शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
६० किलो सुन अनुसन्धानमा त्रुटि

अघिल्लो दिन राजस्वले छाडेको थियो ट्याक्सी चालक र हर्कराजलाई

विशेष ब्यूरोको सहयोगमा भोलिपल्ट पक्राउ
शनिबार, ३० भदौ २०८०, ०६ : १०
शनिबार, ३० भदौ २०८०

काठमाडौँ । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन अनुसन्धानमा राजस्व अनुसन्धान विभागले गम्भीर त्रुटि गरेको भेटिएको छ । साउन २ मा राजस्व अनुसन्धान विभागले साँझ ६ बजेतिर क्याफे प्यासिफिकको उडानमार्फत ‘ब्रेक प्याड’मा ल्याएको सुन राजस्वको टोलीले नियन्त्रणमा लिएको थियो । तर, त्यस दिन सुन बरामद गरेर विभागका अधिकारीहरूले सुन रिसिभ गर्न आएका हर्कराज राई र ट्याक्सी चालक अशोक लामालाई छाडेका थिए । त्यस दिन सुन सहितको ट्याक्सी पुल्चोक स्थित विभागको कार्यालयमा लगेर राखियो ।  

भोजपुरको अरुण गाउँपालिका वडा नम्बर–४ घर भएका हर्कराज राई सुन तस्करसँग लामो समयदेखि ‘कनेक्सन’मा रहेको सीआईबीले गरेको अनुसन्धानबाट थाहा भएको छ । बा.२ च २३२४ नम्बरको ट्याक्सीका चालक अशोक लामालाई विभागका अनुसन्धान अधिकृतहरूले साउन ३ मा फोन गरेर पुल्चोक स्थित कार्यालयमा बोलाएका हुन् ।

भोलिपल्ट विभागका अधिकारीहरूले बोलाउँदा हर्कराज आफू गएनन्, राजेन्द्र राईलाई पठाए । त्यसपछि राजस्व अनुसन्धान विभागले उनलाई पक्राउ गर्न प्रहरीको सहयोग माग्यो । हर्कराजलाई प्रहरीको विशेष ब्यूरोले ३ गते मध्य राति पक्राउ गरेर राजस्वको जिम्मा लगाएको थियो ।

हर्कराज र  तिब्बत मूलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङसँग गहिरो ‘कनेक्सन’ भेटिएको छ । हर्कराजले प्रति खेपको १५ हजार लिएर मासिक ४ पटकसम्म तस्करीको सुन एयरपोर्टबाट गोदामसम्म ओसार्ने गरेको सीआईबीको अनुसन्धान निष्कर्ष छ ।

पछि, हर्कराजको बयानको आधारमा थाप्तेन पक्राउ परे । साउन ४ मा राजस्व अनुसन्धान विभागले छिरिङ बस्ने पानीपोखरी स्थित कम्फर्ट हाउजिङमा खानतलासी गर्‍यो ।

करिब १ सय किलो सुन लुकाएर ल्याएको सूचनाको आधारमा अपरेसन चलाएको विभागले साउन ३ मा सुनको ‘परीक्षण रिपोर्ट’ पछि मात्रै हर्कराज र ट्याक्सी चालकको खोजी गरेको थियो । त्यसबीचमा तस्करसम्म सूचना पुगेको हुनसक्ने अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

अघिल्लो दिन सुन बरामद गरेर भोलिपल्ट सुन ओसार–पसारमा संलग्नहरूलाई बोलाएको तथ्य तस्करीमा संलग्न चिनियाँ नागरिक याओ पुचेङ्गले आफ्नो बयानमा खुलाएका छन् । बयानमा पुचेङ्गले भनेका छन्–‘सामान छुटाउन गएका हर्कराज राईले रेडी ट्रेड प्रालिको आर्थिक वर्ष सकिएका कारण कम्पनीको नवीकरण नगरेसम्म सामान निस्किँदैन, कम्पनी नवीकरण गर्नुपर्छ पैसा चाहियो भनेर टासी भन्ने थाप्तेन छिरिङलाई भनेछन् । त्यसपछि मैले १ लाख रुपैयाँ थुप्तेनलाई दिई कम्पनी नवीकरण गरेर सामान छुटाउन भनी पठाएकोमा २०२३ जुलाई १८ मा हर्कराज राईले कम्पनी नवीकरण गरी मालबस्तु छुटाएर भन्सार कार्यालय बाहिर ल्याएको अवस्थामा राजस्व अनुसन्धान विभागले उक्त सुन समेत भएको ब्रेक प्याड र सेभर सहितको सामान र मानिस नियन्त्रणमा लिएको रहेछ । त्यस दिन सामानहरू राजस्व विभागमा राखी मानिसहरू भोली आउनु भनी छाडी पठाएको तर, भोलिपल्ट निज टासी भन्ने थाप्तेन छिरिङले मलाई फोन गरी सामान छुटाउन हर्कराजले भन्सार एजेन्ट राजेन्द्र कुमार राई भन्ने मानिसलाई पठाएको कुरा जानकारी दिँदै सामान छुटाउन राजस्व अनुसन्धान विभागमा ४ लाख जरिवाना तिर्नुपर्ने भयो, पैसा चाहियो भनेर पैसा मागे ।’ आफूसँग त्यस दिन ५० हजार मात्रै पैसा भएको र कतैबाट पनि पैसा प्राप्त नभएपछि पछि बुझ्दा हर्कराज र थुप्तेनलाई पक्रेको थाहा पाएपछि भागेको पुचेङ्गले बयानमा खुलाएका छन् ।

विभागले भन्सार विभागबाट सुन परीक्षणको रिपोर्ट आएसँगै सुन बरामदको सूचना चुहाएको थियो । त्यतिन्जेल हर्कराजबाट सूचना लिक भएर चिनियाँ तस्करहरू फरार भएको अनुसन्धानमा संलग्न सीआईबीका अधिकारीहरू बताउँछन् । सुन प्रकरणमा संलग्न मुख्य भूमिकामा रहेकाहरूलाई प्रहरीले धेरै दिन पछि पक्राउ गर्न सफल भएको थियो । तस्करीमा संलग्न चिनियाँ नागरिक पेङ योङ सिन उर्फ आसिन र सुन पठाउने समूहका चोङ चिङ छ्वान उर्फ श्याम काठमाडौँबाट भागेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । श्याम ‘लाजिम्पाट समूह’को प्रमुख हुन् । सुन तस्करीमा टोखा समूह र लाजिम्पाट समूह सक्रिय देखिएको केन्द्रिय अनुसन्धान ब्यूरोको अनुसन्धान निष्कर्ष छ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले ‘ब्रेक प्याड’ बरामद गरेको दिन कार्यालय बन्द भैसकेको हुनाले सुन यकिन गर्न परीक्षण गर्नुपर्ने भएको हुनाले दुई जनालाई छाडेको बताए । रातोपाटीसँग कुरा गर्दै ढुंगानाले भने– ‘सुन परीक्षण गर्नुपर्ने भएको हुनाले छाडेका हौं तर, अपरेसन सुरु भएसँगै हामीले आईजीपीसँग समन्वय गरेर अनुसन्धान अघि बढाएका थियौँ ।’

हर्कराजलाई भोलिपल्ट ‘राजस्व कम भयो’ भनेर बोलाएको ढुंगानाले स्वीकार गरे । उनले भने–‘छाडे पनि उनीहरू सर्भिलेन्समा थिए, सुन यकिन भएपछि पक्राउ गरेका हौं ।’ हर्कराज र थाप्तेन पक्राउ परेको सूचना पाएसँगै हङकङबाट मिस ली ले अर्को सिपमेन्ट रोकेको ढुंगानाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप