गृहमन्त्री सुधन गुरुङको संसदमा आक्रोशपूर्ण सम्बोधन
सारांश
- गृहमन्त्री सुदन गुरुङले गणेश नेपालीको मृत्यु प्रकरणमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा आक्रोश व्यक्त गरेका छन् ।
- उनले गणेश नेपालीलाई बचाउन गृह मन्त्रालयले रातभर गरेको प्रयासको विवरण सुनाउँदै विपक्षीले त्यसलाई 'स्टन्टबाजी' भनेकोमा चित्त दुखाए ।
- गृहमन्त्रीले काठमाडौँ महानगरपालिका र स्थानीय प्रशासनको भूमिकामाथि प्रश्न उठाउँदै विगतका कानुनहरू नै समस्याको जड रहेको तर्क गरे ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा आक्रोशित भावमा प्रस्तुत भएका छन् । मुगुबाट आएर काठमाडौँमा पठाओ चलाउने क्रममा काठमाडौँ महानगर प्रहरी बलका सुरक्षाकर्मीसँगको विवादपछि आत्मदाह गर्ने युवा गणेश नेपालीको मृत्युको विषयलाई लिएर प्रतिपक्षी दलका सांसदहरूले गरेको आलोचनाको प्रतिवाद गर्ने क्रममा उनी शुक्रबारको बैठकमा आक्रोशित भावमा प्रस्तुत भएका हुन् ।
सम्बोधनको सुरुमै उनले केही सांसदहरूले घाँटी सुक्ने गरी चिच्याएर प्रश्न उठाएको भए पनि वास्तविकता बुझ्न प्रयास नगरेको आरोप लगाए । उनले सदनमा उभिएर ‘हिजो हस्पिटलमा गणेश नेपाली जीवनको अन्तिम लडाइँ लडिरहँदा यहाँ चिच्याउने कति जना सांसद पुगेका थिए’ भन्दै कडा प्रश्न गरे ।
गृहमन्त्री गुरुङले गणेश नेपालीलाई बचाउनका लागि गृह मन्त्रालयको टोलीले रातभर खटेर गरेको प्रयासको फेहरिस्त सुनाए । उनले आफू र आफ्नो टोलीले भारतको एम्स हस्पिटलको टिमसँग समन्वय गरेको र उताबाट अनुमति लिन परराष्ट्र मन्त्रालयका सचिव र मन्त्रीहरू समेत रातभर खटिएको जानकारी दिए ।
‘हामीले गणेश नेपालीको सुरक्षित स्थानान्तरणका लागि रातभर एयर एम्बुलेन्स स्ट्यान्डबाइ राख्यौँ, म आफैँ विमानस्थल पुगेर सबै व्यवस्थाको निरीक्षण गरेँ’ उनले थपे । उनले गणेश नेपालीको ब्लड प्रेसर लो हुँदै गएका कारण डाक्टरहरूको सल्लाह बमोजिम नै विदेश लैजान नसकिएको र अन्ततः उनलाई बचाउन नसकिएकोमा गहिरो दुःख व्यक्त गरे ।
आफूले गरेका कामहरूलाई विपक्षीले ‘स्टन्टबाजी’ भनेकोमा उनले चित्त दुखाउँदै त्यसको जवाफ दिए । उनले आफू १० वर्षदेखि विपद् व्यवस्थापनको क्षेत्रमा अनुभव बटुलेको व्यक्ति भएको र जनताको सेवाका लागि कार्यक्षेत्रमा खटिनु स्टन्ट नभई कर्तव्य भएको दाबी गरे ।
‘हामीले हातमा पानी राखेर, देश दुर्घटनामा जाला कि भनेर डराउँदै यहाँसम्म आएका हौँ, यसलाई स्टन्टबाजी भन्नु न्यायपूर्ण छैन’ उनले भने । उनले आफूलाई कसैको सामु स्टन्ट देखाउनुपर्ने कुनै रहर नभएको र केवल देशको सेवा गर्न राजनीतिमा आएको स्पष्ट पारे ।
सम्बोधनका क्रममा गृहमन्त्री गुरुङले काठमाडौँ महानगरपालिका र स्थानीय प्रशासनको भूमिकामाथि पनि प्रश्न उठाए । उनले गणेश नेपालीको बाइकमा ह्विल लक गर्ने काम ट्राफिक प्रहरीले नभई नगर प्रहरीले गरेको भिडियो प्रमाण रहेको दाबी गरे ।
उनले प्रतिपक्षी सांसदहरूलाई लक्षित गर्दै ‘अहिले स्थानीय सरकार र प्रदेश सरकार कसको नेतृत्वमा छ’ भन्दै प्रश्न गरे । उनले विगतका सरकारहरूले बनाएका कानुन र नियमहरूलाई नै आफूले कार्यान्वयन गरेको बताउँदै अहिले देखिएका कतिपय समस्याहरूको जड पुराना कानुनहरू नै रहेको तर्क गरे ।
सवारी साधनको सिसामा ‘ब्ल्याक टिन’ लगाउने विषयमा भएको कडाइ पनि पहिलेकै नियम अनुसार भएको उनले स्पष्ट पारे । विगत ५० वर्षदेखि देशमा शासन गरेका नेताहरूबाट आफूहरूले धेरै कुरा सिक्नुपर्ने भए पनि उनीहरूको गल्तीबाट पाठ सिकेर अघि बढ्नुपर्ने चुनौती रहेको उनले बताए ।
‘तपाईंहरूले ५० वर्ष राज गर्नुभयो, हामी भर्खर आएका छौँ, हामीबाट केही गल्ती भयो भने सुधार्न तयार छौँ तर देश बनाउने अभियानमा खुट्टा तान्ने काम नगरौँ’ उनले भने । उनले आफू एक पुस्ताको प्रतिनिधि भएको र नयाँ पुस्ताको इज्जत जोगाउनका लागि जस्तोसुकै मूल्य चुकाउन तयार रहेको उद्घोष गरे ।
उनले आफूले बोलेका शब्दहरूले कसैको भावनामा चोट पुगेको भए माफी पनि मागे तर आफ्नो नियत सधैँ सफा रहेको दाबी गरे ।
उनले देश रहे मात्र हामी रहने भएकाले सत्ता पक्ष र प्रतिपक्ष मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए । ‘देश बचाउनका लागि यदि सुदन गुरुङको ज्यान जान्छ भने म सबभन्दा अगाडि उभिन तयार छु’ उनले भने । उनको सम्बोधन पछि कम्युनिस्ट पार्टी (नेकपा) का सांसद गोपाल शर्माले नियमापत्ति समेत जनाएका थिए । ‘सदनमा सांसद बोल्दा घाटी सुक्ने गरी चिच्याएको भन्न पाइँदैन । सांसदहरूको अपमान गर्न पाइँदैन । उहाँको त्यो भनाइ संसद्को रेकर्डबाट हटाउन माग गर्दछु,’ सांसद शर्माले भने ।
सभामुखले उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको र छानबिन गरी उचित निर्णय लिने जानकारी दिए । यसैबिच अर्को प्रसङ्गमा गृहमन्त्रीले राष्ट्रिय सेवा दल विधेयक २०८३ को आवश्यकता र महत्त्वका बारेमा पनि लामो व्याख्या गरे । उनले यस विधेयकलाई ‘सैनिकीकरण’ भन्नु गलत भएको र यसको मुख्य उद्देश्य युवाहरूमा अनुशासन, देशभक्ति र विपद् व्यवस्थापनको सीप सिकाउनु रहेको बताए ।
कक्षा ८ देखि १० सम्मका विद्यार्थीका लागि जुनियर डिभिजन र कक्षा ११ र १२ का लागि सिनियर डिभिजन गरी दुई वर्गमा तालिम दिने प्रस्ताव गरिएको उनले जानकारी दिए । ‘यो विधेयक कसैलाई जबरजस्ती सैनिक बनाउन ल्याइएको होइन, यो त राष्ट्रिय एकता र नागरिक जिम्मेवारीको संस्कार विकास गर्न ल्याइएको हो’ उनले थपे । उनले भारत, बेलायत र सिंगापुर जस्ता देशहरूमा पनि यस्तो अभ्यास रहेको उदाहरण प्रस्तुत गरे ।
सांसदहरूले उठाएको २०७२ सालको भूकम्प र कोभिड– १९ महामारीको प्रसङ्ग कोट्याउँदै गुरुङले त्यतिबेला हाम्रा युवाहरू यस्तो तालिमबाट प्रशिक्षित भएको भए अझ धेरै नागरिकको ज्यान जोगाउन सकिने तर्क गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
-
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु
-
सर्लाहीमा एक युवकले गरे आत्मदाह प्रयास, हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण