बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

प्रधानन्यायाधीश नियुक्ति इतिहासमै विवादित बनेको भन्दै अर्यालले मागिन् चार बुँदे स्पष्टीकरण

मङ्गलबार, ०५ जेठ २०८३, १५ : १८
मङ्गलबार, ०५ जेठ २०८३

सारांश

  • नेकपा एमालेकी सांसद पद्मा अर्यालले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियामा वरिष्ठता र योग्यताको सिद्धान्त मिचिएको भन्दै प्रश्न उठाएकी छन् ।
  • उनले यस पटकको प्रधानन्यायाधीश नियुक्ति प्रकरण इतिहासमै विवादित बनेको टिप्पणी गर्दै चार बुँदामा स्पष्टीकरण माग गरेकी छन् ।
  • वरीयता क्रममा चौथो नम्बरमा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरिनुले न्याय क्षेत्रमा गलत नजिर बस्ने र कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्न खोजेको आरोप उनले लगाइन् ।

काठमाडौँ । नेकपा एमालेकी सांसद पद्मा अर्यालले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रियामा वरिष्ठता र योग्यताको स्थापित सिद्धान्त मिचिएको भन्दै गम्भीर प्रश्न उठाएकी छन् । मंगलबार संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइका क्रममा धारणा राख्दै उनले यस पटकको प्रधानन्यायाधीश नियुक्ति प्रकरण इतिहासमै विवादित बनेको टिप्पणी गरेकी हुन् । 

प्रस्तावित प्रधानन्यायाधीश शर्माले प्रस्तुत गरेको कार्ययोजना र प्रतिबद्धतामाथि केन्द्रित हुँदै सांसद अर्यालले चार वटा मुख्य बुँदामा स्पष्टीकरण माग गरेकी छन् । वरीयता क्रममा चौथो नम्बरमा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरिनुले न्याय क्षेत्रमा गलत नजिर बस्ने आशङ्का उनले व्यक्त गरिन् । 

सर्वोच्च अदालतमा रहेका अन्य तीन जना वरिष्ठ न्यायाधीशहरू भन्दा डा. शर्मामा कुन विशेष योग्यता र विशेषता छ भन्दै त्यसलाई पुष्टि गर्न उनले चुनौती समेत दिइन् । न्याय र कानुनको विकासमा अरूभन्दा उत्कृष्ट योगदान पुर्‍याएको आधार के हो भनी उनले स्पष्ट पार्न आग्रह गरिन् र यस कदमले कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्न खोजेको आरोप लगाइन् ।

संवैधानिक परिषद्को निर्णय र न्यायपालिकाको साखमाथि प्रश्न उठाउँदै सांसद अर्यालले भनिन्, ‘नेपालको न्यायिक इतिहासमा पहिलोपटक चौथो नम्बरको वरीयतामा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको छ । यसले स्थापित वरिष्ठता र योग्यताको सिद्धान्तलाई कसरी आत्मसात् गर्छ ? के यसले भविष्यमा न्यायाधीशहरूमा कार्यक्षमता भन्दा राजनीतिक निकटता खोज्ने प्रवृत्तिलाई प्रश्रय दिँदैन ? संवैधानिक परिषद्को यो निर्णयले न्यायपालिकाको स्वतन्त्रतामा कस्तो असर पार्छ ? के तपाईं प्रधानन्यायाधीश नियुक्त भएपछि कार्यपालिकाका गलत निर्णयहरूमाथि निर्धक्क भएर अङ्कुश लगाउन सक्नुहुन्छ ?’

सांसद अर्यालले न्यायमा पहुँचको विषयलाई लिएर पनि डा. शर्माको विगतको कार्यक्षमतामाथि प्रश्न उठाइन् । डा. शर्माले लामो समय ‘न्यायमा पहुँच आयोग’ को नेतृत्व सम्हाल्दा पनि त्यसको नतिजा निकै कमजोर रहेको उल्लेख गर्दै उनले अब आउने ६ वर्षे कार्यकालमा अदालतलाई सर्वसाधारणका लागि सुलभ र सस्तो बनाउने ठोस आधार के छ भनी जिज्ञासा राखिन् । 

प्रस्तावित प्रधानन्यायाधीश शर्मा विरुद्ध संसदीय समितिमा परेका उजुरीहरू र बाहिर सार्वजनिक वृत्तमा चर्चामा रहेका गम्भीर विषयहरूलाई आधार मानी आफूले यी प्रश्नहरू उठाएको सांसद अर्यालको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप