कोन्टेले छोड्ने भए नापोली
सारांश
- नापोलीका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले क्लब छोड्ने घोषणा गरेका छन्।
- कोन्टेले सन् २०२४ मा नापोलीको कमान्ड सम्हालेका थिए र पहिलो सिजनमै सिरी ए उपाधि दिलाए।
- उनले आइतबार सिजनको अन्तिम खेलपछि अध्यक्षसँग संयुक्त पत्रकार सम्मेलन गर्दै आफ्नो बिदाइको घोषणा गरेका हुन्।
रोम । नापोलीका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले क्लब छोड्ने घोषणा गरेका छन्। नापोलीलाई सिरी ए को उपाधि दिलाएको १२ महिनापछि नै उनले क्लबबाट अलग हुने निर्णय लिएका हुन्।
चेल्सी र टोटनह्याम हट्सपरका पूर्व प्रशिक्षक समेत रहेका कोन्टेले सन् २०२४ मा नापोलीको कमान्ड सम्हालेका थिए। उनले क्लबमा आफ्नो पहिलो सिजनमै नापोलीलाई इतिहासको चौथो सिरी ए उपाधि दिलाउन सफल भए। यद्यपि यस सिजनमा भने नापोलीले आफ्नो उपाधि रक्षा गर्न सकेन र च्याम्पियन इन्टर मिलानभन्दा ११ अङ्कले पछि पर्दै तालिकाको दोस्रो स्थानमा चित्त बुझायो। कोन्टेका लागि सधैँ चुनौतीपूर्ण बन्दै आएको च्याम्पियन्स लिगमा पनि यसपटक नापोली नकआउट चरणमा पुग्न असफल रह्यो।
आइतबार सिजनको अन्तिम खेलमा उडिनेसेमाथि १–० को संघर्षपूर्ण जित निकालेपछि कोन्टेले क्लबका अध्यक्ष औरेलियो डे लाउरेन्टिससँग संयुक्त पत्रकार सम्मेलन गर्दै आफ्नो बिदाइको घोषणा गरेका हुन्। इटालियन सञ्चारमाध्यमहरूसँग कुरा गर्दै कोन्टेले भने, ‘नापोलीको प्रशिक्षक हुनु मेरो लागि सम्मानको कुरा हो र यो निकै विशेष रह्यो। यहाँका दुई सिजन निकै उत्कृष्ट रहे र यो एउटा असाधारण अनुभव बन्यो।’ उनले यो आफ्नो व्यक्तिगत निर्णय भएको स्पष्ट पार्दै केही हप्ताअघि नै अध्यक्षलाई यसबारे जानकारी गराइसकेको र नापोली सधैँ आफ्नो घरजस्तै रहने बताए।
पत्रकार सम्मेलनका क्रममा उनलाई भविष्यमा इटालीको राष्ट्रिय फुटबल टोलीको नयाँ प्रशिक्षक बन्न सक्ने सम्भावनाबारे प्रश्न सोधिएको थियो। उक्त प्रश्नको जवाफमा ठट्टा गर्दै कोन्टेले भने, ‘यसका लागि मेरो सुझाव पेप ग्वार्डिओलालाई नियुक्त गर्नू भन्ने हुनेछ।’
वास्तवमा कोन्टेले गत समरमै क्लब छोड्ने तयारी गरेका थिए, तर अध्यक्ष डे लाउरेन्टिससँगको वार्तापछि उनी क्लबमै बस्न सहमत भएका थिए।
उपाधि जोगाउने लक्ष्यका साथ नापोलीले यस सिजन केभिन डे ब्रुइना र रासमस होयलुन्ड जस्ता नयाँ खेलाडीहरूलाई टोलीमा भित्र्याएको थियो। तर खेलाडीहरूको चोट र प्रदर्शनमा आएको उतारचढावका कारण नापोलीको उपाधि रक्षा गर्ने अभियानमा धक्का पुग्यो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण