‘एभरेस्ट टुरिजम अवार्ड २०२६’ सम्पन्न, पेर्टेम्बा शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’
सारांश
- ‘एभरेस्ट टुरिजम अवार्ड २०२६’ काठमाडौँमा सम्पन्न भएको छ।
- दिग्गज पर्वतारोही पेर्टेम्बा शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको छ।
- पूर्व राष्ट्रपति डा. रामवरण यादवले हिमाल संरक्षणको आवश्यकतामा जोड दिएका छन्।
काठमाडौँ । राजधानी काठमाडौँमा ‘एभरेस्ट टुरिजम अवार्ड २०२६’ एक विशेष समारोहका बिच भव्य रूपमा सम्पन्न भएको छ ।
पूर्व राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा नेपालको पर्यटन, पर्वतारोहण र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने विभिन्न स्वदेशी तथा विदेशी व्यक्तित्व र संस्थाहरूलाई अवार्ड प्रदान गरिएको छ ।
यस वर्षको प्रतिष्ठित ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट दिग्गज पर्वतारोही पेर्टेम्बा शेर्पालाई सम्मानित गरिएको छ । शेर्पाले सन् १९७५ मा दक्षिण–पश्चिम मार्गबाट सगरमाथाको शिखरमा पहिलो सफल आरोहण टोलीसँगै पुगेर इतिहास रचेका थिए । पर्यटन क्षेत्रमा उनले पुर्याएको अमूल्य योगदानको उच्च कदर गर्दै प्रमुख अतिथि पूर्व राष्ट्रपति यादवले उनलाई दोसल्ला ओढाएर, प्रमाणपत्रका साथै ५१ हजार एक सय ५१ रुपैयाँ नगद पुरस्कारसहित सम्मानित गरे ।
यसैगरी, सामाजिक योगदान, मानवता सेवा तथा शान्ति स्थापनाका प्रयासहरूको कदर गर्दै प्रदान गरिने प्रतिष्ठित ‘पीस हिरो अवार्ड २०२६’ भारतीय नेता पप्पू यादव (राजेश रञ्जन) लाई प्रदान गरिएको छ । एभरेस्ट टुरिजम अवार्ड २०२६ अन्तर्गत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूलाई एभरेस्ट टुरिजम सम्मान पनि प्रदान गरियो । यसरी सम्मानित हुनेहरूमा पूर्व रक्षा सचिव यज्ञप्रसाद गौतम, सुनार बहादुर गुरुङ, थाइल्याण्डका विटिद्नान रोजानापनिच, सीमाविद् बुद्धि नारायण श्रेष्ठ र पोर्चुगलका जोआओ गार्सिया रहेका छन् ।

साहसिक खेल र पर्वतारोहणको क्षेत्रमा उत्कृष्ट कार्य गर्नेहरूलाई ‘साहसिक पर्यटन उत्कृष्टता अवार्ड (पर्वतारोहण)’ बाट सम्मानित गरियो । यस विधा अन्तर्गत साउदी अरबका प्रिन्स फैसल अल साउद, रूसकी निकोल कोवाल्चुक, बेलायतकी एड्रियाना ब्राउनली, अष्ट्रेलियाका जो हार्भे, भुटानका कुञ्जाङ छोपेल शेर्पाका साथै पुरुषोत्तम सानु, कल्पना महर्जन, क्यानियोनिङका किशोर साहि, आङ छिरिङ शेर्पा र प्याराग्लाइडिङका सानो बाबु सुनुवार लगायतले अवार्ड हात पारेका छन् ।
विवरण अनुसार, विश्वभर पर्वतारोहणमा नेपालको नाम चम्काउन सफल स्थापित पर्वतारोही निर्मल पुर्जालाई ‘ग्लोबल माउन्टेनियरिङ एक्सिलेन्स अवार्ड’ प्रदान गरिएको छ । त्यस्तै, ‘टुरिज्म एक्सिलेन्स पर्सनालिटी अवार्ड’ विधा अन्तर्गत डा. रवि शर्मा अर्याल, डा. रमेशराज कुँवर, बेलायतका एण्ट मिडलटनका साथै नेपाली चलचित्र क्षेत्रका नायक अनमोल केसी, डान्सर कविता नेपाली र माननीय नीलम पौडेल सम्मानित भएका छन् ।

व्यक्तिगत विधाहरूका अतिरिक्त संस्थागत रूपमा पनि विभिन्न अवार्डहरू वितरण गरिएको छ । स्लोभेनियाका पर्वतारोही भिक्टर ग्रोशेल्ज, रेस्क्यु पेम्बा फ्रेन्च शेर्पा, पोखरा अल्ट्रा लाइट, काठमाडौँ वातावरण शिक्षा परियोजना, नेपाल पर्वतारोहण सङ्घ (एनएमए), दवारिकाज होटल, वेलनेसका लागि रमेश सापकोटा, रोषा टुर एण्ड ट्राभल्स, रेस्क्युका लागि अशोक लामा, वन्यजन्तु संरक्षणका लागि मानशान्त घिमिरे, स्पोर्ट्सका लागि रामजी बहादुर श्रेष्ठ, पत्रकारितातर्फ नारायण भण्डारी तथा बञ्जी जम्पिङमा उत्कृष्टताका लागि द क्लिफ नेपाल लगायतका संस्था तथा व्यक्तिहरूलाई अवार्ड प्रदान गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं पूर्व राष्ट्रपति डा. रामवरण यादवले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असरप्रति चिन्ता व्यक्त गर्दै हिमाल संरक्षणको अत्यन्तै आवश्यकता औंल्याएका छन् । उनले भने, ‘यो देशमा हामीले हिमाल बचाउनुपर्छ । यदि हामीले हिमाल बचाएनौँ भने हाम्रो पृथ्वीको अस्तित्व नै रहँदैन । त्यसैले हामी सबै—तपाईं, हामी सबै मिलेर विश्व एकजुट भएर हिमाल बचाउनुपर्छ ।’ उनले हिमाल बचाउन र पर्यावरण जोगाउन विश्व समुदायले एउटै आवाज बनाएर काम गर्नुपर्नेमा विशेष जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि
-
सरकारमा हुँदा गोर्खा र नागरिकताको मुद्दा सम्बोधन गर्न नसक्नु गल्ती : शेरधन राई
-
कतारका प्रधानमन्त्री र साउदी विदेशमन्त्रीबिच फोन वार्ता
-
पोखरा स्पोर्टस् अवार्डबाट ७ लाख ७१ हजार बचत
-
बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने
-
डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति: फिलीप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण