शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

इजलासमा टेकनाथ रिजाल : भावुक बहस थालेर अन्तिममा झोक्किए

बिहीबार, ३२ जेठ २०८०, २० : ४०
बिहीबार, ३२ जेठ २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सक्कली भुटानी शरणार्थी नेता टेकनाथ रिजालले इजलासमा आफू दोषी नभएको जिकिर गरेका छन् । आफूपक्षीय १० जना वकिलले बहस गरेपछि आफैँ पनि बहसमा उत्रिएका रिजालले आफू भुटानको नरकीय जेलबाट ज्यूँदो निस्किन सफल व्यक्ति भएको बताए । 

‘म भुटानको जेलबाट ज्यूँदो निस्केको मान्छे हो श्रीमान् । एकाएक पक्राउ गरेर मलाई बोरामा कोचेर त्यहाँको जेलमा हाले । त्यहाँबाट बाँचेर आएको हुँ’, उनले भने, मैले कसैको एक पैसा खाएको छैन ।’

उनले जेलमा हुँदा आफूलाई भुटानी सरकारले हात पछाडि बाँधेर र खुट्टामा नेल लगाएर १० वर्षसम्म यातना दिएको पनि उनले बताए । ‘भुटानी राजाले यस्तो यन्त्र लगाए, त्यो यन्त्रले मलाई जहाँ जाँदा पनि छाड्दैन’, उनले भुटान सरकारले आफ्नो माइन्ड कन्ट्रोल गरेको जिकिर गर्दै भने, ‘कसैको एक पैसा खाएको छैन । बरु मलाई नेपालले राजनीतिक शरण दिएर गुन लगाएको छ।’

यसअघि बहसका क्रममा प्रतिवादी तर्फका केही वकिलले पनि रिजालको भुटानले गरेको माइन्ड कन्ट्रोल जिकिर गर्दै उनको बयान सही हुन नसक्ने बताएका थिए । 

यसैगरी रिजालले भुटानी शरणार्थी प्रकरणमा चलखेल हुँदैछ भनेर आफूले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएको जिकिर गरे । तर, देउवा ‘ती व्यक्ति ठग हुन् भनेर त्यसै चुपचाप’ बसेको उनले आरोप लगाए ।  अघिसम्म इजलासमा भावुक बनेका रिजालले एकाएक आक्रोशित हुँदै भने, ‘देउवा किन किन चुप लागेर बसे ? देउवाले हामीलाई न्याय दिनका लागि भुटानसँग वार्ता गर्छु भने । तर खै ? ’

उनले भुटानी नेपाली भाषीले निकै सास्ती पाएको बताए । अहिले पनि आफू छ हजार भुटानीको बीचमा रहेको भन्दै त्यही भुटानी देखाएर कतिपयले अनेक प्रपञ्च रचिरहेको बताए । आफूलाई सरकारी वकिलले बयान लिने क्रममा औँला उठाएको भन्दै इजलासमा उनी थप जंगिए ।

रिजालका वकिलको जिकिर

रिजालका तर्फबाट बहस गरेका वकिलहरुले उनीथिको अभियोग पुष्टि हुन नसक्ने जिकिर गरे । 

अर्का प्रतिवादीबाट रिजालले ११ लाख रुपैयाँ लिएको आरोप लगाइएपनि त्यसबारे कहीँ कतै पुष्टि हुन नसक्ने रिजालको वकिलहरुको जिकिर थियो । 

बहसका क्रममा अधिवक्ता राजकुमार सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणमा रिजालको संलग्नता नभरहेको जिकिर गरे । शरणार्थीको कार्ड बनाउने कार्य रिजालको नभई यो कार्य गृह मन्त्रालयको भएकाले त्यसमा रिजालको संलग्नताको सवाल नै नभएको जिकिर गरे । 

उनले अपराधीलाई भेट्दैमा केही अपराधी हुन नसक्ने उनको भनाइ थियो । उनी निर्दोष रहेकाले साधारण तारेखमा रिहा गरिनुपर्ने वकिलहरुको धारणा थियो ।

रिजालको तर्फबाट सुवालसहित सम्बेश्वर कडरिया, राजेन्द्र घिमिरे, अनिल लाल, दुर्जेजंग थापा, प्रतिभा भट्ठराई र  प्रकाश बस्नेतललगायतले बहस गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप