शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

हिरासतमा प्रहरी व्यवहारप्रति शरणार्थी नेता रिजाल असन्तुष्ट

न्यायाधीशले डीएसपीलाई भने– फेरि गुनासो आए राम्रो हुँदैन !
सोमबार, २९ जेठ २०८०, २३ : ०९
सोमबार, २९ जेठ २०८०

काठमाडौँ । भुटानी शरणार्थी नेता टेकनाथ रिजालले हिरासतमा प्रहरीले ‘अमानवीय व्यवहार’ गरेको भन्दै इजलासमा गुनासो गरेका छन् । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा शरणार्थी नेता रिजालले ‘व्यवहार राम्रो नभएको’ गुनासो गरेका हुन् ।

सोमबार थुनछेक बहस सुरु हुनुअघि न्यायाधीश न्यौपानेले जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी पवन भट्टराईलाई बोलाएर त्यसबारे ‘सचेत’ गराए । न्यायाधीश न्यौपानेले डीएसपी भट्टराईलाई सोधे, ‘उहाँहरुबाट हिरासतमा नमाज पढ्न पाइएन र मानवीय व्यवहार नभएको गुनासो आयो, के हो ? डीएसपी सा’प ?’

डीएसपी भट्टराईले जवाफ दिए, ‘हामीले मानवीय व्यवहार गरेका छौँ श्रीमान् ।’

नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले हिरासतमा नमाज पढ्न नपाएको गुनासो गरेका छन् ।

न्यायाधीश न्यौपानेले प्रतिवादीहरू पनि हामीजस्तै मानव हुन् भन्दै डीएसपी भट्टराईलाई भने, ‘मानवीय व्यवहार गर्नुस् ।’

त्यसपछि शरणार्थी नेता टेकनाथ रिजाल उठेर लयर्स पोडियम नजिकै गए । रिजालले भने, ‘त्यस्तोलाई मानवीय व्यवहार भनिँदैन, अन्य कैदीसँग राखिएको छ ।’

रिजाल यतिमै रोकिएनन् । उनले डीएसपीसँग कड्किँदै भने–‘मैले के अपराध गरेको छु, प्रमाण पाउँ ?’

न्यायाधीश न्यौपानेले उनलाई बस्न आग्रह गरेपछि उनी आफ्नो सिटमा फर्किए ।

न्यायाधीश न्यौपानेले डीएसपीलाई चेतावनी दिँदै भने, ‘अब गुनासो आयो भने त्यो राम्रो हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप