बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
बालुवाटार वार्ता

माधव वा सुवासलाई राष्ट्रपतिको उम्मेदवार बनाउन प्रचण्डसमक्ष ओलीको प्रस्ताव

ओलीले भने–जसपा र लोसपाको साथ खोजौँ
बुधबार, १० फागुन २०७९, २३ : ०५
बुधबार, १० फागुन २०७९

काठमाडौँ । राष्ट्रपतिबारे विभिन्न पात्रहरूको चर्चा भइरहेका बेला सत्तारुढ दल नेकपा एमाले केपी शर्माओली  र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधवार २ घण्टा भन्दाबढी छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच सकभर राष्ट्रपतिको उम्मेदवार सबैले स्विकार्ने गरी छनोट गर्नुपर्नेमा दुई नेता सहमत भएको दुवै नेता निकट स्रोतहरुले दाबी गरेका छन् ।

प्रचण्डसँगको भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको लागि एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल वा एमाले नेता सुवास नेम्वाङलाई अघि सार्दा सबैले स्वीकार गर्ने धारणा राखेका छन् । त्यस क्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई ‘पुस १० को सहमतिमा तपाईंको अन्टरस्ट्याडिङ के हो ?’ भनेर भनेर प्रश्न समेत गरेका छन् ।

‘हुन त राष्ट्रपतिका विषयमा पुस १० गते नै सहमति भइसकेकाले केही गर्नु पर्ने छैन, तर बाहिर धेरै कुराहरू आएका छन् यसमा मैले तपाईको विचार सुन्न खोजेको मात्र हो’, ओलीनिकट स्रोतले भन्यो,‘माधव नेपाल वा सुवास नेम्वाङमध्ये एक जनालाई अघि सार्दा तपाईँलाई पनि सहज हुने देख्छु ।’

जवाफमा प्रचण्डले राष्ट्रपतिमा ‘तपाईँले पनि माधव नेपाललाई प्रस्ताव गरेको भन्ने सुनेको भन्दै वास्तविकता के हो ?’ भनेर जान्ने प्रयास गरेका थिए ।

अध्यक्ष ओलीले नेता नेपालको नाम लिएपछि प्रचण्डले अन्य दलसँग पनि आफूले छलफल गर्ने बताएका छन् ।

‘सकभर राष्ट्रिय सहमति जुटे धेरै राम्रो सन्देश जान्थ्यो । यदि त्यसो भएन भने पनि आखिर निर्वाचनमा त जानै पर्छ । त्यस्तो अवस्थामा हामीले जित्नेगरी जानु पर्दा जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग पनि सल्लाह गर्नुपर्छ’, प्रचण्डले ओलीलाई जवाफ दिएका छन् ।

ओली निकट मानिएका एमाले नेता महेश बस्नेतले बुधवार प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीचको संवाद सकारात्मक दिशामा अघि बढेको बताए ।

‘हिजो अस्तिको तुलनामा बुधवार दुई नेताबीच भएको भेट निकै सकारात्मक भएको मैले बुझेको छु, सायद अर्को छलफलबाट नेताहरू टुङ्गोमा पुग्नुहुनेछ ।’

एकीकृत समाजवादीको बुधवार बसेको बैठकले राष्ट्रपतिका लागि प्रस्ताव आए स्विकार्ने निर्णय गरेको छ । ‘यदि प्रस्ताव आयो भने स्वीकर्ने र त्यसका लागि हाम्रो पार्टी सक्रिय हुनेछ’, सम्मानित नेता झलनाथ खनालको भनाई छ ।

यसअघि प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिबारे कांग्रेससँग नजिक भएको भन्दै एमालेले असन्तुष्टि जनाउँदै आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप