शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकाले बस्न नदिएपछि इरानको टोलीको यस्तो छ विश्वकपमा तयारी

मङ्गलबार, १२ जेठ २०८३, ११ : ११
मङ्गलबार, १२ जेठ २०८३

सारांश

  • अमेरिकाले इरानको राष्ट्रिय फुटबल टोलीलाई विश्वकप अवधिभर आफ्नो भूमिमा बस्न अनुमति नदिएपछि टोलीले मेक्सिकोमा बस्नुपर्ने भएको छ ।
  • इरानको टोलीले अब मेक्सिकोको सीमावर्ती शहर टिजुआनामा आफ्नो बेस क्याम्प बनाउनेछ र खेल हुने दिन अमेरिकातर्फ यात्रा गर्नेछ ।
  • इरानले समूह 'जी' अन्तर्गत तीन खेलहरू अमेरिकामा खेल्ने तालिका छ, जसमा न्यूजिल्यान्ड, बेल्जियम र इजिप्टविरुद्धका खेलहरू समावेश छन् ।

मेक्सिको सिटी । सन् २०२६ को फिफा विश्वकपअघि नयाँ विवाद उत्पन्न भएको छ । अमेरिकाले इरानको राष्ट्रिय फुटबल टोलीलाई प्रतियोगिताभर आफ्नो भूमिमा बस्न अनुमति नदिएपछि टोलीले मेक्सिकोमा बसेर अमेरिकामा हुने खेल खेल्नुपर्ने भएको छ ।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउमले सोमबार पत्रकार सम्मेलनमा फिफाले आफ्नो सरकारसँग विशेष अनुरोध गरेको जानकारी दिइन् । उनका अनुसार अमेरिकी अधिकारीहरूले इरानी टोलीलाई विश्वकप अवधिभर अमेरिकामा राख्न नचाहेको संकेत दिएका थिए । ‘उनीहरूलाई मेक्सिकोमा बस्न नदिने कुनै कारण हामीसँग छैन,’ शिनबाउमले भनिन् ।

इरानको टोलीले अब मेक्सिकोको सीमावर्ती शहर टिजुआनामा आफ्नो बेस क्याम्प बनाउनेछ । त्यहाँबाट टोलीले खेल हुने दिन अमेरिकातर्फ यात्रा गर्नेछ । इरानले समूह ‘जी’ अन्तर्गत तीन खेल अमेरिकामा खेल्ने तालिका छ । 

पहिलो खेल जुन १५ मा न्यूजिल्यान्डविरुद्ध लस एन्जलसमा हुने छ । दोस्रो खेल जुन २१ बेल्जियमविरुद्ध  लस एन्जलसमै खेलिनेछ भने तेस्रो खेल जुन २६ इजिप्टविरुद्ध छ । यो खेल सियाटलमा हुनेछ ।

इरानी फुटबल महासंघका अध्यक्ष मेहदी ताजले यसअघि टोलीको बेस एरिजोनाबाट टिजुआनामा सारिने बताएका थिए । फिफाले सोमबार यो निर्णय पुष्टि गरेको छ । उनका अनुसार यसले भिसासम्बन्धी झन्झट कम गर्नेछ र इरान एयरका सिधा उडानमार्फत टोली मेक्सिको पुग्न पनि सहज हुनेछ ।

सुरक्षा र राजनीति मिसिएको विश्वकप

इरानको विश्वकप सहभागिताबारे अमेरिकाले इजरायलसँग मिलेर फेब्रुअरीको अन्त्यमा इरानमाथि सैन्य हमला गरेदेखि नै प्रशन उठ्न थालेका थिए । त्यसपछि सुरु भएको युद्धले इरानले विश्वकप खेल्न आउने वा नआउने भन्ने अनिश्चितता बढाएको थियो ।

मार्चमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई विश्वकपमा सहभागी हुन स्वागत गरे पनि टोलीलाई अमेरिकामा लामो समय बस्नु उनीहरूको आफ्नै सुरक्षा दृष्टिले उपयुक्त नहुने बताएका थिए ।

यसपछि इरानले फिफासँग आफ्ना समूह चरणका खेलहरू मेक्सिकोमा सार्नसमेत छलफल गरेको थियो । मेक्सिकोले त्यसबेला पनि आफू तयार रहेको जनाएको थियो । तर फिफाले खेल तालिका परिवर्तन गरेन ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप