धेरै नेपालीमा लुम्बिनी सम्बन्धी बुझाइ अपुरो छ : हेमबहादुर विष्ट
सारांश
- हेमबहादुर विष्टका अनुसार लुम्बिनी केवल धार्मिक पर्यटन स्थल नभई सभ्यता, शान्ति र करुणाको केन्द्र हो, तर यसको विकास सोचेजस्तो हुन सकेको छैन ।
- विष्टले लुम्बिनी विकास कोषले अपेक्षाअनुसार काम गर्न नसकेको र यसको ऐन पुरानो भइसकेकोले नयाँ पदाधिकारी नियुक्तिले मात्र लुम्बिनीको भविष्य नबन्ने बताएका छन् ।
- लुम्बिनीमा बौद्ध आध्यात्मिक वातावरण निर्माणमा ध्यान नपुगेको र गुरुयोजना बजेट अभाव तथा दाताहरूको विश्वास कमजोर हुँदा अधुरो रहेको विष्टको भनाइ छ ।
बुटवल । गत भदौमा भएको युवा विद्रोह, फागुनमा सम्पन्न आम चुनाव र त्यसमार्फत अभिव्यक्त आमूल परिवर्तनको जनआकाङ्क्षाको आलोकमा अहिले फेरि एउटा प्रश्न उठिरहेको छ– लुम्बिनी वास्तवमा के हो, र के होइन ?
यही विषयमा उत्खनन् गर्ने उद्देश्यले यहाँ विषयविज्ञका रूपमा हेमबहादुर विष्टसँग कुराकानी गरिएको छ । काठमाडौँमा बसेर रेडियो, टेलिभिजन, विकास पत्रकारिता र मिडिया तालिममा योगदान गरेका विष्टले २०४६ र २०६२/०६३ का जनआन्दोलनमा नागरिक अगुवाको भूमिका पनि निर्वाह गरेका थिए । पछिल्लो एक दशकदेखि भने उनी लुम्बिनीमै बसेर यसको अध्ययन, अनुसन्धान र प्रवर्द्धनमा सक्रिय छन् ।
विष्टका अनुसार लुम्बिनी केवल धार्मिक पर्यटनको स्थलमात्र होइन, यो मानव सभ्यता, शान्ति, करुणा र वैचारिक रूपान्तरणको केन्द्र हो । व्यवहारमा भने लुम्बिनीलाई अझै सोही अनुसार विकास गर्न नसकिएको उनको भनाइ छ ।
२०४२ सालमा योजनाबद्ध विकासका लागि गठन गरिएको लुम्बिनी विकास कोषले अपेक्षाअनुसार काम गर्न नसकेको विष्टको बुझाइ छ । कोषले भौतिक पूर्वाधार निर्माणमा केही काम गरे पनि बुद्धमार्गी, अनुसन्धानकर्ता र आध्यात्मिक साधकका लागि आवश्यक वातावरण निर्माणमा पर्याप्त ध्यान दिनु पर्ने उनको बुझाइ छ । लुम्बिनीकै सम्बन्धमा केन्द्रित रहेर रातोपाटीका लागि तेजेन्द्र केसीले विष्टसँग कुराकानी गरेका छन् ।
प्रस्तुत छ, कुराकानीको सम्पादित अंश
खासका लुम्बिनी के हो ?
मलाई लाग्छ हामीमध्ये धेरै नेपालीमा लुम्बिनी सम्बन्धी बुझाइ अपुरो र अधुरो छ । बुद्ध नेपालमा जन्मिएकोमा धेरै नेपाली गर्व गर्छन्, तर त्यो गर्व किन गर्ने भन्नेतर्फ हामी विचार गरिरहेका हुन्नौँ । यहाँसम्म कि नेपाल राज्यसमेत लुम्बिनीको विषयमा स्पष्ट छ भन्ने मलाई लाग्दैन ।
लुम्बिनी भगबान बुद्धको जन्मस्थल हो । त्यसैले संसारभरिका बुद्धमार्गीहरूका निम्ति सबैभन्दा महत्त्वपूर्ण तीर्थस्थलमध्ये यो एक हो । अर्थात् अति आराधनीय बौद्ध तीर्थ ।
बुद्धशिक्षाले शाक्यमुनि बुद्ध लुम्बिनीमै किन जन्मनुभयो भन्ने व्याख्या गरेको छ । लुम्बिनी किन र कति महत्त्वपूर्ण छ भन्ने कुराको बयान स्वयं बुद्धले महापरिनिर्वाणका समयमा गर्नुभएको थियो । मलाई मान्नेमात्र होइन, मलाई नमान्नेहरू पनि लुम्बिनी पुग्न खोज्नेछन् भन्दैगर्दा उहाँले त्यसो किन गर्नेछन् भन्ने व्याख्या पनि गर्नुभएको छ ।
कुनै बेला नेपाल सरकारले लुम्बिनीलाई शान्तिको मूल घोषणा गरेको चर्चा पाइन्छ । बुद्धको शिक्षा र शान्तिबिचको सम्बन्ध के हो ? अहिलेको विश्व परिवेश, हामीले भन्ने गरेको नेपालको भू–राजनीतिक अवस्थिति र संयुक्त राष्ट्रसंघले कुनै समय लुम्बिनीको विकासमा किन त्यति धेरै सरोकार राखेको थियो भन्ने कुरा अहिलेको हाम्रो राज्य संयन्त्रको संस्थागत स्मृतिमा कहाँ देखिन्छ ? यिनै कुराहरूको वरिपरि लुम्बिनी के हो र के होइन भन्ने प्रश्नको जबाफ खोजिनु पर्छ भन्ने म ठान्दछु । लुम्बिनीमा गएको दश वर्षदेखि बस्दाको मेरो अनुभव र अनुभूतिले भन्छ– सरकार र निर्णय गर्ने ठाउँमा बस्नेहरूले लुम्बिनीलाई जे हो भन्ने ठान्दै आएका छन्, लुम्बिनी त्यो होइन ।
लुम्बिनी विकास कोषमार्फत लुम्बिनीको भविष्य निर्माण सम्भव छ ?
म यस्तो कुनै सम्भावना देख्दिनँ । नेपालका निम्ति, विश्वका निम्ति र मानवताका निम्ति लुम्बिनी धेरै ठुलो कुरा हो । लुम्बिनीमार्फत नेपालले विकास गर्न सक्ने सफ्ट पावर आणविक बमभन्दा शक्तिशाली हुन सक्छ, बनाउन सकिन्छ ।
तर २०४२ सालमा पञ्चायती मानसिकताको सानो परिधिभित्र तयार पारिएको लुम्बिनी विकास कोष ऐनको सान्दर्भिकता धेरै पहिले गुमिसकेको छ । त्यसैमाथि आधारित संरचना अर्थात् लुम्बिनी विकास कोषले अहिलेको नेपाली चाहना र आकाङ्क्षालाई न बुझ्न सक्छ, न अभिव्यक्ति दिन सक्छ ।
लुम्बिनी गुरुयोजनाका निम्ति सरकारले स्थानीय बासिन्दाको एक हजार १५५ बिघा जमिन अधिग्रहण गर्दा स्थानीय समुदाय र लुम्बिनी विकास कोषबिच उत्पन्न गहिरो असमझदारी अहिले पनि जस्ताको तस्तै देखिन्छ ।
बितेको ९–१० वर्षका बिचमा संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयमा ९ विभिन्न व्यक्ति मन्त्री भए । यस बिचका ५ महिना तत्कालीन प्रधानमन्त्री केपी ओलीले नै पर्यटन मन्त्रालय चलाउने इच्छा गर्नुभयो ।
लुम्बिनीलाई व्यवस्थित र भविष्य उन्मुख ढङ्गले विकास गर्ने इच्छा शक्ति, प्रतिवद्धता र स्पष्ट दृष्टिकोणको खोजीमा ९ मध्ये ६ मन्त्रीहरूसँग मैले बसेर संवाद गरेँ, तर मन्त्रीहरूको बुझाइको साँघुरो घेरा र निहीत स्वार्थको गठजोडमा लुम्बिनीको भविष्यको सम्भावना भन्दा तत्काल लिइहाल्न सकिने फाइदा उनीहरूको प्राथमिकता थियो ।
अहिलेको सरकारले त्यही लुम्बिनी विकास कोषका निम्ति विभिन्न पदपूर्ति गर्ने प्रक्रिया सुरु भएको घोषणा गरेको छ । एक पटक फेरि उही लिगलिगे दौड सुरु भएको छ । आफैँलाई शक्ति केन्द्र घोषणा गर्नेहरूको चहलपहल सुरु भएको देखिन्छ ।
पञ्चायतकालीन ऐनमा आधारित, समय र सान्दर्भिकता गुमाइसकेको र बितेका ३०–४० वर्षमा संस्थागत संस्कृति बनेको कुशासन, अपारदर्शिता र अव्यवस्थाको जगमा उभिएको लुम्बिनी विकास कोषमा नयाँ पदाधिकारी राखेर भविष्य उन्मुख लुम्बिनी विकास गर्न सकिन्छ भन्ने मलाई लाग्दैन ।
लुम्बिनीमा बौद्ध आध्यात्मिक वातावरण किन बन्न सकेन ?
लुम्बिनी भगवान बुद्धको जन्मस्थल भए पनि बुद्धप्रति आस्था प्रकट गर्न, आ–आफ्नो बौद्ध परम्परा अनुसार (थेरबादी, महायानी, बज्रयानी, नवयानीहरूको आ–आफ्नो पूजा परम्पराका साथै श्रीलंका, थाईल्याण्ड, म्यानमार, चीन, जापान आदि देशका बौद्धहरूको बुद्धप्रति श्रद्धा प्रकट गर्ने आ–आफ्नै तरिका छन्) पूजा, अनुष्ठान गर्न मायादेवी मन्दिर परिसरमा कुनै व्यवस्था गरिएको देखिन्न । यहाँसम्म कि मायादेवी मन्दिर परिसरमा २–४ हजार श्रद्धालु भेला भएको बेला शौचालय सबैभन्दा ठुलो समस्या हुने गरेको छ ।
बितेका ४०–४५ वर्षमा राज्यकोषबाट भएको लगानी भौतिक पूर्वाधार निर्माणमा लगाएको देखिन्छ । विद्यमान ऐनका आधारमा बौद्ध आध्यात्मिकता निर्माण लुम्बिनी विकास कोषको कार्यादेश नै होइन ।
६ वर्षमा निर्माणको पहिलो चरण सम्पन्न हुनु पर्ने केञ्जो टाँगेको गुरुयोजना ४० वर्ष बित्दा पनि पूरा हुन सकेन । बौद्ध आध्यात्मिक वातावरण निर्माणका निम्ति अहिलेसम्म गरिएका सबै पक्षको आग्रहको जबाफमा लुम्बिनी विकास कोषले गुरूयोजना निर्माण सकिएपछि यसतर्फ बताउने भन्दै आएको छ ।
अहिलेसम्मका सरकार, विभागीय मन्त्रीहरू र लुम्बिनी विकास कोषका पदाधिकारीहरू कसैमा पनि लुम्बिनीका निम्ति सबैभन्दा महत्त्वपूर्ण कुरा यसको बौद्ध आध्यात्मिक वातावरण निर्माण हो भन्ने किन आएन ? किन भौतिक निर्माणलाई नै महत्त्वपूर्ण ठानियो भन्ने बुझ्न गाह्रो छैन ।
लुम्बिनी गुरुयोजना किन अधुरो हुन पुग्यो ?
लुम्बिनी गुरुयोजना लामो समयदेखि कार्यान्वयनमा रहे पनि अझै पूर्ण हुन सकेको छैन । मलाई लाग्छ, लुम्बिनी गुरुयोजना अपुरो हुनुको पछाडि विश्वासको सङ्कट देखिन्छ । लुम्बिनी विकास कोषका कर्मचारी तथा पदाधिकारीहरूका अनुसार योजनाको मुख्य अवरोध बाह्य स्रोतबाट प्राप्त हुने बजेट अभाव छ ।
४० वर्षभन्दा बढी समयदेखि निरन्तर कार्यान्वयनमा रहेको यस गुरुयोजना पूरा नहुनुका पछाडि दातृ निकायहरूको विश्वास कमजोर हुँदैजानु पनि प्रमुख कारणका रूपमा देखिएको छ । उनीहरूले उपलब्ध गराएको रकमको सही र पारदर्शी उपयोग नहुने शङ्का बढ्दै गएपछि सहयोग घट्दै गएको जस्तो लाग्छ ।
दाताहरूले कोषभित्र रकम दुरुपयोग हुन सक्ने आशङ्का व्यक्त गर्ने गरेको बताइन्छ । यही कारणले अपेक्षित सहयोग प्राप्त हुन नसकेको र योजना अघि बढ्न नसकेको कर्मचारीहरूको भनाइ छ ।
बजेट सदुपयोग गर्ने विश्वासिलो प्रणाली स्थापित गर्दै थप स्रोत खोजी गर्नतिर लाग्नु पर्छ । ती गुरुयोजना पूरा गराउन सरोकारवालाले नै ध्यान दिनु पर्छ ।
पछिल्लो समय लुम्बिनी विकास कोष स्थापनाको ४१ वर्षपछि रास्वपाको सरकारले लुम्बिनी विकास कोष सञ्चालन व्यवस्थापनका निम्ति विभिन्न पदहरूमा योग्य व्यक्ति छनोट गर्ने प्रक्रिया सुरु गरेको छ । इच्छुक र योग्य व्यक्तिको रोष्टर निर्माणबाट यसको सुरुवात गर्न खोजिएको देखिन्छ ।
यसबिच लुम्बिनी विकास कोषले कोष गम्भीर आर्थिक सङ्कटमा परी कर्मचारीलाई तलबै खुवाउन नसकिएको भन्दै २०८३ वैशाख १ देखि लागु हुनेगरी मायादेवी मन्दिर प्रवेश शुल्क ७५ प्रतिशतसम्म बढाएको छ ।
मायादेवी मन्दिर प्रवेश गर्न शुल्क लिन नपाउने सर्वोच्च अदालतको आदेशपछि लुम्बिनी विकास कोषले प्रवेश शुल्कको नामै फेरेर संरक्षण शुल्क राखेको धेरैले सम्झी राखेको हुनुपर्छ । भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा भएकोमा सबै नेपालीले गर्व गर्दछन् । नेपालको नाम नसुनेका धेरै देशका मानिसले लुम्बिनीको नाम सुनेका हुन्छन् भन्ने गरिन्छ ।
अबको बाटो के हुन सक्छ ?
लुम्बिनी सम्बन्धी राज्यको स्पष्ट दृष्टिकोणको निर्माण सबैभन्दा महत्त्वपूर्ण कुरा हो । यस्तो दृष्टिकोण निर्माणका निम्ति उच्चस्तरको विचार मन्थन, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका बौद्ध विद्वानहरूसँग विचार मन्थनका साथै अहिलेसम्म विभिन्न विश्वविद्यालय, अनुसन्धान केन्द्रहरूमा संश्लेषित ज्ञानको आलोकमा कम्तिमा आजभन्दा ५० वर्ष पछिको विश्वलाई दृष्टिगत गर्दै लुम्बिनीजस्तो लुम्बिनीको भिजन प्लान बनाउन र त्यसलाई साकार गर्न सकिने संस्थागत संरचना बनाउन सक्नु पर्छ ।
यस्तो भिजन प्लान र संस्थागत संरचना निर्माणका निम्ति बितेका ५० वर्षमा हामीले के गर्नु पर्थ्यो र किन गर्न सकेनौँ भन्ने समीक्षा आवश्यक छ । यो सबै काम गर्न केही समय लाग्ला । लुम्बिनी विकास सम्बन्धी दैनिक काम सञ्चालन, विगतको समीक्षा र भविष्यमुखि भिजन र उपयुक्त संरचना निर्माणका निम्ति लुम्बिनी विकास कोष विघटन गरी एक अन्तरिम संयन्त्रमार्फत यी काम अघि बढाउनु नै अहिलेको आवश्यकता हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
-
युवा संघका सचिवालय सदस्य बमसहित २४ जना जुवाखालबाट पक्राउ
-
युरो कप र नेसन्स लिगको सेमिफाइनलमा फ्रान्सलाई हराएको शैली नै अपनाउने स्पेनको रणनीति
-
विश्वविद्यालयमा दलीय राजनीति अन्त्य गर्ने उपकुलपतिहरूको प्रतिबद्धता
-
फाइनलसरह फ्रान्स र स्पेन भिडन्तः यस्तो छ सम्भावित टोली र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण