सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

पारामेडिक्सका नीतिगत अन्योल हटाउन सीएमए सङ्घको माग

आइतबार, १० साउन २०८३, १६ : ३१
आइतबार, १० साउन २०८३

सारांश

  • नेपाल सीएमए सङ्घ केन्द्रीय कार्यसमितिले गण्डकी, लुम्बिनी र बाग्मती प्रदेशका जिल्ला अध्यक्ष, प्रतिनिधि र समन्वय समितिका सदस्यहरूको संयुक्त प्रदेशस्तरीय भेला तथा अन्तरक्रिया कार्यक्रम नवलपरासीमा सम्पन्न गरेको छ।
  • कार्यक्रममा सीएमए-अहेव पारामेडिक्स स्वास्थ्यकर्मीहरूको पेसागत हक, हित, अधिकार सुनिश्चितता, सङ्गठन सुदृढीकरण र नीतिगत अन्योलबारे छलफल भएको थियो।
  • सहभागीहरूले पारामेडिक्स स्वास्थ्यकर्मीहरूको पेसागत अधिकार राज्यको नीति, निर्देशिका र ऐनमा स्पष्ट रूपमा सुनिश्चित गरी अन्योलता अन्त्य गर्न माग गरेका छन्।

काठमाडौँ । नेपाल सीएमए सङ्घ केन्द्रीय कार्यसमितिको आयोजनामा गण्डकी, लुम्बिनी र बाग्मती प्रदेशका जिल्ला अध्यक्ष, जिल्ला प्रतिनिधि तथा समन्वय समिति सदस्यहरूको संयुक्त प्रदेशस्तरीय भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। आइतबार नवलपरासीमा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सीएमए–अहेव पारामेडिक्स स्वास्थ्यकर्मीहरूको पेसागत हक, हित तथा अधिकारको सुनिश्चितता, सङ्गठन सुदृढीकरण तथा वर्तमान नीतिगत अन्योलका विषयमा व्यापक छलफल भएको थियो । सहभागीहरूले सङ्घलाई अझ सशक्त र क्रियाशील बनाउँदै पेसागत अधिकार सुनिश्चित गर्न आवश्यक परे कानुनी, नीतिगत तथा आन्दोलनका सबै स्वरूपमा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अन्तरक्रियाका क्रममा सहभागीहरूले पारामेडिक्स स्वास्थ्यकर्मीहरूको पेसागत अधिकारलाई राज्यको नीति, निर्देशिका तथा ऐनमै स्पष्ट रूपमा सुनिश्चित गरी लामो समयदेखि कायम अन्योलताको अन्त्य गर्नुपर्ने माग राखेका थिए।

सहभागीहरूको जिज्ञासाको जवाफ दिँदै नेपाल सिएमए सङ्घका केन्द्रीय उपमहासचिव ईश्वर चापागाईं (नवीन) ले सङ्घले सङ्घीय सरकारका सम्बन्धित निकायहरूसँग निरन्तर सकारात्मक पहल र समन्वय गरिरहेको जानकारी दिए । उनका अनुसार सङ्घीय ऐन तथा निर्देशिकासँग बाझिने गरी केही प्रदेश तथा स्थानीय पालिका तहहरूले स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी ऐन, नियम तथा कार्यविधि लागू गर्दा पारामेडिक्स स्वास्थ्यकर्मीहरू अनावश्यक अन्योल र अप्ठ्यारोमा परेका छन्।

सङ्घीय सरकारसँग पटक पटक भएका छलफल, सहमति तथा सम्झौताहरूलाई शीघ्र कार्यान्वयन गराई यस्ता नीतिगत समस्या तथा अन्योलताको दीर्घकालीन समाधान निकाल्न नेपाल सिएमए सङ्घ निरन्तर र सक्रिय रूपमा लागिरहेको स्पष्ट पारे । 

साथै, पारामेडिक्स स्वास्थ्यकर्मीहरूको पेसागत अधिकार कुनै पनि हालतमा कुण्ठित हुन नदिने र राज्यसँग भएका सहमति र सम्झौताहरूलाई कार्यान्वयन गर्न राज्यले आलटाल वा बेवास्ता गरेमा आवश्यक परे थप सशक्त आन्दोलनका कार्यक्रमहरू गर्नुपर्ने अवस्था पनि आउन सक्ने हुनाले सबै जिल्ला कार्यसमितिका साथीहरूलाई आन्दोलनमा सक्रिय साथ र सहयोगको आव्हान समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप