शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कमजोरी स्वीकार्दै हर्कलाई रिमालले भने– धरानमा आउँदा मौका मिले श्रम गरौँला

बुधबार, १० जेठ २०८०, २३ : २८
बुधबार, १० जेठ २०८०

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले हर्क साम्पाङ र बालेन साहप्रति बैरभाव राख्नुपर्ने कुनै कारण नभएको बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत उपमहासचिव रिमालले सो कुरा बताएका हुन् । केही दिनअघि रिमालले हर्क साम्पाङबारे बोलेको भिडियो भाइरल भएपछि रिमालले आफ्नो कमजोरी स्वीकार्दै आफू पनि श्रमिक आन्दोलनबाटै राजनीतिमा आएको बताएका छन् ।

उनले धरान आउँदा मौका मिले श्रम गर्न पनि तयार रहेको बताएका छन् । उपमहासचिव रिमालले देश बनाउन निर्लिप्त भएर लाग्नुपर्नेमा समेत जोड दिएका छन् । केही दिनअघि एमाले निकट अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीको बैठकमा रिमालले बोलेको भिडियो भाइरल भएको थियो । 

उपमहासचिव रिमालले फेसबुकमा लेखेका छन् :

आन्तरिक कार्यक्रम र बाहिरी चर्चा !

अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीको बैठकमा मैले सामाजिक सञ्जाल बारे बोलेको भिडियो बाहिर आयो । केन्द्रीय कमिटीको त्यो बैठक सार्वजनिक थिएन । छलफलको प्रयोजन गोप्य थियो, विषय रणनीतिक थियो । आन्तरिक भएकोले यस्ता बैठकहरुमा प्राय: अनौपचारिक भाषा बोलिन्छ । अनौपचारिक भाषा बोल्दा शब्द तौलिएर बोलिंदैन । त्यहाँ पनि त्यस्तै भएको थियो, सबै चिनेजानेकाहरु बीच मैले बोल्दा कुनै साबधानी अपनाईन । आफ्नालाई सकेसम्म उत्साहित पार्ने र पार्टीले राखेको लक्षतिर प्रतिवद्ध बनाउने प्रयास गरें । यो डिजिटल युगमा गोप्य, गोप्य रहँदो रहेनछ– कुनै न कुनै तरीकाले ओपन हुँदो रहेछ । हो, यहाँ चाँहि मेरो असावधानी हुनपुग्यो ।

हामी छर–छिमेकमा, दाजुभाइका बीचमा कुरा गर्दा दाइ सा“प, काका सा‘प भन्दैनौं । लोकल स्ल्याङ्गमा– कालेदाइ, सेतेदाइजस्ता शब्दहरु पनि प्रयोग हुन्छन् । त्यस्तै, त्यो बन्द–बैठकमा कुरा राख्दा अनौपचारिक तबरबाट प्रयोग भएको शब्द/वाक्य/वाक्याँश सार्वजनिक हुँदा सायद अशोभनीय सुनियो । अमर्यादित जस्तो लाग्न पुग्यो ।

‘भाइरल–भिडियो’को मेरो अभिव्यक्तिलाई यसरी बुझिदिनु होला ।

हर्क साम्पाङ र बालेन साह जस्ता साथीहरु स्थानीय सरकारको नेतृत्वमा आउनु भएको छ । केही गर्छु भन्ने युवाहरु, चाहे मेरा पार्टीका हुन् वा स्वतन्त्र, उहाँहरुप्रति वैरभाव राख्नुपर्ने कारण नै छैन । नजिकबाट मलाई चिन्ने जो कोहीलाई थाह छ– फ्रण्टलाईन, प्रचार, वाहवाही भन्दा पर हदैसम्म काममा जोतिन चाहने मान्छे हुँ । त्यसैले म अहिले पनि भन्छु, यो देश बनाउन काममा निर्लिप्त भएर लाग्नै पर्छ, एकप्रकारले भन्ने हो भने हामी “बहुलाउनै” पर्छ ।

हर्कजी दिनरात जनतालाई श्रममा लगाइ पानी खुवाउने भनेर लाग्नु भएको छ । सामाजिक सञ्जालबाट श्रमदान गर्न आउन भन्नु भएको रहेछ । म श्रमिक आन्दोलनबाट नै राजनीतिमा आएको मानिस हुँ । मेरो जीवनको उर्जाशील ३० वर्ष श्रमिकहरुको हकहित र सुरक्षाका काममा वितेको छ । म पूर्व आउँदा धरानमा पनि आउन सक्छु, मौका मिले त्यहाँ पनि श्रम गरौंला । मौका नमिले पनि म श्रमबाट टाढा छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप