बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
बजेट

धनुषाका ५ स्थानीय तहले अझै ल्याएनन् बजेट

सोमबार, ११ असार २०८०, ०९ : १२
सोमबार, ११ असार २०८०

जनकपुरधाम । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा भएको व्यवस्था अनुसार गाउँकार्यपालिका र नगरकार्यपालिकाले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको लागि नीति, कार्यक्रम तथा बजेट गाउँसभा/नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ । 

त्यस्तै नगरसभामा असार १० गते पेस गरेको नीति, कार्यक्रम तथा बजेट पेस गरेको १५ दिनभित्र गाउँसभा/नगरसभा सदस्यहरुको बहुमतले पारित गर्नुपर्ने व्यवस्था छ । सोही अनुरूप धनुषाका कतिपय स्थानीय तहहरूले असार १० गते अघि नै नीति, कार्यक्रम तथा बजेट गाउँसभा/नगरसभामा स्थानीय तहहरूले पेस गरिसकेका छन् भने कतिपयले असार १० गते आइतबार पेस गरेका छन् । कतिपयले आन्तरिक विवादका बजेट पेस गर्न सकेका छैनन् ।

धनुषामा १८ वटा स्थानीय तह छन् । जसमध्ये एक उपमहानगरपालिका ११ नगरपालिका र छ वटा गाउँपालिका छन् । जसमध्ये जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार नै नीति, कार्यक्रम तथा बजेट नगरसभामा प्रस्तुत गरिसकेको थियो । उपमहानगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २ अर्ब २८ करोड २३ लाख ६८ हजार २९० रुपैयाँको अनुमानित बजेट ल्याएको छ ।

यस्तै सबैला नगरपालिकाले शनिवार नीति कार्यक्रम तथा बजेट नगरसभामा प्रस्तुत गरेको थियो । नगरपालिकाले अगामी आर्थिक वर्षका लागि अनुमानित ५९ करोडको बजेट ल्याएको छ । शनिबार भएको नवौँ नगरसभामा नगरप्रमुख कारीराम यादवले अगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित अनुमानित ५८ करोड ८८ लाख ९५ हजारको बजेट प्रस्तुत गरेका हुन् ।

विदेह नगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/८१ का लागि ७० करोड ५ लाख ३ हजार ५ सय १ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। यस्तै, क्षीरेश्वरनाथ नगरपालिकाले आव २०८०/०८१ को लागि ल्यायो ६८ करोड ९२ लाख ९९ हजारको बजेट सार्वजनिक गरेको छ।

हंसपुर नगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ४८ करोड ८२ लाख ४० हजारको बजेट ल्याएको छ। जिल्लाको कमला नगरपालिकाले नगरसभामा नीति तथा कार्यक्रम मात्र प्रस्तुत गरेका छन् । पालिकामा केही आन्तरिक विवाद रहेको कारण आइतबार नीति तथा कार्यक्रम मात्रै प्रस्तुत गरिएपनि बजेट असार २७ गते प्रस्तुत गरिने जनाइएको छ ।

गणेशमान चारनाथ नगरपालिकाले आ.व.२०८०/०८१ को लागि ५२ करोड ७३ लाख ५ हजारको बजेट ल्याएको छ । यस्तै, धनुषाधाम नगरपालिकाले अगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ५४ करोड ४४ लाख ८३ हजार बराबरको बजेट विनियोजन गरेको छ ।

नगराईन नगरपालिकाले अगामी आर्थिक वर्षका लागि ५४ करोड ६८ लाख ७५ हजार ७ सय रुपैयाँको बजेट नगरसभामा प्रस्तुत भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले जनाएका छन् । मिथिला बिहारी नगरपालिकाले ४४ करोड ८४ लाख ९८ हजार ४ सय रुपैयाँको बजेट ल्याएको हो ।

त्यस्तै पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि १० औँ गाउँसभाबाट कुल ४७ करोड ३३ लाख ९२ हजार १०० बराबरको  नीति कार्यक्रम तथा बजेट गाउँसभामा प्रस्तुत गरेको छ ।

लक्ष्मीनिया गाउँपालिकालले एघारौँ गाउँसभाबाट सुन्दर, समुन्नत र समृद्ध लक्ष्मीनियाँ गाउँपालिकाको नारासहित लागि ४५ करोड २७ लाख २८ हजारको बजेट प्रस्तुत गरेको हो । गाउँपालिकाले पुँजीगत खर्चतर्फ ५९ प्रतिशत र चालु खर्च तर्फ ४१ प्रतिशत बजेट विनियोजन गरेको छ ।

बटेश्वर गाउँपालिकाले आइतबार नगरसभा समक्ष आ.व. २०८०/०८१ को लागि ३७ करोड २ लाख ८ हजार ४ सयको बजेट विनियोजन गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार शर्माले जनाएका छन् ।

मुखियापट्टी मुसहरनिया गाउँपालिकाले अगामी आर्थिक वर्षको लागि ४२ करोड ५३ लाख ७८ हजार बराबरको बजेट गाउँसभामा प्रस्तुत गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशंकर यादवले जनाएको छ ।

यस्तै, जिल्लाका पाँच वटा स्थानीय तहले निर्धारित समयमा बजेट ल्याउन सकेका छैनन् । आन्तरिक जनप्रतिनिधिहरुबीच आपसमा विवाद भएपछि पाँच पालिकाले बजेट ल्याउन नसकेको देखिएको छ ।

बजेट नल्याउने पालिकाहरू मथिला नगरपालिका, कमला नगरपालिका, शहीदनगर नगरपालिका, धनौजी गाउँपालिका र औरही गाउँपालिका रहेका छन् ।

यी पालिकाहरूमा अल्पमत बहुमत तथा योजना बाँडफाँटमा विवाद देखिएको कारण बजेट ल्याउन नसकिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्रकुमार यादव
अमरेन्द्रकुमार यादव
लेखकबाट थप