बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

एकै दिन पोखरामा दुई छिमेकी देशका राजदूत, कसले के भने ?

बुधबार, ०६ असार २०८०, २३ : १५
बुधबार, ०६ असार २०८०

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा बुधबार दुई छिमेकी देशका राजदूत दुई फरक कार्यक्रममा सहभागी भए । भारतीय राजदूत नवीन श्रीवास्तव नवौं अन्तर्राष्ट्रिय योग दिवस मनाउन पोखरा आइपुगेका हुन् भने चीनका राजदूत छन् सोङ अन्तर्राष्ट्रिय उडान अन्तर्गत चीनबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक विमान अवतरणपछि आयोजित कार्यक्रममा सहभागी हुन पोखरा आइपुगेका हुन् ।

१ जनवरी, २०२३ देखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि कुनै पनि अन्तर्राष्ट्रिय उडान भएको थिएन । बुधबार पहिलो पटक चीनको ‘सिचुवान एयरलायन्स’बाट सफल अन्तर्राष्ट्रिय उडान भएको छ । चीनबाट उडेको एयरलायन्स १ सय ३० जना यात्रु बोकेर पोखरामा अवतरण गरेको हो ।

चिनियाँ राजदूत सोङले चार्टर्ड उडानले सबैलाई हर्षित र रोमाञ्चक बनाएको सुनाए । उनले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत बनेको पनि जिकिर गरे ।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा बीआरआई परियोजना अन्तर्गत बनेको हो,’ उनले भने, ‘यो बहुआयामिक कनेक्टिभिटीले चिनियाँ इन्जिनियरिङको गुणस्तरलाई मूर्त रूप दिन्छ भन्ने विश्वास लिएको छु ।’

चार्टर्ड उडानलाई वास्तविकतामा परिणत गरेकोमा सिचुआन एयरलाइन्सलाई उनले धन्यवाद दिए । चीनबाट ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुन पोखरा आएका प्रतियोगीहरुलाई राम्रो नतिजा हासिल गर्न उनले शुभकामनासमेत दिए । नेपाल र चीनको सम्बन्ध १५ सय वर्षदेखि रहेको र यो निरन्तर चलिरहने उनको भनाइ थियो ।

अर्कोतिर भारतीय राजदूत नवीन श्रीवास्तवले पनि नेपाल र भारतको सम्बन्ध सदिऔंदेखि रहँदै आएको सुनाए । उनले भारतसँग नेपालको सडक कनेक्टिभिटी विस्तार भइरहेकाले थप विस्तार गर्न नेपाल र भारत सरकार लागिपरेको बताए ।

तर, पोखरा–भारत सिधा हवाई उडानबारे उनले केही बताएनन् । उनले पोखरामा योग गराउने गरी पर्यटन प्रवर्द्धन भइरहेकोमा आफूलाई खुसी लागेको सुनाए ।

‘नेपालमा धार्मिक पर्यटनको विकास भइरहेको छ । यहाँबाट पनि थप सांस्कृतिक सम्बन्ध अझै गाढा हुँदै जान्छ भन्ने विश्वास गरेको छु,’ उनले भने, ‘विश्वका धेरै मानिसको योगमा आकर्षण भइरहेको छ । यसमाथि पोखरामा धेरै भारतीय पर्यटक आउने गर्छन् ।’ पोखरामा अब हरेक वर्ष २१ जुनमा योग दिवस कार्यक्रम मनाउने उनको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप