बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अनुवाद

सगरमाथाको शिखरमा प्यालेस्टिनी बालबालिकाको सन्देश

गाजाका बालबालिकाको दुःख, पिडा र सपनाहरूले सगरमाथाबाट आकाश छोएका छन्
शुक्रबार, ०८ जेठ २०८३, १३ : ०४
शुक्रबार, ०८ जेठ २०८३

सारांश

  • गाजाका प्यालेस्टिनी बालबालिकाका आशा र सपनाहरू संसारको सबैभन्दा उच्च स्थानसम्म पुगेका छन् ।
  • पर्वतारोहीहरूको टोलीले आफ्नै हातले लेखेका सन्देश बोकेको चङ्गा सगरमाथाको शिखरमा पुर्‍याएको हो ।
  • यो अभियानले गाजाका बालबालिकाका सपनाहरू 'संसारको चुचुरोसम्म' पुर्याउने उद्देश्य राखेको छ ।

गाजाका प्यालेस्टिनी बालबालिकाका आशा र सपनाहरू संसारको सबैभन्दा उच्च स्थानसम्म पुगेका छन् । उनीहरूले आफ्नै हातले लेखेका सन्देश बोकेको चङ्गा पर्वतारोहीहरूको टोलीले सगरमाथाको शिखरसम्म पुर्‍याएको हो ।

यो टोलीले बिहीबार बिहान १०ः४८ बजे संसारकै अग्लो शिखर आरोहण गरेको थियो । अभियानको नेतृत्व गरिरहेका तर स्वयं शिखरमा नपुगेका जोर्डन–प्यालेस्टिनी पर्वतारोही मोस्ताफा सलामेहले सामाजिक सञ्जालमार्फत यसको पुष्टि गरेका हुन् ।

इटालियन चलचित्र निर्माता तथा अन्वेषक लियोनार्दो आवेज्जानोको नेतृत्वमा रहेको नेपाली शेर्पाहरूको टोलीले उक्त चङ्गा बोकेको थियो । यसको उद्देश्य भनेको घेराबन्दीमा परेका गाजाका बालबालिकाका सपनाहरू ‘संसारको चुचुरोसम्म’ पुग्न सकुन् भन्ने नै हो ।

सलामेहले गत साता सगरमाथा आधार शिविरबाट अल जजिरालाई बताएका थिए । यसअघि पनि सगरमाथा आरोहण गरिसकेका सलामेह भने हिउँले हात खाएको तथा रगत जम्ने समस्याका कारण पहिलो आधार शिविरमै बसेका थिए ।

५६ वर्षीय पर्वतारोही सलामेहले गाजामा इजरायली नरसंहारका कारण पीडित बालबालिकाका लागि स्वास्थ्य सहायता जुटाउन १ करोड डलर सङ्कलन गर्ने तथा उनीहरूले भोगिरहेका कठिनाइप्रति विश्वको ध्यानाकर्षण गराउने उद्देश्यले यो अभियान सुरु गरेका हुन् ।

शिखरसम्मको यात्रालाई दस्तावेजीकरण गरेका आवेज्जानो र उनको टोलीको सलामेहले प्रशंसा गरेका छन् ।

‘महिनौँको तयारी, त्याग, प्रशिक्षण, डर, आशा, प्रार्थना र आफूभन्दा धेरै ठुलो सन्देशको भार बोकेपछि गाजाका बालबालिकाका सपनाहरू बोकेको चङ्गा अहिले पृथ्वीको सबैभन्दा उच्च स्थानमाथि उडिरहेको छ,’ सलामेहले इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा भनेका छन् ।

‘गाजाको भग्नावशेष र पीडाबाट... संसारको छानोसम्म । एउटा सपना, जसले मर्न इन्कार गर्‍यो,’ उनले क्याप्सनमा लेखेका छन् ।

शिखरसम्मको यात्रालाई दस्तावेजीकरण गरेका आवेज्जानो र उनको टोलीको सलामेहले प्रशंसा गरेका छन् । ‘आज राति, आठ हजार आठ सय ४८ मिटर उचाइको ‘डेथ जोन’ मा, जहाँ प्रत्येक पाइला जीवन र थकानबिचको सङ्घर्षजस्तो हुन्छ । लियोनार्डोले साहस, भावना र उद्देश्यसहित त्यो चङ्गा बोके,’ सलामेहले भनेका छन् ।

‘मेरो भाइ लियोनार्डोप्रति म अत्यन्त गर्व गर्छु, जसले यो अभियानमा विश्वास गरे र संसारले देख्नुपर्ने बालबालिकाका आवाज, नाम, आशा र सपनाहरू बोके,’ उनले थप भनेका छन् ।

उनले यो आरोहण केवल हिमाल चढ्ने विषय मात्र नभई मानवता, आशा र ‘अन्धकारबाट पनि सुन्दर कुरा आकाशमा उड्न सक्छ’ भन्ने प्रमाण भएको बताए ।

‘अविश्वसनीय शेर्पा टोलीप्रति ठुलो सम्मान र आभार । उनीहरू हिमालयका वास्तविक नायक हुन् । उनीहरूको शक्ति, बुद्धिमत्ता र हृदय बिना यो सम्भव हुने थिएन । टोलीको सुरक्षा गर्दै यो अभियानलाई सुरक्षित रूपमा शिखरसम्म पुर्‍याइदिएकोमा धन्यवाद,’ सलामेहले लेखेका छन् ।

सगरमाथा संसारकै जोखिमपूर्ण आरोहणमध्ये एक हो, किनकि शिखरनजिक अक्सिजनको मात्रा अत्यन्त खतरनाक रूपमा घट्छ ।

सलामेहले भने, ‘अभियान अझै पूरा भएको छैन,’ किनकि सगरमाथा चढ्नु केवल आधा यात्रा मात्र हो । अब लियोनार्डो र उनको टोलीको अर्को लक्ष्य सुरक्षित रूपमा आधार शिविर फर्किनु हो । मौसमअनुसार उनीहरूले चौथो शिविरमै बस्ने वा दोस्रो शिविरसम्म झर्ने निर्णय गर्नेछन् ।

‘आज राति चङ्गा सगरमाथामाथि उडिरहेको छ; आज राति गाजाका सपनाहरूले आकाश छोएका छन्,’ सलामेहले भिडियो अन्त्य गर्दै ‘फ्री, फ्री प्यालेस्टाइन’ को नारा लगाए ।

  • ‘हरेक प्यालेस्टिनी बालबालिकाको कथा’ सुनाउने प्रयास

सलामेह ती २० व्यक्तिमध्ये एक हुन्, जसले ‘एक्सप्लोरर स्लाम’ पूरा गरेका छन् । अर्थात् उनले उत्तर र दक्षिण ध्रुव पुग्नुका साथै सातवटै महादेशका सर्वोच्च शिखर आरोहण गरेका छन् ।

उनले चार पटक सगरमाथा आरोहण गरिसकेका छन् । पहिलो पटक सन् २००८ मा सगरमाथा चढेपछि उनलाई जोर्डनका राजा अब्दुल्लाह द्वितियले ‘नाइटहुड’को सम्मान दिएका थिए ।

‘मैले उनीहरूबाट धेरै ठुलो पाठ सिकेको छु । मैले सम्मान सिकेको छु, स्वतन्त्रता सिकेको छु । मैले सशक्त हुनु मात्र होइन, आफ्नै सत्यमा अडिग रहन सिकेको छु ।’

‘मैले सबैभन्दा राम्रो गर्ने सक्ने काम भनेकै हिमाल चढ्नु हो,’ उनले गत साता आधार शिविरबाट अल जजिरासँग भनेका थिए । ‘मैले जीवनमा धेरै मानिसलाई फेरि सगरमाथा नचढ्ने वाचा गरेको थिएँ, तर अहिले मैले चढ्नै पर्थ्यो । एक पर्वतारोहीका रूपमा मैले गर्न सक्ने कुरा भनेको हरेक प्यालेस्टिनी बालबालिकाको कथा र पीडालाई संसारको चुचुरोसम्म पुर्‍याउनु हो ।’

सलामेहले सगरमाथा आरोहणका जोखिम (मृत्युसमेत) स्वीकार गरे । आठ हजार मिटर उचाइमा केवल १५ प्रतिशत अक्सिजन हुने अवस्थालाई उनले गाजाका प्यालेस्टिनीहरूले भोगेको पीडासँग तुलना गर्दै भने, ‘यो त त्यसको अगाडि केही पनि होइन ।’

‘यो समय मेरा लागि अत्यन्त व्यक्तिगत छ,’ उनले अर्को भिडियोमा भने । ‘यसले मेरो बाल्यकाललाई छोएको छ, किनकि म शरणार्थी शिविरमा बालक भएर बाँच्नु कस्तो हुन्छ भन्ने जान्दछु । गाजाका बालबालिकाले भोगिरहेको पीडा म महसुस गर्न सक्छु ।

‘अझ व्यक्तिगत कुरा के छ भने, मैले ती बालबालिकालाई भेटेको छु । म गाजा जान सकिनँ, तर इजिप्टतर्फको सीमामा उनीहरूलाई भेटेँ, उनीहरूसँग बसेँ, र त्यसले मलाई भावविह्वल बनायो ।’

उनले प्यालेस्टिनी जनताले आफूलाई कठिन परिस्थितिमा पनि अघि बढ्न प्रेरणा दिएको बताए ।

‘जे भए पनि फरक पर्दैन; उनीहरूको घर ध्वस्त पारिन्छ, तर उनीहरू त्यहीँ आफ्नो भूमिमा बस्न पाल टाँग्छन् ।’

‘मैले उनीहरूबाट धेरै ठुलो पाठ सिकेको छु । मैले सम्मान सिकेको छु, स्वतन्त्रता सिकेको छु । मैले सशक्त हुनु मात्र होइन, आफ्नै सत्यमा अडिग रहन सिकेको छु ।’

(कराँची बस्ने अनुशे स्वतन्त्र पत्रकार हुन् ।)

अलजजिराबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनुशे इन्जिनियर
अनुशे इन्जिनियर
लेखकबाट थप