बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

च्याम्पियन्स लिगमा छनोट हुन नसकेपछि प्रशिक्षक एलेग्री बर्खास्त

मङ्गलबार, १२ जेठ २०८३, ०९ : ११
मङ्गलबार, १२ जेठ २०८३

सारांश

  • एसी मिलानले मुख्य प्रशिक्षक मासिमिलानो एलेग्रीलाई च्याम्पियन्स लिगमा छनोट हुन असफल भएपछि पदबाट बर्खास्त गरेको छ।
  • सिरी 'ए' को अन्तिम खेलमा काग्लियारीसँग पराजित भएपछि मिलान पाँचौँ स्थानमा झर्दै च्याम्पियन्स लिग खेल्नबाट बञ्चित भएको छ।
  • प्रशिक्षक एलेग्रीसँगै जर्जियो फुर्लानी, इग्ली तारे र जेफ्री मोन्काडाले पनि क्लब छाडेका छन्।

मिलान । इटालियन फुटबल क्लब एसी मिलानले मुख्य प्रशिक्षक मासिमिलानो एलेग्रीलाई पदबाट बर्खास्त गरेको छ। टोली च्याम्पियन्स लिगमा छनोट हुन असफल भएपछि क्लबको उच्च नेतृत्वले यस सिजनलाई ‘पूर्ण रूपमा असफल’ घोषणा गर्दै उनलाई हटाएको हो। 

सिरी ‘ए’ को अन्तिम खेलमा काग्लियारीसँग २–१ को पराजय बेहोरेपछि मिलान तालिकाको तेस्रो स्थानबाट चिप्लिएर पाँचौँ स्थानमा पुगेको थियो। यससँगै मिलान लगातार दोस्रो वर्ष युरोपको प्रतिष्ठित क्लब प्रतियोगिता च्याम्पियन्स लिग खेल्नबाट बञ्चित भएको छ। 

आगामी सिजन इटालीको तर्फबाट इन्टर मिलान, नापोली, रोमा र इतिहासमै पहिलोपटक कोमोले च्याम्पियन्स लिगमा प्रतिनिधित्व गर्ने भएका छन् भने एसी मिलान र युभेन्टसले युरोपा लिगमा चित्त बुझाउनुपर्ने भएको छ।

सन् २०२२ मा एसी मिलान खरिद गरेको अमेरिकी लगानी समूह रेडबर्ड क्यापिटलले जारी गरेको विज्ञप्तिमा सिजनको अधिकांश समय टोली शीर्ष दुई स्थानमा रहेको र उपाधिका लागि बलियो दाबेदार देखिएको उल्लेख छ। 

विज्ञप्तिमा भनिएको छ, ‘प्रतियोगिताको अन्तिम चरणको प्रदर्शन त्यसअघिको खेलको तुलनामा पूर्ण रूपमा असंगत रह्यो र अन्तिम खेलको निराशाजनक हारले यो सिजनलाई स्पष्ट रूपमा असफल सिद्ध गरिदियो। अब फुटबल अपरेसनमा परिवर्तन र व्यापक पुनर्गठनको समय आएको छ।’

मालिक पक्षको यो घोषणासँगै प्रशिक्षक एलेग्री मात्र नभई क्लबका प्रमुख कार्यकारी जर्जियो फुर्लानी, खेलकुद निर्देशक इग्ली तारे र प्राविधिक निर्देशक जेफ्री मोन्काडाले पनि क्लब छाडेका छन्। ५८ वर्षीय एलेग्री गत वर्षको मे महिनामा सर्जियो कोन्सेसाओको स्थान लिँदै दोस्रो कार्यकालका लागि मिलान फर्किएका थिए। 

यसअघि उनले सन् २०१० देखि २०१४ सम्म क्लब सम्हाल्दा २०१०–११ को सिजनमा लिग उपाधि र त्यसपछिको सिजनमा इटालियन सुपर कप जिताएका थिए। प्रतिद्वन्द्वी इन्टर मिलानले तीन सिजनमा दोस्रोपटक उपाधि जित्दा एसी मिलानले भने आफ्नो अभियानको अन्तिम १३ खेलमध्ये ७ खेलमा पराजय व्यहोर्नुपरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप