सुस्ता क्षेत्रमा सशस्त्र प्रहरीको स्थायी सीमा सुरक्षा क्याम्प राखियोस् : एमाले सचेतक मेचे
सारांश
- नेकपा (एमाले) राष्ट्रिय सभाकी सचेतक रोशनी मेचेले सुस्ता क्षेत्रमा सशस्त्र प्रहरी बलको स्थायी सीमा सुरक्षा क्याम्पको व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन्।
- उनले प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिपछि भारतीय सीमा सुरक्षा बलले सुस्ता क्षेत्रमा गस्ती गरेको भन्दै आपत्ति जनाइन्।
- सचेतक मेचेले सुस्ताको सीमा क्षेत्रमा स्थायी रूपमा सीमा स्तम्भ निर्माण गर्ने कार्यलाई अघि बढाउनसमेत सरकारको ध्यानाकर्षण गराइन्।
काठमाडौँ। नेकपा (एमाले) राष्ट्रिय सभाकी सचेतक रोशनी मेचेले सुस्ता क्षेत्रमा सशस्त्र प्रहरी बलको स्थायी सीमा सुरक्षा क्याम्पको व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन्।
सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले नेपाली भूमिको रक्षाका लागि सरकारले तत्काल कदम चाल्नुपर्नेमा जोड दिएकी हुन्।
प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिपछि भारतीय सीमा सुरक्षा बलले सुस्ता क्षेत्रमा गस्ती गरेको भन्दै उनले आपत्ति जनाइन्। उक्त भूमिको सुरक्षाका लागि सरकारले तत्काल सशस्त्र प्रहरी बलको स्थायी क्याम्प खडा गरी नेपाली भूमिको रक्षा गर्नुपर्ने उनको भनाइ थियो। बैठकमा बोल्दै सांसद मेचेले प्रधानमन्त्री साहले नेपालले पनि भारतको धेरै भूमि मिचेको भनी दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै तत्काल माफी माग्नसमेत सचेत गराइन्।
सुस्ताको सीमा समस्या र स्थायी सुरक्षा व्यवस्थाबारे सरकारको ध्यानाकर्षण गराउँदै उनले भनिन्, ‘सुगौली सन्धिलाई अकाट्य कानुनी आधार मान्दै सुस्तामा हराएको २४ किलोमिटर क्षेत्रमा अवस्थित म्यापको आधारमा तत्काल स्थायी सीमा स्तम्भ गाड्न भारत सरकारसँग कूटनीतिक वार्ता कहिले सुरु हुन्छ सरकार ? जेठ २९ गतेका सीमा घुसपैठको घटनालाई मध्यनजर गर्दै सुस्ताको २४ किलोमिटर खुला सीमा क्षेत्रमा २४ घण्टा नै सशस्त्र प्रहरी बलको स्थायी गस्ती गर्ने व्यवस्था गरियोस्।’
सचेतक मेचेले सुस्ताको सीमा क्षेत्रमा स्थायी रूपमा सीमा स्तम्भ निर्माण गर्ने कार्यलाई अघि बढाउनसमेत सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण