देउवाको दुखान्त : राज्यसत्तामा बालेन, पार्टी सत्तामा गगन
सारांश
- पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी डा. आरजु राणा सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ पुर्जी जारी भएपछि सिङ्गापुर र हङकङबाट स्वदेश फर्किएका छैनन् ।
- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेसँगै देउवा दम्पतीविरुद्ध रेड कर्नर नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार गरिएको छ ।
- पार्टीभित्रको आन्तरिक सन्तुलन गुमाउँदै सभापति पदसमेत गुमाएका देउवा राज्यसत्ता र पार्टीसत्ताविहीन बनेका छन् ।
काठमाडौँ । फागुन २१ को चुनावको मुखैमा सिङ्गापुर उडेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा अझै नेपाल फर्किएका छैनन् । गत वर्ष भदौमा जेनजी आन्दोलनको क्रममा बुढानीलकण्ठस्थित निवासमै निर्घात कुटिएका उनी फलोअपका उपचारका लागि फागुन १४ गते सिङ्गापुर पुगेका थिए ।
सिङ्गापुरबाट स्वदेश नफर्की उनी अहिले हङकङ गएका छन् । पूर्वपरराष्ट्रमन्त्री तथा देउवा पत्नी डा. आरजु राणा त्यसअघि नै भारत हुँदै हङकङ गएकी थिइन् । तीन महिना पुग्दा समेत देउवा दम्पती स्वदेश फर्किने छाँटकाँट देखिएको छैन ।
प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई तिहाइ नजिक मत ल्याएर सरकारको नेतृत्व गरिरहेको छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेसँगै देउवा दम्पती सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएकाले तत्काल स्वदेश फर्किने सम्भावना देखिँदैन ।

नेपाल प्रहरीले देउवा दम्पतीविरुद्ध रेड कर्नर नोटिस जारी गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)लाई पत्राचार गरेको छ । यद्यपि इन्टरपोलले प्रक्रिया नमिलेको कारण देखाउँदै रेड कर्नर नोटिस जारी गर्न अस्वीकार गरेको छ ।
यता देउवा दम्पतीले आफूहरूविरुद्ध जारी गरेको पक्राउ पुर्जीको प्रक्रिया नमिलेको जिकिर गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । विशेष अदालतले हेर्नुपर्ने मुद्दामा कार्यक्षेत्र नाघेर जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जी खारेज हुनुपर्ने मागदाबी गरिएको छ ।
- प्रधानमन्त्री बन्ने सपना ढल्यो, पार्टी गगनको कब्जामा
जेनजी आन्दोलनबाट केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकार नढलेको भए अगामी असारमा देउवा प्रधानमन्त्री बन्ने थिए । २०८१ साल असार १७ गते देउवा र एमाले अध्यक्ष ओलीबिच भएको ७ बुँदे सहमतिमा आलोपालो सरकार गठन गर्ने सम्झौता थियो । त्यही सम्झौता अनुसार असार ३१ गते ओली दुई वर्षका लागि प्रधानमन्त्री भएका थिए । देउवा २०८४ सालमा हुने आवाधिक निर्वाचनका लागि चुनावी सरकारका प्रधानमन्त्री बन्ने सहमति थियो ।

गत भदौमै जेनजी आन्दोलनले ओली सरकार ढल्यो । तत्कालीन प्रधानमन्त्री ओली नै सेनाको सुरक्षा घेरामा बालुवाटारबाट भाग्न बाध्य भए । देउवा दम्पती आफ्नै निवासमा कुटिए । देशको प्रशासनिक केन्द्र सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत लगायत राज्यका महत्त्वपूर्ण निकायका भौतिक संरचना ध्वस्त भयो । आन्दोलन साम्य भएपछि असोज २८ गते नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पिएर उपचारका लागि देउवा सिङ्गापुर पुगेका थिए ।
तर एक महिनापछि देउवा स्वदेश फर्किँदा पार्टीभित्रको आन्तरिक सन्तुलनै फेरबदल हुने अवस्थामा पुग्यो । कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशन पक्षधरको माग सम्बोधन गर्न सकेनन् । मंसिरभित्रै नियमित महाधिवेशन गर्न नसक्ने कारण देखाउँदै खड्काले निर्वाचनपछि मात्र १५औँ महाधिवेशन गर्ने निर्णय गरे । तर मंसिरभित्रै विशेष महाधिवेशन गर्न ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षार बुझाएर गगन थापा र विश्वप्रकाश शर्मा समूहले नेतृत्वमाथि दबाब दिए ।

विशेष महाधिवेशन पक्षधरको मागलाई अस्वीकार गरेको देउवा समूहले एमालेसँग मिलेर विघटित संसद् पुनर्स्थापनाका लागि सर्वोच्च अदालतमा हस्ताक्षर बुझाए । नेतृत्वको कार्यशैलीविरुद्ध गगन–थापा समूहले पुसको अन्तिम हप्ता विशेष महाधिवेशन गरेर पार्टी नेतृत्व कब्जा गरे । विशेष महाधिवेशन अवैध रहेको निष्कर्ष निकाल्दै देउवा समूह निर्वाचन आयोग पुग्यो । आयोगले विशेष महाधिवेशनलाई नै मान्यता दियो ।
आयोगको निर्णयविरुद्ध देउवा समूह सर्वोच्च अदालत पुग्यो, तर अदालतले पनि देउवा समूहलाई सहज हुनेगरी अन्तरिम आदेश दिन अस्वीकार गर्यो । निर्वाचनको मुखैमा पार्टीभित्रको घर झगडा, देउवा दम्पतीको विदेश उडान र रास्वपाप्रति देशव्यापी देखिएको लहरका कारण चुनावमा कांग्रेस बढारियो ।
वैशाख ४ गते सर्वोच्च अदालतले गगन थापाले नेतृत्व गरेको कांग्रेसलाई मान्यता दिएपछि देउवाको सभापति पद आधिकारिक रूपमै खोसियो । बुढेसकालमा स्वदेश छोडेर परदेशमा बसिरहेका देउवा राज्यसत्ता र पार्टीसत्ताविहीन बन्न पुगेका छन् ।
निरन्तर आठौँ पटक प्रतिनिधि सभा सदस्य निर्वाचित हुन चाहेका देउवालाई सभापति गगन थापाले उम्मेदवार नै बनाएनन् । त्यसपछि निर्वाचनको बेला देउवा पक्ष पार्टीलाई भोट माग्न पनि हिँडेनन् । देउवा पक्षकै अन्तर्घातका कारण कांग्रेसले उत्कृष्ट नतिजा ल्याउन सकेन ।
- नयाँ पार्टी खोल्ने ‘वार्मअप’ !
विशेष महाधिवेशनबाट पार्टी नेतृत्व गगनले कब्जा गरेपछि देउवा समूहले बेग्लै भेला गरिरहेको छ । देउवा निकट पूर्वउपसभापति पूर्णबहादुर खड्काको अगुवाइमा कर्णाली र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको अगुवाइमा कोशी प्रदेशस्तरीय भेला सम्पन्न गरेको छ ।
नयाँ पार्टी खोल्ने तयारीका साथ देउवा पक्षीय नेताहरूले भित्रभित्रै गृहकार्य गरिरहेको चर्चा चलेको छ । देउवा निकट पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंहले चाक्सीबारीमा निकटस्थहरूको भेला राखेपछि कांग्रेस वृत्तमा तरङ्ग उत्पन्न भएको छ ।
यता संस्थापन पक्षले सातै प्रदेशमा भेला सम्पन्न गरिसकेको छ । क्रियाशील सदस्यता अद्यावधिकको काम पनि धमाधम भइरहेको छ ।
_oLx4mwwKFb.jpg)
विश्लेषक डा.पिताम्बर भण्डारीले नयाँ पार्टी खोल्न देउवाले नै सङ्केत दिएको हुन सक्ने आशंकालाई बल पुग्नेगरी प्रतिक्रिया जनाएका छन् ।
‘प्रकाशमान सिंहको निवासमा भेला भएको भन्ने मैले सुनेको छु । शेरबहादुर देउवा समूहले विशेष महाधिवेशनबाट नेतृत्वमा आएकालाई स्विकार्न नसकेको अवस्था देखिन्छ । शेरबहादुरजीले सङ्केत दिएपछि वार्मअपको रूपमा भेला बोलाइएको पनि हुन सक्छ । यद्यपि आधिकारिक रूपमा पुष्टि हुन सकेको छैन’, रातोपाटीसँग भण्डारीले भने ।
तर अर्का विश्लेषक शंकर तिवारीले जेनजी आन्दोलनले राजनीतिक दलका मौजुदा नेतृत्व असान्दर्भिक भएकाले बदलिन स्पष्ट सन्देश दिएको जिकिर गरे । जेनजी आन्दोलनको म्याण्डेट अनुसार नै विशेष महाधिवेशन भएकाले त्यसको चाप बुझ्न नसके कांग्रेसको इतिहास र परम्परा विपरीत हुने उनले स्पष्ट पारे ।
‘भदौ २३ र २४ जेनजी उथपुथलले राजनीतिक दलको मौजुदा नेतृत्वलाई असान्दर्भिक भएको र बदलिनका लागि स्पष्ट सन्देश दिएको थियो । त्यही अनुसार नेपाली कांग्रेसले विशेष माहाधिवशेन गरेको हो,’ उनले भने, ‘विशेष महाधिवेशनको म्याण्डेट अनुसार मिलेर नगएको कुरा असन्तुष्ट नेताहरूले सार्वजनिक रूपमा स्वीकार पनि गर्नुभएको छ । अब पनि परिस्थितिको चाप नबुझेर अगाडि बढ्न खोज्नु भनेको नेपाली कांग्रेसको गौरवशाली इतिहास र परम्परा विपरित हुन जान्छ ।’
- लोकतन्त्रका लागि देउवाको सङ्घर्ष
नेपाली कांग्रेसको जन्मसँगै हुर्किएका देउवाले जीवनको उत्तरार्द्धमा दोस्रो पटक पार्टी विभाजनको दाग बोक्दैछन् ।
सुदूरपश्चिमको सीमान्तकृत जिल्ला डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ रुवाखोलामा जन्मिएका देउवा पाँच पटक देशको प्रधानमन्त्री बन्न सफल भए । तर उनले राज्य सञ्चालनमा समेत जस पाउन सकेनन् ।
सत्ता राजनीतिका माहिर खेलाडी मानिएका देउवा २०५२ सालमा प्रधानमन्त्री बनेपछि नामभन्दा बढी बदनाम कमाउँदै गए । २०६५ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि देउवा कम्युनिस्टपरस्त हुँदै गए । राजतन्त्रकालमा तीन पटक र गणतन्त्रकालमा दुई पटक प्रधानमन्त्री बनेका देउवाको दुवै कार्यकाल सुखद् रहन सकेन ।

राजनीतिक मोर्चामा उनी कांग्रेसको फन्डामेन्टल अडानबाट विचलित भएर क्षणिक सत्ताको जोडघटाउमा लागे । उनी कहिले प्रचण्डसँग मिले, कहिले केपी ओलीसँग मिले । प्रधानमन्त्री हुँदा बालुवाटार, सत्ता बाहिर हुँदा आफ्नै निवास बुढानीलकण्ठ बिचौलियाहरूको केन्द्र जस्तो भएको आलोचनाबाट देउवा मुक्त हुन नसकेको आरोप छ ।
जेनजी विद्रोहपछि असोज २८ गते बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा देउवाले शालीन ढंगले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर सिङ्गापुर जाँदा साहनुभूति प्राप्त गरेका थिए । तर स्वदेश फर्किएपछि फेरि उनी राजनीतिमा सक्रिय भए ।
देउवाकै योजनामाा २०८२ पुस ३० गते सानेपामा बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले तत्कालीन महामन्त्रीहरू थापा, शर्मा र सहमहामन्त्री फर्मूल्लाह मन्सुरलाई पाँच वर्ष साधारण सदस्य समेत नरहनेगरी निष्काशन गर्यो ।
यता महाधिवेशन प्रतिनिधिले थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरे । अन्ततः देउवाको सभापति पद खोसियो ।
२००३ साल जेठ ३१ गते जन्मेका देउवा राजनीतिक जीवनको प्रारम्भमै सुदूरपश्चिमको ‘शेर’का रूपमा चिनिन्थे । उनी कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिएका थिए ।

२०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित सरकारलाई बर्खास्त गरी राजनीतिक ‘कू’ गरेपछि देउवा प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भए । त्रिचन्द्र कलेज अध्ययनकै क्रममा उनी विद्यार्थी आन्दोलनमा सक्रियतापूर्वक लागे । २०२७ साल वैशाख ६ गते नेविसंघको गठन हुँदा उनी संस्थापक केन्द्रीय सदस्य भए । त्रिभुवन विश्वविद्यालयमा एमए अध्ययन गर्दा स्ववियु सभापतिमा पराजित उनी लगत्तै नेविसंघको सभापतिमा निर्वाचित भए ।
२०३३ साल पुस २२ गते राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी स्वदेश फर्किएपछि मात्र देउवाको सङ्गत कांग्रेसका संस्थापक नेता बीपीसँग भएको थियो । प्रजातान्त्रिक आन्दोलनप्रति हक्की स्वभावका कारण बीपीले देउवालाई माया गर्ने गर्थे ।
बीपीको निधनपछि देउवाको सङ्गत गणेशमान र कृष्णप्रसाद भट्टराईसँग भयो । २०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री बनेका देउवा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई निकट रहेर काम गरे ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि भएको पहिलो आम निर्वाचनमा देउवा डडेलधुराबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । सुदूरपश्चिमका १८ वटै क्षेत्र कांग्रेसको पक्षमा ‘क्लिन स्विप’ बनाउन उनी सफल भए ।
- सत्ता राजनीतिका अब्बल खेलाडी
२०४८ सालदेखि २०७९ सालसम्म सात वटा संसदीय निर्वाचन जित्ने देउवा एकमात्र राजनीतिज्ञ हुन् । डडेलधुरा बाहेक कञ्चनपुर र कैलालीबाट समेत उनले दुई पटक निर्वाचन जिते । उनी २०४८, २०५१, २०५६ सालमा भएको संसदीय निर्वाचनमा विजयी भए । २०६२/०६३ को जनआन्दोलनपछि २०६४ र २०७० सालमा भएको संविधानसभा निर्वाचनमा देउवा डडेलधुराका साथै कञ्चनपुर–४ र कैलाली–६ बाट निर्वाचित भए । राज्यपुनर्संरचनापछि २०७४ र २०७९ सालको निर्वाचनमा समेत उनी साविक निर्वाचन क्षेत्रबाट विजयी भए ।
२०५१ सालमा पार्टीभित्रको विवादका कारण प्रधानमन्त्री रहेका गिरिजाप्रसाद कोइरालाले संसद् विघटन गरी मध्यावधि घोषणा गरेका थिए । निर्वाचनपछि सबैभन्दा ठुलो दल रहेको एमालेले अल्पमतको सकार बनायो । त्यतिबेला पार्टीका प्रभावशाली नेतालाई पन्छाउँदै देउवा प्रमुख प्रतिपक्ष दलका नेता बन्न सफल भए ।

भदौमा मनमोहन अधिकारीको नौ महिने वामपन्थी सरकार ढलेपछि देउवा राप्रपाको समर्थनमा प्रधानमन्त्री बन्न सफल भए । देउवा सरकार जम्बो मन्त्रिपरिषद् विस्तार, भ्रष्टाचार, बेथिति, पजेरो काण्ड, सांसद खरिद–बिक्री काण्ड लगायत काण्डैकाण्डले बदनाम भएको थियो । माओवादी सशस्त्र विद्रोह रोकथाम गर्न समेत सरकार असफल भएको आरोप उनीमाथि लाग्यो ।
२०५८ जेठ १९ गते दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनास भयो । त्यसपछि राजा भएका ज्ञानेन्द्र र प्रधानमन्त्री गिरिजाप्रसादबिच सम्बन्ध सुधार भएन । गिरिजाप्रसाद नेतृत्वको सरकार ढलेपछि ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्री बनाए । २०५९ सालमा पार्टीको निर्णयविपरीत सरकारले सङ्कटकाल लम्ब्याएपछि प्रधानमन्त्री देउवालाई साधारण सदस्य समेत नरहने गरी पार्टीले निष्काशन गर्यो ।
देउवाले आफ्नै नेतृत्वमा नेपाली कांग्रेस(प्रजातान्त्रिक) गठन गरे । चौतर्फी दबाबबिच ज्ञानेन्द्रले २०६१ सालमा जेठमा देउवा सरकार पुनर्स्थापना गरे । तर माघ १९ गते देउवा सरकारलाई बर्खास्त गरी ज्ञानेन्द्रले आफ्नै नेतृत्वमा सरकार गठन गरे । प्रजातन्त्र दरबारलाई बुझाएको आरोप देउवामाथि लाग्यो ।
२०७२ माघमा पूर्वप्रधानमन्त्री तथा कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको निधन भएपछि पार्टीको नेतृत्वमा देउवा आए । उनी सत्तामा आएपछि कहिले एमाले र कहिले माओवादीसँग सम्झौता गरी कम्युनिस्टको पिछलग्गु भएको आरोप लाग्यो । यतिसम्म कि सत्ता टिकाउन कांग्रेसका कट्टर कार्यकर्तालाई कहिले एमालेको सूर्य र कहिले माओवादीको हसियाँ–हथौडामा मत हाल्न बाध्य पारेकोमा देउवासँग नेता तथा कार्यकर्ताहरू चिढिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण