ईदको मुखमा पश्चिम बंगालका पशुहाट सुनसान, मुस्लिम समुदायमा त्रास
सारांश
- पश्चिम बंगालमा विधानसभा निर्वाचनपछि भाजपा सरकारले गाईगोरुबधसम्बन्धी कानुन कडाइका साथ लागू गरेपछि ईदअघि पशुहाट सुनसान भएका छन् ।
- नयाँ कानुनले व्यापारी, होटल व्यवसायी र मुस्लिम समुदायमा भयको वातावरण सिर्जना गरेको छ, जसले गर्दा मासु व्यापारमा ठूलो असर परेको छ ।
- मानवअधिकारकर्मीहरूले यसलाई भाजपा सरकारको 'वैचारिक एजेन्डा' र मुस्लिम समुदायविरुद्ध बढ्दो प्रवृत्ति मानेका छन्, जबकि भाजपाले पुरानो कानुन कार्यान्वयन मात्र गरेको दाबी गरेको छ ।
पश्चिम बंगाल । भारतको पश्चिम बंगाल राज्यमा यस वर्षको ईद अल–अधाअघि पशुहाटहरू सुनसान बनेका छन् । हालै सम्पन्न विधानसभा निर्वाचनपछि पहिलो पटक सत्तामा आएको नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा)को सरकारले गाईगोरुबधसम्बन्धी कानुन कडाइका साथ लागू गर्न थालेपछि व्यापारी, होटल व्यवसायी र मुस्लिम समुदायमा भयको वातावरण सिर्जना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
कोलकत्ताको बाहिरी क्षेत्रमा रहेको धुलागढ पशुहाटमा ईदअघि सामान्यतया हजारौँ खरिदकर्ता पुग्ने गर्दथे । तर यस वर्ष बजार लगभग खाली देखिएको छ । सयौँ गाई तथा भैँसी बिक्रीका लागि बाँधिएर राखिए पनि ग्राहकको उपस्थिति न्यून छ । व्यापारीहरूका अनुसार मुस्लिम समुदायमा डर फैलिएकाले किनबेच ठप्पप्रायः बनेको हो ।
भारतमा ईद अल–अधाको अवसरमा मुस्लिम समुदायले ‘कुर्बानी’ दिने परम्परा रहिआएको छ । धेरै परिवारले मिलेर गाई, भैँसी, बाख्रा वा भेडा खरिद गरी मासु बाँड्ने चलन छ । पश्चिम बंगालमा हिन्दू व्यापारी र मुस्लिम खरिदकर्ताबीच दशकौँदेखि चल्दै आएको व्यापारिक सम्बन्ध यस वर्ष राजनीतिक परिवर्तनपछि प्रभावित भएको बताइएको छ ।
निर्वाचनमा विजयी भएपछि पश्चिम बंगालका नयाँ मुख्यमन्त्री सुभेन्दु अधिकारीले १९५० को गाईबधसम्बन्धी कानुन कडाइका साथ लागू गर्ने घोषणा गरेका थिए । उक्त कानुनअनुसार सरकारी अधिकारीबाट अनुमति नलिइ गाईबध गर्न पाइँदैन । साथै, तोकिएका सरकारी वधशालामा मात्रै बध गर्न सकिने व्यवस्था छ ।
यस निर्णयपछि मासु व्यापारमा ठुलो असर परेको व्यापारीहरू बताउँछन् । कोलकाताका धेरै मासु पसलहरू अहिले चाँडै बन्द हुन थालेका छन् भने गोमासुको मूल्य पनि तीव्र रूपमा घटेको छ। केही व्यापारीहरूका अनुसार पहिले प्रतिकिलो ४०० भारतीय रुपैयाँसम्ममा बिक्री हुने गाइगोरुको मासु अहिले १५० रुपैयाँसम्ममा झरेको छ ।
कोलकातास्थित ‘द बर्गर सप’ नामक रेस्टुरेन्टले समेत आफ्नो चर्चित बीफ बर्गर बिक्री रोकिएको जनाएको छ । रेस्टुरेन्ट सञ्चालक उत्सा भन्छिन्, ‘हाम्रा बर्गरको कुनै धर्म थिएन, तर राजनीतिले त्यसलाई धर्मसँग जोडिदियो ।’ उनका अनुसार मासु आपूर्ति गर्ने व्यापारीलाई प्रहरीले दबाब दिएपछि व्यवसाय रोक्नुपरेको हो ।
धुलागढ बजारका व्यापारीहरूले यस वर्ष ठुलो आर्थिक क्षति बेहोर्नुपरेको बताएका छन् । केही व्यापारीले ऋण लिएर गाई खरिद गरेका थिए, तर बिक्री नहुँदा उनीहरू चिन्तित बनेका छन् । मुस्लिम व्यापारी सुन्दरले आफ्नी आमाको गहना धितो राखेर १० लाख रुपैयाँ ऋण लिई गाई खरिद गरेको बताए । ‘गत वर्ष सयभन्दा बढी गाई बिक्री गरेको थिएँ, तर यसपटक एउटा पनि बेच्न सकेको छैन,’ उनले भने ।
यसैबीच, पश्चिम बंगालका केही मुस्लिम बाहुल्य क्षेत्रमा सडकमा नमाज पढ्न पनि रोक लगाइएको स्थानीयवासीहरूले बताएका छन् । ईदअघि सामान्यतया अत्यधिक भीड हुने बजारहरू अहिले सुनसानजस्तै बनेका छन् ।
मानवअधिकारकर्मी तथा लेखक हर्ष मन्दरले भाजपा सरकारले ‘वैचारिक एजेन्डा’ लागू गरिरहेको आरोप लगाएका छन् । उनका अनुसार भारतमा मुस्लिम समुदायलाई दोस्रो दर्जाको नागरिकसरह व्यवहार गर्ने प्रवृत्ति बढ्दै गएको छ ।
तर भाजपा नेताहरूले भने आफूहरूले केवल पुरानो कानुन कार्यान्वयन गरेको दाबी गरेका छन् । पार्टी प्रवक्ता देबजित सरकारले ‘पहिले पालना नगरिएका कानुन अहिले लागू गरिएको मात्र हो’ बताएका छन् ।
विश्लेषकहरूका अनुसार पश्चिम बंगालमा सत्ता परिवर्तनसँगै गाईगोरुकोबध, मासु व्यापार र धार्मिक अभ्यासहरू राजनीतिक विवादको केन्द्र बनेका छन् । यसको प्रत्यक्ष असर लाखौँ मानिसको जीविकोपार्जन र सामाजिक सम्बन्धमा परेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
-
युवा संघका सचिवालय सदस्य बमसहित २४ जना जुवाखालबाट पक्राउ
-
युरो कप र नेसन्स लिगको सेमिफाइनलमा फ्रान्सलाई हराएको शैली नै अपनाउने स्पेनको रणनीति
-
विश्वविद्यालयमा दलीय राजनीति अन्त्य गर्ने उपकुलपतिहरूको प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण