आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
विश्वकप विशेष

विश्वकप इतिहासमा यी हुन् उत्कृष्ट १० फाइनल

आइतबार, ०३ साउन २०८३, १२ : २०
आइतबार, ०३ साउन २०८३

सारांश

  • बीबीसी स्पोर्टका पत्रकार एलेक्स बाइसाउथले विश्वकप इतिहासका उत्कृष्ट १० फाइनलको सूची तयार पारेका छन् ।
  • जसमा १९७० को ब्राजिल-इटाली फाइनल उत्कृष्ट मानिएको छ, जहाँ ब्राजिलले जुल्स रिमे ट्रफी स्थायी रूपमा जित्यो ।
  • २०२२ को अर्जेन्टिना-फ्रान्स फाइनललाई इतिहासकै सबैभन्दा रोमाञ्चक फाइनलको रूपमा सूचीकृत गरिएको छ ।

विश्वकपको प्रत्येक फाइनल आफ्नै हिसाबले ऐतिहासिक छन् । चार–चार वर्षको प्रतीक्षापछि आयोजना हुने यो प्रतियोगिताको अन्तिम खेल फुटबल संसारकै सबैभन्दा ठुलो मञ्च हो ।

लगभग एक शताब्दी लामो इतिहासमा पुरुष विश्वकपका २३ संस्करण सम्पन्न भइसकेका छन् । तर सबैभन्दा उत्कृष्ट फाइनल कुन हो भन्ने प्रश्नको उत्तर सजिलो छैन ।

के धेरै गोल भएको खेल उत्कृष्ट मान्ने ? कि नाटकीय उतारचढाव भएको खेल ? कि आफ्नो उत्कर्षमा रहेका महान् खेलाडीले चम्किएको फाइनल ? यी सबै पक्षलाई ध्यानमा राख्दै बीबीसी स्पोर्टका वरिष्ठ पत्रकार एलेक्स बाइसाउथले विश्वकप इतिहासका उत्कृष्ट १० फाइनलको सूची तयार गरेका छन् ।

१०. ब्राजिल–जर्मनी (२००२): सन् २००२ को फाइनल सबैभन्दा रोमाञ्चक खेल थिएन, तर यसको कथा अत्यन्त प्रेरणादायी थियो । यो विश्वकप रोनाल्डोको पुनर्जन्मको कथा बनेको थियो ।

चार वर्षअघि फ्रान्ससँग फाइनलमा पराजित हुनुअघि स्वास्थ्य समस्याबाट गुज्रिएका र त्यसपछि गम्भीर चोटका कारण करिअर नै सङ्कटमा परेका रोनाल्डोले विश्वकपअघि इन्टर मिलानबाट निकै थोरै खेल खेलेका थिए, तर दक्षिण कोरिया–जापान विश्वकपमा उनी पुरानै लयमा फर्किए ।

रिभाल्डो, रोनाल्डिन्हो, रोबर्टो कार्लोस र काफुजस्ता स्टार खेलाडीको साथ पाएका रोनाल्डोले फाइनलमा जर्मनीविरुद्ध दोस्रो हाफमा दुई गोल गर्दै ब्राजिललाई २–० को जित दिलाए । यो ब्राजिलको पाँचौँ विश्वकप उपाधि थियो, जुन अहिलेसम्म पनि कीर्तिमान बनेको छ ।

९. इटाली–फ्रान्स (पेनाल्टीमा ५–३) – २००६

सन् २००६ को विश्वकप फाइनल सम्झँदा सबैभन्दा पहिले जिनेदिन जिदानको ‘हेडबट’ सम्झना आउँछ । जिदान प्रतियोगिताभर उत्कृष्ट लयमा थिए । फाइनलमा उनले पनेन्का शैलीमा पेनाल्टी गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । तर खेल अतिरिक्त समयमा पुग्दा इटालीका मार्को मातेराज्जीमाथि टाउकोले प्रहार गरेपछि जिदानले रातो कार्ड पाए ।

त्यो घटना जिदानको व्यावसायिक फुटबल जीवनको अन्तिम क्षण बन्यो । उनी मैदानबाट बाहिरिएपछि खेल पेनाल्टीमा पुग्यो, जहाँ इटालीले ५–३ ले जित्दै चौथो विश्वकप उपाधि उचाल्यो । मातेराज्जीले पेनाल्टीमा गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरेका थिए ।

८. पश्चिम जर्मनी–नेदरल्यान्ड्स (१९७४)

सन् १९७४ को विश्वकपमा जोहान क्रुइफको नेतृत्वमा रहेको नेदरल्यान्ड्सलाई प्रतियोगिताको सबैभन्दा बलियो टोली मानिएको थियो । ‘टोटल फुटबल’ शैलीले विश्वलाई मोहित बनाएको डच टोली फाइनलमा पनि आत्मविश्वासले भरिएको थियो ।

खेल सुरु भएको केही क्षणमै जोहान नेस्केन्सले पेनाल्टीबाट गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाए । रोचक कुरा के भने त्यसबेलासम्म पश्चिम जर्मनीले बल नै छोएको थिएन ।

तर घरेलु टोलीले शानदार पुनरागमन गर्‍यो । पाउल ब्राइटनरले पेनाल्टीमार्फत बराबरी गरे भने गर्ड मुलरले निर्णायक गोल गर्दै पश्चिम जर्मनीलाई २–१ को जित दिलाए । नेदरल्यान्ड्सले त्यसपछि खेलमा फर्कने अवसर पाएन र ‘टोटल फुटबल’ को त्यो स्वर्णिम टोली उपाधिबाट वञ्चित रह्यो ।

७. पश्चिम जर्मनी–हंगेरी (१९५४)

सन् १९५४ मा हंगेरीको ‘म्याजिकल म्याज्यार्स’ टोलीलाई विश्वकै सबैभन्दा शक्तिशाली मानिन्थ्यो । फेरेन्स पुस्कास, सान्दोर कोचिस र नान्दोर हिडेगकुटीजस्ता स्टार खेलाडी रहेको टोली पाँच वर्षभन्दा बढी समयदेखि अपराजित थियो ।

समूह चरणमै हंगेरीले यही पश्चिम जर्मनीलाई ८–३ ले हराएको थियो । त्यसैले फाइनलमा पनि हंगेरी नै स्पष्ट दाबेदार थियो ।

फाइनलमा हंगेरीले आठ मिनेटभित्रै २–० को अग्रता लियो, तर पश्चिम जर्मनीले अविश्वसनीय पुनरागमन गर्दै १० मिनेटमै बराबरी गर्‍यो । खेल सकिन ६ मिनेट बाँकी रहँदा हेलमुट राह्नले विजयी गोल गरे र फुटबल इतिहासमा ‘मिरेकल अफ बर्न’ भनेर चिनिने ऐतिहासिक जित दिलाए ।

६. अर्जेन्टिना–पश्चिम जर्मनी (१९८६)

सन् १९८६ को विश्वकपलाई धेरैले डिएगो म्याराडोनाको विश्वकपका रूपमा सम्झन्छन् । यद्यपि फाइनलमा पश्चिम जर्मनीका कप्तान लोथार माथाउसले म्याराडोनामाथि कडा निगरानी राखेका थिए ।

अर्जेन्टिनाले जोसे लुइस ब्राउन र होर्खे भाल्दानोको गोलमा २–० को अग्रता बनायो । तर पश्चिम जर्मनीले कार्ल–हाइन्ज रुमेनिग्गे र रुडी फोलरको गोलबाट खेल २–२ को बराबरीमा ल्यायो ।

खेल सकिन ६ मिनेट बाँकी रहँदा म्याराडोनाले आफ्नो अद्भुत दृष्टि र पासिङ क्षमता देखाए । उनले दिएको सटिक पासमा होर्खे बुरुचागा एक्लै अघि बढ्दै विजयी गोल गरे र अर्जेन्टिनाले दोस्रो विश्वकप उपाधि जित्यो । त्यो क्षणले म्याराडोनालाई फुटबलको अमर नायक बनायो ।

५. फ्रान्स–ब्राजिल (१९९८)

सन् १९९८ को विश्वकप फ्रान्सका लागि ऐतिहासिक बन्यो । आफ्नै भूमिमा पहिलो पटक विश्वकप आयोजना गरेको फ्रान्सले पहिलोपटक विश्व च्याम्पियन बन्ने सपना पूरा गर्‍यो ।

अल्जेरियाली मूलका जिनेदिन जिदानको नेतृत्वमा रहेको बहुसांस्कृतिक फ्रान्सेली टोलीले फाइनलमा साविक विजेता ब्राजिललाई ३–० ले पराजित गर्‍यो ।

खेलअघि ब्राजिलका स्टार स्ट्राइकर रोनाल्डोको स्वास्थ्य अवस्थाले ठुलो चर्चा पाएको थियो । उनी खेलअघि बेहोसजस्तै भएपछि खेल्ने वा नखेल्ने अन्योल थियो । अन्ततः मैदानमा उत्रिए पनि उनी आफ्नो वास्तविक लयमा देखिएनन् ।

उता जिदानले दुई हेडर गोल गरे भने इमानुएल पेटिटले अर्को गोल थप्दै फ्रान्सलाई ऐतिहासिक उपाधि दिलाए ।

४. ब्राजिल–स्विडेन (१९५८)

सन् १९५८ को विश्वकपले संसारलाई १७ वर्षीय पेलेसँग परिचित गरायो । घुँडाको चोटका कारण प्रतियोगिताको सुरुवाती खेल गुमाएका पेलेले क्वार्टरफाइनलदेखि आफ्नो जादु देखाउन थाले । फाइनलमा उनले दुई गोल गरे, जसमा पहिलो गोल विश्वकप इतिहासकै उत्कृष्ट गोलमध्ये एक मानिन्छ ।

ब्राजिलले स्विडेनलाई ५–२ ले हराउँदै पहिलो विश्वकप उपाधि जित्यो । पेलेले आफ्नो बाल्यकालमा बुबासँग गरेको एउटा बाचा पनि पूरा गरे । सन् १९५० मा उरुग्वेसँग पराजित भएपछि रोइरहेका बुबालाई उनले भनेका थिए, ‘नरोऊ, एक दिन म ब्राजिललाई विश्वकप जिताएर देखाउनेछु ।’ आठ वर्षपछि त्यो सपना साकार भयो ।

३. इंग्ल्यान्ड–पश्चिम जर्मनी (१९६६)

आजसम्म इंग्ल्यान्डले जितेको एकमात्र विश्वकप यही हो । वेम्बलीमा भएको फाइनलमा इंग्ल्यान्डले सुरुमा गोल खाए पनि फर्केर अग्रता लियो । तर खेल सकिन एक मिनेट बाँकी रहँदा पश्चिम जर्मनीले बराबरी गोल गर्दै खेललाई अतिरिक्त समयमा पुर्‍यायो ।

त्यसपछि जियोफ हस्र्ट चम्किए । उनले अतिरिक्त समयमा दुई गोल गर्दै विश्वकप फाइनलमा ह्याट्रिक गर्ने इतिहासका एकमात्र खेलाडी बने । विवादास्पद तेस्रो गोलका कारण यो फाइनल आज पनि विश्व फुटबलको चर्चित खेलमध्ये एक मानिन्छ ।

२. अर्जेन्टिना–फ्रान्स (पेनाल्टीमा ४–२) (२०२२)

धेरैको विचारमा यो विश्वकप इतिहासकै सबैभन्दा रोमाञ्चक फाइनल हो । अर्जेन्टिनाले २–० को सहज अग्रता लिएको अवस्थामा किलियन एमबाप्पेले ९० सेकेन्डभित्र दुई गोल गर्दै खेल बराबरीमा ल्याए ।

अतिरिक्त समयमा मेसीले पुनः अर्जेन्टिनालाई अग्रता दिलाए, तर एमबाप्पेले ह्याट्रिक पूरा गर्दै फेरि खेल बराबरीमा पुर्‍याए । पेनाल्टी सुटआउटमा एमिलियानो मार्टिनेज नायक बने । उनले उत्कृष्ट बचाउ गर्दै अर्जेन्टिनालाई ३६ वर्षपछि विश्व च्याम्पियन बनाए । मेसीले पनि अन्ततः आफ्नो करियरको सबैभन्दा ठुलो सपना पूरा गरे र विश्व फुटबलमा आफ्नो महानताको बहसलाई नयाँ उचाइमा पुर्‍याए ।

१. ब्राजिल–इटाली (१९७०)

बीबीसी स्पोर्टका अनुसार विश्वकप इतिहासको सबैभन्दा उत्कृष्ट फाइनल सन् १९७० को ब्राजिल–इटाली भिडन्त हो । मेक्सिकोको एज्टेका रंगशालामा पेले, जाइर्जिन्हो, तोस्ताओ, रिभेलिनोजस्ता महान् खेलाडीले भरिएको ब्राजिलले आफ्नो उत्कृष्ट फुटबल प्रस्तुत गर्‍यो ।

पेलेले हेडमार्फत पहिलो गोल गरे । दोस्रो हाफमा गेर्सन, जाइर्जिन्हो र कप्तान कार्लोस अल्बर्टोले गोल थपे । विशेषगरी कार्लोस अल्बर्टोको गोल आज पनि विश्वकप इतिहासकै उत्कृष्ट सामूहिक गोलमध्ये एक मानिन्छ ।

४–१ को जितसँगै ब्राजिलले तेस्रो विश्वकप उपाधि जित्यो र जुल्स रिमे ट्रफी स्थायी रूपमा आफ्नो नाममा गर्‍यो । पेलेले पनि तेस्रो पटक विश्व च्याम्पियन बन्ने अद्वितीय कीर्तिमान कायम गरे । यही कारण १९७० को ब्राजिल टोलीलाई धेरै फुटबल विश्लेषकले इतिहासकै महान् राष्ट्रिय टोलीका रूपमा मूल्याङ्कन गर्छन् ।

बीबीसीबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप