बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘युरोप सपना’ देखाएर ठगेको आरोपमा पाकिस्तान र अरबैजानका नागरिक काठमाडौँबाट पक्राउ

बुधबार, १७ असोज २०८०, २० : ३१
बुधबार, १७ असोज २०८०

काठमाडौँ । ‘युरोप पठाउँछौँ’ भनेर ठगेको आरोपमा प्रहरीले काठमाडौँबाट दुईजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाकिस्तान घर भएका ५१ वर्षीय नाजिर महम्मद र अजरबैजान घर भएकी आयसेल हुसेन्ली छन् । उनीहरुलाई ठमेलस्थित एक होटलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए ।

पाकिस्तानी नागरिक नाजिर र अजरबैजान घर भएकी ३१ वर्षीया हुसेन्ली काठमाडौँमा ठगीको ३० लाख नगद असुल्न आएको बेलामा पक्राउ परेका हुन् । नाजिर २०१६ देखि काठमाडौँ आउजाउ गरिरहन्थे । हुसेन्ली पहिलोपटक काठमाडौँमा आएकी हुन् ।

नेपाल आउजाउ गर्दा भेटिउका होटल व्यवसायीहरुलाई युरोपियन देशहरु नर्वे, पोल्याण्ड, पोर्चुगल र चेक रिपब्लिक पठाउँछु भनेर नाजिरले रकम माग्ने गरेका थिए । युरोप जाने आशामा ठमेल र नयाँ बजारमा होटल संचालन गर्नेहरुले आयसेलको नाममा रकम पठाउँथे । पीडितहरुलाई उनीहरुले अजरबैजानमा लगेर त्यहाँ संचालिन कार्यालय पनि देखाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

अनुसन्धानमा संलग्न डिएसपी डिल बहादुर मल्ल भन्छन्–‘पीडितलाई उनीहरुले अजरबैजान लगेर विश्वास दिलाएको देखिन्छ ।’ आरोपीतहरुविरुद्ध ६ जनाले उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका छन् । प्रारम्भिक अनुसन्धानबाट उनीहरुले ८० लाख ठगेको थाहा भएको छ ।

आरोपीतले नक्कली वर्क परमिट र कागजात देखाएर विश्वास दिलाउने गरेका थिए । पाकिस्तानबाट पटक–पटक नेपाल आउँदा नाजिरलाई पीडितहरुले होटल र आउजाउ खर्च व्यहोरेर पठाउने गरेका थिए । तर, लामो समयसम्म युरोप पठाउन नसकेपछि ठगीएको शंका लागेर पीडितहरुले प्रहरीमा जाहेरी दिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप