सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जोर्डनका युवराज हुसैनको साउदी अरबकी युवतीसँग विवाहकाे किन भइरहेछ विश्व भरी चर्चा ?

शुक्रबार, १२ जेठ २०८०, १० : ३३
शुक्रबार, १२ जेठ २०८०

जोर्डनका युवराजको एक साउदी महिलासँग विवाहको तयारी, यसका लागि हुने समारोह र दुवैको जीवनबारे मध्य–पूर्वमा मात्रै नभई पुरा विश्व भरी निकै रुचि देखिएको छ । 

हुन त जोर्डनका युवराज शहजादा हुसैन बिन अब्दुल्लाह द्वितीय र साउदी आर्किटेक्ट रजवा अल सैफको विवाह जून १ मा हुँदै छ तर यसअघिका पारम्परिक समारोहका झलक सोसल मिडियामा आकर्षणको केन्द्र बनेको छ ।

यो जोडीको इन्गेजमेन्टको औपचारिक सरकारी घोषणा अघिल्लो वर्ष १० अगस्टमा गरिएको थियो र अब यस वर्ष मे र जूनमा उनीहरूको विवाहसम्बन्धी शाही समारोहका तयारी जोडतोडले जारी छ । 

शाही जोडीको विवाहको दिन जोर्डनमा सरकारी छुट्टी हुनेछ, समारोहमा विश्वभरिका चर्चित मानिसको सहभागिता हुनेछ । यस्तै, राजधानीमा अरब गायकको निःशुल्क कन्सर्ट पनि हुनेछ ।

jordan1जोर्डनका राजकुमार हुसेनले हालै एक कार्यक्रममा सोधिएको प्रश्नको जवाफमा रजवा अल सैफसँगको आफ्नो चिनजानको कथा अन्य प्रेमकथाभन्दा फरक नभएको र उनीहरूको भेटमा एक साझा साथीको हात रहेको बताए । 

हालै जोर्डनकी महारानी रानयाले विवाह अघि परम्परागत मेहन्दी पार्टीको आयोजना गरिन् । मेहन्दीको यस समारोहमा जोर्डन र साउदीका परम्परागत गीत गाइए र खुसी व्यक्त गर्न परम्परागत नृत्य पनि प्रस्तुत गरिएको थियो ।

यस अवसरमा रानी रानयाले भनेकी थिइन्, ‘हुसैन मेरो जेठो छोरा हो । उनी एक (हाशमी कुलका ) नौजवान हुन् । अन्य आमाले झैँ मैले पनि उनलाई दुलहाको रूपमा हेर्ने सपना देखेको थिएँ । हुसैन तपाईंको छोरा हो, तपाईं उसको परिवार हुनुहुन्छ र यो समारोह तपाईंहरुको हो ।’

उनले भनिन्, ‘अन्ततः मैले एक बुहारी पाएँ तर उनी साधारण बुहारी होइनन् । भगवानले रजवाको रक्षा गरुन् । उनी मेरो लागि मेरा छोरीहरू (इमान र सलमा) जस्तै मूल्यवान् छिन् ।’

jordan2को हुन् युवराज हुसेन बिन अब्दुल्लाह ?

राजकुमार हुसैनको जन्म २८ जुन १९९४ मा जोर्डनको राजधानी अम्मानमा भएको थियो । उनी राजा अब्दुल्लाह द्वितीय र रानी रानयाका जेठो छोरा हुन् । उनका एक भाइ शाहजादा हाशिम र दुई बहिनीहरू इमान र सलमा छन् ।

राजकुमार हुसेनले आफ्नो प्रारम्भिक शिक्षा जोर्डनको किंग्स एकेडेमीबाट २०१२ मा पूरा गरे, त्यसपछि उनले सन् २०१६ मा अमेरिकाको जर्जटाउन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय इतिहासमा डिग्री हासिल गरे ।

सन् २०१७  मा, उनले रोयल मिलिटरी एकेडेमीबाट स्नातक गरे, जुन एकेडेमीबाट उनका बुबा राजा अब्दुल्ला द्वितीय र उनका हजुरबुबा राजा हुसेन बिन तलालले स्नातक गरेका थिए । अहिले उनी जोर्डनको सशस्त्र बलमा कप्तानको पदमा छन् ।

राजकुमार हुसैनलाई जुलाई २, २००९ मा युवराज घोषणा गरिएको थियो ।

jordan3पछिल्ला केही वर्षमा राजकुमार हुसेनले बुबासँगै जोर्डनको आन्तरिक तथा बाह्य भ्रमण गरेका छन् । उनी सानैदेखि आफ्ना बुबासँग धेरै सरकारी र सैन्य गतिविधिहरूमा देखिएका थिए ।

जोर्डनको संविधान अनुसार युवराजको भूमिका राजनीतिक हुँदैन । सन् २००९ मा,युवराज घोषित भएपछि सन् २०१० मा युवराजको ताज पहिरिए पछि उनले आफ्नो पहिलो आधिकारिक उपस्थिति देखाए । त्यति बेला उनले जोर्डनमा महान् अरब विद्रोह र सशस्त्र सेनाको वार्षिकोत्सवका दिन आयोजित समारोहमा आफ्नो बुबाको प्रतिनिधित्व गरेका थिए ।

त्यसपछि, राजकुमार हुसेनले जोर्डनको आधिकारिक र व्यावसायिक भ्रमणहरूमा राजाको प्रतिनिधित्व गर्न जारी राखे ।

२२ सेप्टेम्बर सन् २०१७ मा, राजकुमार हुसेनले २० वर्षको उमेरमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकको अध्यक्षता गरे । उनी सुरक्षा परिषद्को बैठकको अध्यक्षता गर्ने सबैभन्दा कान्छो व्यक्ति बने ।

सन् २०१५ मा, राजकुमार हुसैनले क्राउन प्रिन्स फाउन्डेशनको आधारशिला राखे जस मार्फत उनले धेरै कदम चालेका थिए । यसको उद्देश्य सूचना प्रविधि, पर्यटन र अन्य महत्त्वपूर्ण क्षेत्रहरूमा विकासको लागि जोर्डनका युवाहरूलाई मद्दत गर्नु हो ।

यस फाउन्डेसनको सबैभन्दा महत्त्वपूर्ण पहल भनेको अमेरिकी अन्तरिक्ष एजेन्सी ‘नासा’ मा जोर्डनका युवाहरूलाई प्रशिक्षणको अवसर प्रदान गरिएको थियो । सोही तालिम र मद्दत पछि, जोर्डनले सन् २०१८ मा आफ्नो पहिलो उपग्रह (JY1-SAT) अन्तरिक्षमा पठाएको थियो ।

 

jordan4को हुन् रजवा अल सैफ ?

प्रसिद्ध लाइफस्टाइल म्यागेजिन ‘भोग’ र बेलायती समाचार सञ्चारमाध्यमको अरबी संस्करणमा आएको रिपोर्ट अनुसार २८ वर्षीय रजवा अल सैफका बुबा खालिद अल सैफ एक चर्चित व्यापारी र अल सैफ समूहका प्रमुख हुन् । यो कम्पनी स्वास्थ्य, निर्माण र सुरक्षा क्षेत्रमा राम्रोसँग परिचित छ ।

रजवाको जन्म २८ अप्रिल १९९४ मा साउदी अरेबियाको राजधानी रियादमा भएको थियो र उनी चार दाजुभाइमध्ये कान्छी हुन् । साउदी अरबमा आफ्नो प्रारम्भिक शिक्षा प्राप्त गरेपछि, उनले अमेरिकाको न्यूयोर्कको सिराक्यूज विश्वविद्यालयको कलेज अफ आर्किटेक्चरबाट स्नातक गरे ।

रजवाले आफ्नो अध्ययनको क्रममा २०१६ मा दुबईको नौ दिने भ्रमण गरिन् र आफ्नो विश्वविद्यालयको वेबसाइटलाई भनिन्, ‘यो अवधि मेरो लागि अविस्मरणीय थियो किनभने विद्यार्थीहरूले पहिलो पटक अरब संस्कृति र निर्माण कला देखे ।’

उनले भनिन्, ‘दुबई एकदमै आकर्षक सहर हो, जहाँ आधुनिक वास्तुकला छ तर अरब संस्कृति र इतिहासको परम्परागत सौन्दर्यलाई जोगाइएको छ ।’

jordan5उनकी इन्गेजमेन्ट अघि राजकुमार हुसैनकी कान्छी बहिनी राजकुमारी इमान बिन्त अब्दुल्लाहको इन्गेजमेन्ट जमिल एलेग्जेन्डर धर्म्यूतीससँग अघिल्लो वर्ष जुलाईमा भएको थियो ।

रजवासँग लस एन्जलसको फेसन इन्स्टिच्युट अफ डिजाइन एन्ड मर्चेन्डाइसिङबाट भिजुअल कम्युनिकेसनको डिग्री पनि छ ।

उनले लस एन्जलसमा आर्किटेक्चर कम्पनीसँग काम गरिन् र पछि रियादको एक डिजाइन स्टुडियोसँग आबद्ध भइन् । 

यी दुईको इन्गेजमेन्टमा साउदी युवराज शहजादा मोहम्मद बिन सलमानले शुभकामना दिएका थिए । 

राजकुमार हुसैन जोर्डनका युवराज भएका कारण विवाह लगत्तै रजवालाई पनि शाही जिम्मेवारी दिइने अनुमान गरिएको छ । 

jordan6उनको लवाई र फेसन सेन्सको तुलना कहिलेकाहीँ बेलायतकी शाहजादी प्रिन्सेस अफ वेल्स केट मिडलटनसँग गरिन्छ ।

उनकी भावी सासू अर्थात् महारानी रानयाले कायरोको अमेरिकन युनिभर्सिटीमा बिजनेस एडमिनिस्ट्रेशन पढेकी थिइन् र बिहेअघि सिटी बैङ्क र एप्पल कम्प्युटर जस्ता कम्पनीहरूमा काम गरेकी थिइन् ।

मेहेन्दी पार्टीको अवसरमा रानी रानयाले भनिन्, ‘अल हुसैनेल आफू रजवासँग विवाह गर्न चाहेको बताएपछि राजा र म असाध्यै खुसी भयौँ । यो मेरो प्रार्थनाको उत्कृष्ट जवाफ हो ।’

jordan7महारानी रनयाले रजवा आफ्नी आमा र युवराजको भावी सासू इज्जा बिन्त अल सअिरीजस्तै एक हिरा भएको बताइन् । ‘म र अल हुसैनले रजवाको ख्याल राख्नेछौँ । यो उनको पनि देश हो, उनी आफ्नो परिवार र आफ्ना जनताबीच रहनेछिन् ।’

बीबीसी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप