मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

हिरासतमा बालकृष्णको गुनासो : देशी–विदेशी शक्तिले ‘रिभेन्ज’ लिए

खाणको पक्षमा महेन्द्र र विद्वानको ‘मुभ’
सोमबार, ०१ जेठ २०८०, २० : ०१
सोमबार, ०१ जेठ २०८०

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंमा गत बुधबार यता कांग्रेसका नेता–कार्यकर्ता साँझ र बिहानको समयमा झुल्किन्छन् । राजनीतिक गफगाफका लागि नेताको दैलोमा पुग्ने कांग्रेसीजनको एउटा सानो हिस्सा पछिल्ला दिनमा प्रहरी परिसर टेकुतिर मोडिन्छ । अचेल बिहान ७ः३० देखि ९ः३० र दिउँसो ३ देखि ५ बजेको समयमा त्यहाँ कांग्रेसीको आवत–जावत हुन्छ ।

प्रहरीले तोकेको भेटघाटको समय सीमा कांग्रेसीका लागि भने पूर्ण लागु हुँदैन । कांग्रेसका केन्द्रीयस्तरका नेता टेकु पुग्दा प्रहरीले सलाम ठोक्दै डीएसपीद्वय पवन भट्टराई र भरत शाहको कार्यकक्षतिर डो¥याउँछन् । उनीहरु त्यहाँ एक जना अभियुक्तसँग गफिएर फर्किन्छन् । ती अभियुक्त हुन् पूर्वगृहमन्त्री तथा कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाण ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा वैशाख २७ गते पक्राउ परेका खाण त्यस यता प्रहरी हिरासतका क्रममा टेकुमै छन् । भ्रष्टाचार र ठगी जस्तो अपराधमा मुछिएर विक्षिप्त बनेका खाणलाई कर्ताकर्ताहरु टेकु पुगेरै ढाडस दिने गरेको पाइन्छ ।

कांग्रेस सहमहामन्त्री–महेन्द्र यादव, केन्द्रीय सदस्य जीतजंग बस्नेत, तरुण दल अध्यक्ष विद्वान गुरुङ, कांग्रेसका रुपन्देही जिल्ला सभापति रामकृष्ण खाण, नेता भरत शाह, लुम्बिनी प्रदेश सांसद जन्मजय तिमिल्सिना लगायतले हिरासतमै पुगेर खाणसँग भेटेका छन् । खाणलाई ढाडस दिन गृह जिल्ला रुपन्देहीबाट पनि कांग्रेस कार्यकर्ता काठमाडौँ आएका छन् ।

प्रहरी परिसर टेकुका एक प्रहरी अधिकृतका अनुसार खाणलाई भेट्न आउनेमा अधिकांश तरुण दल सम्बद्ध नेता–कार्यकर्ता छन् । खाणसँग बढीमा ५–१० मिनेट मात्र भेटघाट गर्न दिइएको छ । देशी–विदेशी शक्तिबाट आफूमाथि षड्यन्त्र भएको गुनासो खाणले भेट्न पुगेका नेता–कार्यकर्तासँग व्यक्त गरेका छन् । टेकुमा खाणलाई भेटेर फर्किएका कांग्रेसका एक नेताले भने, ‘बालकृष्ण दाइले ममाथि षड्यन्त्र भयो भन्नुभयो ।’ ती नेताका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूतबीचको गोप्य भेटपछि छापामार शैलीमा आफूलाई पक्राउ गरिएको खाणको दाबी छ ।

वैशाख २५ मा गृहमन्त्री श्रेष्ठलाई चिनियाँ राजदूत चेन सङले भेटेपछि आफूमाथि अनुसन्धान सोझिएको खाणले भेट्न पुगेकाहरुलाई सुनाउने गरेका छन् । ‘एमसीसी पास गर्न आफूले खेलेको भूमिकामा ‘रिभेन्ज’ लिइएको गुनासो खाणले व्यक्त गरेको खाणलाई भेटेर फर्किएका नेता–कार्यकर्ता बताउँछन् । खाणले आफू निर्दोष रहेको दाबी गर्दै आएको ती नेताले रोतापाटीलाई भने ।

ती नेताका अनुसार कांग्रेस सम्मिलित सरकारबाट आफूमाथि षड्यन्त्र हुँदा पनि नेतृत्व मुकदर्शक बनेकोमा पनि उनको गुनासो छ । ‘मेरो घरमा केरकार टोली पुगेको कुरा काठमाडौंको प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई पनि थाहा छैन । पार्टीभित्रैबाट पनि षड्यन्त्र भयो कि भन्ने लागेको छ,’ खाणको आंशका छ ।

खाणले भेट्न पुगेकाहरुसँग पार्टीभित्रको आफूबारे भइरहेको टिकाटिप्पणीबारे पनि जिज्ञासा राख्ने गरेका छन् । पार्टीभित्र खाणको बचाउमा उत्रिएका सहमहामन्त्री महेन्द्र यादवले पनि खाणले निर्दोष भएको बताउने गरेको रातोपाटीलाई जानकारी दिए ।

‘भेट्न जाँदा हामीसँग नक्कली भुटानी प्रकरणमा मेरो कुनै संलग्नता छैन । म निर्दोष छु भनिराख्नु भएको छ,’ उनले भने ।

खाणको पक्षमा महेन्द्र र विद्वानको ‘मुभ’

सह–महामन्त्री यादवमार्फत खाणले आफ्नो पक्षमा कार्यकर्ता ‘मुभ’ गराउन खोजेको देखिन्छ । यादवले पार्टीको पदाधिकारी बैठक र मिडियामा खाणको खुलेर बचाउ गरिरहेका छन् । कांग्रेसमा खाणलाई केन्द्रीय सदस्यबाट निलम्बन गर्ने कि नगर्ने भन्नेमा मतभेद छ । यादव खाणको पक्षमा दह्रो ढंगले उभिएको नेताहरु बताउँछन् ।

गत बुधबार र बिहीबार बसेको पदाधिकारी बैठकमा महामन्त्री गगन थापाले खाणलाई निलम्बन गर्नुपर्ने मत राखेपछि यादव जंगिएका थिए । आफूमात्र होइन, खाण निकट पार्टीका सांसदहरुलाई पनि उनले ‘मुभ’ गराइरहेको देखिन्छ ।

कांग्रेस सांसदहरू नागिनाकुमारी यादव, कान्तिका सेजुवाल, रूपा विक, सुशीला थिङ, सीता राना लगायतले खाण पक्राउबारे सभापति देउवाको ध्यानाकर्षण गराएका थिए । शनिबार देउवा निवास धुम्बाराही पुगेर उनीहरुले खाणलाई षड्यन्त्रपूर्वक फसाइएको नसहने चेतावनी दिएका थिए ।

यता तरुण दलका अध्यक्ष विद्वान गुरुङले खाणको पक्षमा तरुण दललाई सडकमा उतार्ने तयारी गरिरहेको देखिन्छ । काठमाडौंको तीनकुनेमा आइतबार तरुण दलका नेता कार्यकर्ता भेला भएका थिए ।

भेलामा तरुण दल अध्यक्ष गुरुङले खाणमाथिको आक्रमणमा विदेशी शक्तिहरुको चलखेल देखिएको बताए । यस्तै उनले खाणलाई पक्राउ पुर्जी जारी नगरी पक्राउ गर्नु सन्देहपूर्ण रहेको बताए । कांग्रेस नेताहरुविरुद्ध मिडियाले फेक न्युज लेखेर नक्कली शरणार्थी प्रकरणमा मुछ्ने काम गरेको गुरुङको आरोप छ ।

यता पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई जिम्मेवार भएर प्रस्तुत हुन उनको चेतावनी थियो । ‘पार्टीका महामन्त्रीलाई अनावश्यक नबोल्न र पदीय गरिमाको ख्याल गर्न मेरो आग्रह छ । बालकृष्ण खाणलाई पार्टीबाट निलम्बन गर्ने कुरा नगर्न मेरो चेतावनी छ,’ गुरुङले भने ।

उनले अगाडि भने, ‘दोषी कोही नउम्किउन्, निर्दोष कोही नफसुन् भन्नेमा हामी प्रस्ट छौं,’ तरुण दलको भेलामा काठमाडौं तरुण दल अध्यक्ष कृष्णजी खड्का, सोलुखुम्बु तरुण दलका अध्यक्ष अशोक झा, सिन्धुपाल्चोकका संजय लामा, कैलालीको जीतेन्द्र बम, काभ्रको सुजन लामा, नवाकोटका सिंहराज तामाङ, भक्तपुरको राजु थापा लगायत सहभागी थिए ।

खाणलाई आइतबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालत पु¥याउँदा पनि तरुण दलका नेताहरुको बाक्लो उपस्थिति थियो । प्रहरीले वैशाख २७ गते ४ दिनको म्याद थपेर खाणमाथि अनुसन्धान थालेको थियो । चार दिनको समय आइतबार सकिएपछि पुनः चार दिनको म्याद थपेर खाणमाथि बयान लिने क्रम जारी छ । सोमबार सरकारी वकिलको कार्यालय काठमाडौंमा खाणको बयान लिइएको छ ।

यस प्रकरणमा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा र मञ्जु खाणको नाम पनि जोडिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री खाण र बहालवाला सचिव टेकनारायण पाण्डेसहित १३ जना पक्राउ परिसकेका छन् ।

आइतबार मात्रै तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीक र कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप