सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सहकारीका बचतकर्ताद्वारा ठगीको जाहेरी दर्ता

सोमबार, २९ फागुन २०७९, १४ : १७
सोमबार, २९ फागुन २०७९

विराटनगर । विराटनगरको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडले ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मोरङमा १२१ जना बचतकर्ताले ठगी कसुरमा जाहेरी दर्ता गरेका छन् । जाहेरी दर्ता गर्नेहरूको सङ्ख्या बढिरहेको प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक पोखरेलले आज गरेको पत्रकार सम्मेलन गरी जाहेरी दर्ता र पक्राउ परेको तीन जनालाई सार्वजनिक गरेका छन् । 

ठगीमा परेका १२१ बचतकर्ताले फागुन २८ गते आइतबार आफूहरूको १२ करोड ९ लाख ४ हजार ४८७ रुपैयाँ बराबरको रकम ठगी भएको दाबी गर्दै मुद्दा दर्ता गराएका हुन् । विराटनगर महानगरपालिका २ मा मुख्य कार्यालय रहेको सहकारीको देशैभरि सदस्य सङ्ख्या २१ हजार ७१३ रहेको र त्यसमध्ये विराटनगरमा मात्रै चार हजार बढी रहेको प्रहरीले जनाएको छ । 

पोखरेलका अनुसार केन्द्रीय अनुसन्धान ब्युरोसँगको सहकार्यमा जिल्ला प्रहरी कार्यालय मोरङले उक्त मुद्दामा अनुसन्धान सुरु भएको छ । २०५२ सालमा स्थापना भएको उक्त सहकारीको मुख्य कार्यालय विराटनगरमा रहेको र झापाको दमक, उदयपुरको गाईघाट र सिराहाको गोलबजारमा तीन वटा सेवा केन्द्र रहेको छ । गत फागुन १ गतेदेखि उक्त सहकारी संस्थाको कार्यालय बन्द रहेको छ । 

बचतकर्ताको रकम फिर्ता नदिई सञ्चालक समितिका पदाधिकारीहरू फरार रहेको प्रहरीले जनाएको छ । सहकारीको अध्यक्ष केदारनाथ शर्मा हुन् । प्रहरीले उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र सहकारीका क्षेत्रीय प्रबन्धक मन्दिप खवासलाई प्रहरीले पक्राउ गरेको छ । यस्तै अनुसन्धानको दायरामा ल्याउनु पर्ने अध्यक्ष शर्मासहित अन्य ५ जना फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी कार्य भइरहेको पोखरेलले जानकारी दिए । 

प्रारम्भिक अनुसन्धानका क्रममा योजनाबद्ध तरिकाले ठुलो रकम हिनामिना गरी संस्थाका सदस्य एवं बचतकर्ताहरूलाई ठगी गरेको देखिन आएको प्रहरीको दाबी छ । प्रहरीले उक्त सहकारीमा बचत गर्ने सबै पीडितहरूले ५ दिनभित्रमा जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी गर्न समेत आह्वान गरेको छ । 

सहकारीले बाल बचत, ज्येष्ठ नागरिक बचत, भविष्य सुनिश्चित बचत, सुपर पेन्सन बचत, अवधि बचत, कर्मचारी चल्ती बचत, विशेष बचत, साधारण बचत लगायत खाताहरूमा बचत गर्दा तथा संस्थाको शेयर सदस्य हुँदा १५ प्रतिशत भन्दा बढी व्याज, बोनसलगायतका आकर्षक आर्थिक सुविधा पाउने आश्वासन र प्रलोभन दिने गरेको पीडितहरूको दाबी छ । प्रहरीले उपाध्यक्ष गौतम र सचिव न्यौपानेलाई भने गत फागुन १ गते नै पक्राउ गरी अभद्र व्यवहार गरेको अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान गरेको थियो । 

सहकारीमा एक सय ४५ करोड बढी रकम अपचलन गरेको हुनसक्ने आशङ्का छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप