निर्णय लागू भएको २१ दिन अर्थात् चैत २२ देखि वैशाख १२ गतेसम्मको अवधिमा पेट्रोलको खपत घटेर ३८ हजार ६२२ किलोलिटरमा खुम्चिएको छ । यो अघिल्लो २१ दिनको तुलनामा ४ हजार ५१० किलोलिटर (करिब १०.४५ प्रतिशत) को गिरावट हो । त्यस्तै, डिजेलको खपतमा त झनै निकै ठुलो गिरावट देखिएको छ । पछिल्लो २१ दिनमा ७३ हजार ३६७ किलोलिटर मात्र डिजेल बिक्री भएको छ, जुन अघिल्लो अवधिको तुलनामा ३२ हजार ४०३ किलोलिटर (करिब ३०.६३ प्रतिशत) ले कम हो ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुर सार्वजनिक बिदा थप भएपछि पेट्रोलको खपतमा कमी आएको मान्न सकिए पनि डिजेलको खपत घट्नुमा अरू नै कारण रहेको हुनसक्ने उनको भनाइ छ । ‘निर्माण सामाग्रीको मूल्य वृद्धिको कारण काम सुस्त हुँदा पनि डिजेलको खपत घटेको हो,’ ठाकुरले भने । देशभरका निर्माण व्यवसायीहरूले निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धिका कारण काम बन्द गरेका छन् । ‘निर्माण क्षेत्रमा पर्याप्त इन्धन पाइएको छैन । अहिले काम पनि ठप्प छ,’ निर्माण व्यवसायी विनोद घिमिरेले भने । यसबाहेक औद्योगिक प्रतिष्ठानहरूले पनि लागत वृद्धिका कारण उत्पादन क्षमता घटाएका छन्, जसले ढुवानीका साधनको आवागमन कम गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण