के हो लोकप्रियतावाद ?
सारांश
- लोकप्रियतावाद (पपुलिजम) एउटा राजनीतिक प्रवृत्ति हो जसले 'जनता' र 'सम्भ्रान्त' बीचको कित्ताकाटमा केन्द्रित हुन्छ ।
- लोकप्रियतावाद दक्षिणपन्थी वा वामपन्थी दुवै हुन सक्छ, जहाँ दक्षिणपन्थीहरूले 'जनता'लाई सामाजिक-सांस्कृतिक रूपमा र वामपन्थीहरूले सामाजिक-आर्थिक रूपमा परिभाषित गर्छन् ।
- लोकप्रियतावाद हराउँदै गएको छैन, बरु यो आधुनिक राजनीतिको स्थायी विशेषता बनेको छ ।
सन् २०१७ मा बेलायत युरोपबाट बाहिरिइसकेको तथा अमेरिकी राष्ट्रपतिका रूपमा पहिलो पटक डोनाल्ड ट्रम्प निर्वाचित भएको बेला पपुलिजम (लोकप्रियतावाद)लाई क्याम्ब्रिज विश्वविद्यालयले ‘वर्ड अफ द इयर’ अर्थात् वर्ष शब्दको रूपमा घोषणा गरेको थियो ।
त्यसको झण्डै एक दशकमा यो शब्दावलीको प्रयोग घट्दै जानेछ भन्ने सोचेको हुनुपर्छ हामीले । तर अमेरिकामा डोनाल्ड ट्रम्प पुनः शक्तिमा आएसँगै, बेलायतमा ‘रिफर्म पार्टी’ले निर्वाचनहरूमा राम्रो प्रदर्शन गरेसँगै तथा अर्जेन्टिनाका राष्ट्रपति जाविएर मिलेइले हातमा काठ काट्ने आरा बोकेर सार्वजनिक स्थानमा आउने गरेका दृश्यसम्म आइपुग्दा लोकप्रियतावाद शब्द झन्–झन् हामीसँग ठोक्किन आइपुगेको छ ।
यी तमाम चर्चा र यो शब्दको प्रयोगका बाबजुद आज पनि यसबारे अन्योल अझै कायम छ । लोकप्रियतावाद के हो ? यो दक्षिणपन्थी प्रवृत्ति हो वा वामपन्थी प्रवृत्ति ? हाम्रो दैनन्दिनको कार्यव्यवहारमा यो लामो समय टिकिरहन्छ वा हराएर जान्छ ?

- लोकप्रियतावाद के हो ?
सामान्य भाषामा भन्नुपर्दा लोकप्रियतावाद (नेपाली सन्दर्भमा यसलाई लोकरिझ्याईं तथा प्रियतावाद पनि भन्ने गरिन्छ) एउटा राजनीतिक प्रवृत्ति हो । यस्तो प्रवृत्ति ‘जनता’ र ‘सम्भ्रान्त’ भनेर गरिएको कित्ताकाटको वरपर घुम्छ ।
लोकप्रियतावादले मानिसलाई कित्ताकाट गर्छ भन्नेमा भने सबैजसो अध्येयता, अनुसन्धाता र अध्यापकहरू करिब–करिब सहमत छन् । तर थप दुई वटा विषयमा भने उनीहरूबिच मतैक्य देखिन्न ।
उनीहरूबिचको पहिलो भिन्न मत यो कस्तो प्रवृत्ति हो भन्नेबारे देखिन्छ । के लोकप्रियतावाद विचारधारा वा विश्वास प्रणाली हो ? रणनीति हो ? वा कुनै आकर्षक राजनीतिक शैली मात्रै हो ?
विज्ञहरू बिचको दोस्रो मत भिन्नता– लोकप्रियतावाद लोकतन्त्रका लागि खतरा हो कि सुधारको प्रयास भन्नेमै देखिन्छ । केही त यसलाई दुवै हो भन्ने पनि छन् ।
- लोकप्रियतावाद दक्षिणपन्थ हो वा वामपन्थ ?
लोकप्रियतावादबारे धेरैजसो अन्योल यसको विचारधारात्मक क्षेत्रमा देखिन्छ । समाजलाई कित्ताकाट गर्नका लागि प्रयोग गरिने दुईवटा शब्दावली ‘जनता’ र ‘सम्भ्रान्त’ स्पष्ट अर्थ राख्ने शब्द होइनन् । तिनीहरूको प्रयोग धेरै तरिकाले गर्न सकिन्छ । लोकप्रियतावादीहरू त्यसलाई अनेक ढङ्गले परिभाषित गर्न सक्छन् ।

दक्षिणपन्थी लोकप्रियतावादीहरू ‘जनता’लाई सामाजिक–सांस्कृतिक अर्थमा प्रयोग गर्छन् । साथै धेरैजसो समय लोकप्रियतावाद र त्यहाँका पुराना स्थानीयवासीलाई जोड्छन् । यसको उदाहरणका रूपमा हामी ट्रम्पको सन्दर्भ लिन सक्छौँ । उनले भन्ने गरेको ‘जनता’मा श्वेत अमेरिकी नागरिकहरू पर्छन् ।
उता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उठाउने गरेको हिन्दु राष्ट्रवादको अवधारणाभित्र खास प्रकारमा नागरिक (मुख्यतः हिन्दु) हरूलाई ‘जनता’को रूपमा लिएको देख्न सकिन्छ । अरू पनि त्यस्ता धेरै दक्षिणपन्थी लोकप्रियतावादीहरू छन्, जसअन्तर्गत हामी प्रमुख रूपमा हंगेरीका भिक्टर ओर्बान, बेलायतका निगेल फराज, नेदरल्यान्डका गीर्ट विल्डर्स तथा अस्ट्रेलियाका पाउलिन हेन्सनलाई लिन सक्छौँ ।
अर्कोतर्फ वामपन्थी लोकप्रियतावाद पनि छ । जसले ‘जनता’ शब्दलाई सामाजिक–आर्थिक प्रवर्गका रूपमा व्याख्या गर्छ । उनीहरू लोकप्रियतावादलाई आर्थिक पुनर्वितरण वा शक्तिको स्थानान्तरणसँग लगेर जोड्छन् । यसका उदाहरणका रूपमा हामी बोलिभियाका इभो मोरालेस, भेनेजुएलाका ह्युगो चाभेज लगायतलाई लिन सक्छौँ । उनीहरू आफ्नो ‘जनता’को अवधारणामा गरिब जनतालाई राख्न खोज्छन् ।
अमेरिकामा सन् २०१६ र २०२०को राष्ट्रपति निर्वाचन अन्तर्गत सुरुवाती अभियानहरूमा बर्नी स्यान्डर्सले श्रमिक वर्ग तथा जोखिमपूर्ण क्षेत्रमा काम गर्ने कामदारहरूलाई आफ्नो ‘जनता’का रूपमा पेस गरेका थिए । वामपन्थी लोकप्रियतावादीको अन्य उदाहरणका रूपमा हामी स्पेनको पोदेमोस पार्टी तथा ग्रीसको सिरिजा पार्टीलाई पनि उल्लेख गर्न सक्छौँ ।
यसैगरी लोकप्रियतावादीहरू माझ ‘सम्भ्रान्त’को परिभाषा गर्ने मामिलामा पनि ठुलो फरक छ । दक्षिणपन्थी लोकप्रियतावादीहरूले निशानामा पार्नेहरूमा सरकारी एवं नीतिगत क्षेत्रका सम्भ्रान्तहरू पर्छन् । यसको उदाहरणका रूपमा हामी ट्रम्पले उच्च पदस्थ कर्मचारी, दाता, पुराना नेताहरूलाई तोकेरै सन् २०१६ को निर्वाचनमा ‘ड्रेन द स्वाम्प’ अर्थात ‘दलदल सफा गर’ भनेको सन्दर्भलाई लिन सक्छौँ ।
ट्रम्पले सञ्चारमाध्यमलाई ‘फेक न्युज’ भनेर गरेको आक्रमण पनि यसैमा पर्छ । सांस्कृतिक सम्भ्रान्तहरू यसैमा पर्छन् । यसमा प्राज्ञिक व्यक्तिहरू पर्छन्, जसलाई ‘आइभोरी टावर’ भनेर उडाउने गरिन्छ । त्यसैगरी संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय निकाय पनि यसैमा पर्छन् ।
दक्षिणपन्थी लोकप्रियतावादीहरूको छलफल र चर्चामा यस्ता ‘सम्भ्रान्त’ समूहहरू ‘जनता’को जीवनस्तर अप्ठेरोमा पार्न उद्धत हुन्छन् । उनीहरू के ठान्छन् भने, त्यसैका लागि उनीहरूले अन्य मुलुकबाट आप्रवासन बढाउने वा ‘परम्परागत मूल्य मान्यता’हरू ध्वस्त पार्ने काम गरिरहेका हुन्छन् ।
उता वामपन्थी लोकप्रियतावादीहरू भने व्यापारी तथा शक्तिशालीहरूलाई ‘सम्भ्रान्त’को श्रेणीमा राख्छन् । उनीहरूका अनुसार त्यस्ता सम्भ्रान्तले ‘जनता’लाई आर्थिक रूपमा शोषण गर्छन् । ‘जनता’लाई गरिबीमै राखिराख्न चाहन्छन् । साथै उनीहरूलाई आफ्नो शक्तिको प्रयोग गर्नबाट सधैँ रोक्ने काम गर्छन्, अकुपाई वालस्ट्रिट आन्दोलनको समयमा गरिएको १ प्रतिशत र ९९ प्रतिशतको विभाजन यसैको बलियो उदाहरण हो ।
लोकप्रियतावादीहरू अन्तर्राष्ट्रिय संगठनहरूप्रति पनि शङ्काको दृष्टिले हेर्ने गर्छन् । तर उनीहरूको निशाना भने केही फरक हुन्छ । दक्षिणपन्थी लोकप्रियतावादीहरूको निशानामा संयुक्त राष्ट्रसंघ तथा विश्व स्वास्थ्य संगठन जस्ता संस्था हुन्छन् । उता वामपन्थी लोकप्रियतावादीहरू भने विश्व व्यापार संगठन तथा ‘वर्ल्ड इकोनोमिक फोरम’ जस्ता प्रायः व्यापारसँग सम्बन्धित संस्थाहरू प्रति शङ्का भाव राख्छन् ।

- लोकप्रियतावाद कति समय रहन्छ ?
लोकप्रियतावादी दल वा नेताले जितेका हरेक निर्वाचनलगत्तै जताततै हामी ‘लोकप्रियतावादी भूकम्प’, ‘लोकप्रियतावादको लहर’ र ’लोकप्रियतावादको सुनामी’ जस्ता चर्चा धेरै सुन्ने गर्छौँ । यस्ता विम्बहरूले लोकप्रियतावाद यत्तिकै देखा परेर स्थापित प्रणालीमा अनपेक्षित तथा सशक्त झट्का दिए जस्तो भान गराउँछन् ।
तर, अवस्था त्यस्तो विल्कुल होइन ।
खासमा २१औँ शताब्दीका प्रमुख राजनीतिक कथाहरूमध्ये लोकप्रियतावाद राजनीतिको ‘सामान्य’ र स्वीकृत ‘मूलधार’को अंश बनेको सन्दर्भ पनि एउटा हो ।
लोकप्रियतावादी राजनीतिज्ञ र दलहरू अब किनारामा बसेर विद्यमान राजनीतिक प्रणालीलाई चुनौती दिने साना समूहको रूपमा मात्र रहेनन् । धेरै देशहरूमा त्यस्ता समूहहरू प्रमुख राजनीतिक शक्ति बनिसकेका छन् । धेरै देशमा सत्तामै पुगेका छन् । र, सरकार नै गठन गरिसकेका छन् ।
युरोपको धेरैजसो मुलुकमा अहिले लोकप्रियतावादी दलहरू शीर्ष तीन दलको हैसियतमा पुगिसकेका छन् । अमेरिका, भारत, नेदरल्यान्ड, इटाली एवं ग्रीस जस्ता मुलुकहरूमा त सरकार नै बनाइसकेका छन् ।
यस्तो सफलताका कारण उनीहरू स्वाभाविक र ‘सामान्य’ राजनीतिक खेलाडीका रूपमा देखिन थालेका छन् । यस्तो अवस्थामा मूलधारका दल तथा नेताहरू पनि लोकप्रियतावादीहरूसँग प्रतिस्पर्धा गर्नकै लागि उनीहरूकै जस्तो बहस, प्लेटफर्म र राजनीतिक शैली अपनाउन थालेको पनि देखिन्छ ।
यसरी लोकप्रियतावादीहरूको शैली अपनाउनुको असर भने उल्टो परेको छ । त्यसो गर्दा धेरै देशहरूमा लोकप्रियतावादीहरूले नै वैधानिकता पाएको देखिन्छ । उनीहरूको नीति र बहस थप ‘स्वीकार्य’ हुँदै गएको देखिन्छ ।
लोकप्रियतावादको ‘मृत्यु’ भइसकेको दाबी गर्ने तथा यो एकाएक कतैबाट अचानक देखापरेको हो भनेर दाबी गर्ने दुवैखाले राजनीतिक टिप्पणीकारहरूप्रति हामीले प्रश्न गर्नुपर्छ ।
खासमा भन्ने हो भने आजका दिनमा लोकप्रियतावाद हराउँदै गएको छैन, बरु यो त आधुनिक राजनीतिको स्थायी विशेषता बनिसकेको छ ।
यसलाई राम्रोसँग चिन्न सक्दा यसले मानिसहरूलाई किन र कसरी आकर्षित गर्छ भनेर बुझ्न सजिलो हुन्छ । साथै त्यस्तो बुझाइले हामीलाई लोकप्रियतावादसँग कसरी जुध्ने भन्ने बारे सोच्न पनि सघाउन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण